काठमाडौं मल एक महिनाभित्र खाली गर्न संचयकोषको निर्देशन, राणासँगको सम्झौता बुधबारदेखि रद्द

बिजमाण्डू
२०७१ कात्तिक १२ गते ००:०० | Oct 29, 2014
काठमाडौं मल एक महिनाभित्र खाली गर्न संचयकोषको निर्देशन, राणासँगको सम्झौता बुधबारदेखि रद्द

काठमाडौं । काठमाडौं मल संचालनमा रहेको सुन्धारास्थित भवन एक महिनाभित्र खाली गर्न कर्मचारी संचय कोषले भाडावालालाई आग्रह गरेको छ। सार्वजनिक सूचनामार्फत कोषले एक महिनाभित्रमा बाँकी बक्यौता रकम चुक्ता गरी भवन खाली गर्न भनेको हो।

Tata
GBIME
Nepal Life

कोषले भाडावाल प्रवीर शम्शेर जबरासँग भएको सम्झौता आज (बुधबार)का मितिदेखि रद्द भएको भन्दै भवन पूर्ववत् अवस्थामा खाली गरी कोषलाई हस्तान्तरण गर्न सूचनामार्फत आग्रह गरेको हो । राणासँग कोषले २०६२ साल भदौ १ गते १५ वर्षका लागि सम्झौता गरेपनि राणाले समयमै भाडा नबुझाएको भन्दै खाली सम्झौता भंग गरी खाली गर्न लागेको हो।

कोषले राणासँगको सम्झौता भंग हुने बित्तिकै सव-लिजरहरुसँगको सम्झौता पनि भंग हुने भएकाले पसल खाली गर्न व्यवसायीलाई आग्रह गरेको छ। काठमाडौं मलमा दुई सय ९८ वटा सटर भाडामा छन् । मलमा विभिन्न व्यवसायीको चार अर्ब रुपैयाँ भन्दा धेरै लगानी रहेको व्यवसायीहरु बताउँछन्।

कोषले यस अघि सूचनामार्फत बाँकी बक्यौता चुक्ता गरी आउँदो वर्षको भाडाको अग्रिम दाखिला गर्न वा बैंक ग्यारेन्टी माग गरेपनि राणाले उक्त व्यवस्था नगरेको भन्दै भवन खाली गर्न भनेको हो ।

संचय कोषले राणाले बैंक ग्यारेन्टी बापत राखेको १९ करोड ५६ लाख ९९ हजार नौसय ९९ रुपैयाँ आफ्नो बनाइसकेको छ । यो रकम सकार्दा पनि पुरै भाडा र एक वर्षको अग्रिम भाडा नपुगेकाले पटक पटक तिर्न ताकेता गर्दा पनि रकम नतिरेपछि संझौता रद्द भएको सूचना जारी गरेको हो ।

उता राणा  भने उक्त मलमा लिफ्ट जडान गर्दा, पानीका लागि तथा अरु खर्च बापत आफ्नो २० करोड रुपैयाँ भन्दा धेरै खर्च भएको भन्दै यसको शोधभर्ना नभएसम्म बक्यौता नतिर्ने अडानमा छन् । उनले संचय कोषले आफूलाई दिने भनेर पनि यो रकम नदिएको बताउँछन् ।