काठमाडौं । कृषि व्यवसायमा ब्रान्ड बनाएको केल दुगड ग्रुपले सिमेन्ट उद्योगमा लगानी गरेको छ । समूहले धादिङ नौविसेमा पाँच अर्ब लगानीमा युनाइटेड सिमेन्ट उद्योग स्थापना गरेको छ ।
तेल, चामल, दाल लगायतका कृषि व्यवसायमा यो समूह बढी केन्द्रित थियो । पछिल्लो समयमा बैकिङ, जलविद्युत, घरजग्गा लगायतका क्षेत्रमा समेत यो समूहले लगानी विस्तार गरेको छ । सिमेन्ट उद्योगमा व्यवसायिक घरानाहरु चौधरी, मुरारका, सघाई समूहलगायतले लगानी गरिरहेका छन् ।
‘हामी एक महिनाभित्रै युनाइटेड ब्रान्डमा सिमेन्ट बजारमा ल्याउँदैछौ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिनाले बिजमान्डूसँग भने, ‘एक महिनामै उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाउनेछन् ।’ युनाइटेड सिमेन्टको परीक्षण उत्पादन समेत भइसकेको छ ।
सिमेन्टले नेपाल गुणस्तर चिन्ह पाइसकेको छ । गुणस्तर चिन्ह नपाउँदासम्म सिमेन्ट बजारमा विक्री गर्न पाइँदैन । दैनिक एक हजार टन सिमेन्ट उत्पादनको लक्ष्य कम्पनीले राखेको छ ।
‘हामीले नेपाल गुणस्तर चिन्ह पाइसकेका छौं । दैनिक एक हजार टन सिमेन्ट उत्पादन गर्नेछौ,’ उनले भने, ‘काठमाडौं उपत्यका, पोखरा, चितवन लगायतका क्षेत्रको बजारलाई हामीले लक्षित गरेका छौ ।’ सिमेन्ट उत्पादनको लागि आवश्यक पर्ने क्लिन्करका लागि कम्पनीको आफ्नै खानी छ ।
तिमिल्सिनाका अनुसार तीस बर्षलाई पुग्ने खानी ललितपुरको लेलेमा छ । सिमेन्टका लागि आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन समस्या नभएको उनले बताए ।
‘धादिङ सिमेन्ट उत्पादनको लागि प्राइम ठाउँ हो । ललितपुरको लेलेबाट क्लिन्कर ल्याउँछौ,’ उनले भने, ‘ढुवानी भाडाका हिसाबले पनि अरु कम्पनीसँग प्रतिस्पर्धा गर्न सजिलो हुनेछ ।’ कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने प्लान्टका औंजारहरु पनि विश्वस्तरीय जडान भएको दावी गरेको छ ।
‘हामी वातावरणप्रति अत्यन्तै सचेत छौ । त्यसैले हामीले ग्रीनफिल्ड प्रविधि जडान गरेका छौ,’ तिमिल्सिनाले भने, ‘सरकारले तोकेको मापदण्ड भन्दा पनि कम वातावरण प्रदुषण हुन्छ ।’ कम्पनीले पाँच तहको प्रि–हिटिङ टेक्नोलोजी जडान गरेको छ । यो वातावरणमैत्री भएकोले प्रदुषणलाई रोक्छ । कम्पनीले निकट भबिष्यमै पूर्वी नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने जनाएको छ ।