राष्ट्रपति चीनबाट बुधबार फर्कँदै, सवा ११ बजेदेखि ३० मिनेट त्रिभुवन विमानस्थल बन्द

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
काठमाडौं ।  राष्ट्रपति रामवरण यादव साताव्यापी चीन भ्रमण सकेर बुधबार नेपाल फर्कने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले 'नोटिस फर एयरमेन' (नोटाम) जारी गरेको छ ।

Tata
GBIME
Nepal Life

भिभिआइपी जहाजमा आउनु १५ मिनेट अघिदेखि अवतरण भएको १५ मिनेटसम्म नोटाम जारी गरिएको विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसरले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबार बिहान सवा ११ बजेदेखि ११ बजेर ४५ मनेटसम्म नोटाम जारी गरिएको छ ।  यो समयमा उडान तथा अवतरण गर्ने जहाजहरु आकाशमै होल्ड हुने भएका छन् । तर ती अफिसरका अनुसार विमानस्थलले अहिलेसम्म होल्ड वा डाइभर्ट नै गरिहाल्न नपरोस भनेर जहाजहरुलाई निर्धारित समय भन्दा केही चाँडो र केही ढिलो  आउन आग्रह गरेको छ । अफिसरले भने, ‘आकाशमै होल्ड गर्नु परेपनि एकदुई राउन्ड घुम्नुपर्ला नत्र पर्दैन ।’

नोटामको अवधिमा आन्तरिक उडान पनि रोकिने टिडिओले बताएको छ । यो समयमा एयर चाइना, स्पाइस जेट र कतार एयरवेज प्रभावित हुने छ ।

११ बजेर ४५ मिनेटपछि विमानस्थलमा अवतरण हुने जहाजहरु निर्धारित समयभन्दा केही ढिला अवतरण हुने ड्युटी अफिसरले जानकारी दिएका छन् । उनले भने, 'मध्यान्ह १२ बजेपछि नेपाली आकाशमा एयर ट्राफिक हुने देखिएको छ । जसले जहाज उडान तथा अवतरण 'डिले' हुनेछ ।'