काठमाडौं । न्यु मोबाइल मार्केट समूहले भदौ १२ गतेदेखि मोबाइल एक्स्पो गर्ने भएको छ। नेपाली हिन्दू महिलाहरुको तीज पर्वको अवसर पारेर काठमाडौंको सुन्धारास्थित सिभिल ट्रेड सेन्टर (सिटीसी)मा सञ्चालन तयारीमा रहेको न्यु मोबाइल मार्केटमा एक्स्पो गर्न लागिएको हो।
सिटीसीको चौथो र पाँचौ तलामा मोबाइल बजार खुल्दै छ । समूहका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार मोबाइल बजारको उद्घाटनसँगै एक्स्पो सुरु हुनेछ ।
एक्स्पोमा नेपाली माझ लोकप्रिय ब्रान्ड सामसुङले टाइटल स्पोन्सर गरेको छ भने सिटीभी मोबाइल, कलर्स, सेलकम लगायतका ब्रान्डहरुले को-स्पोन्सर गरेका छन् । सामसुङ मोबाइलको नेपालका लागि आधिकारीक बितरक आइएमएसका महाप्रबन्धक संजिव मिश्र र नयाँ मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले स्पाेन्सर सम्वन्धि सम्झौतामा हस्ताक्षर गरे ।
भदौ १२ गतेदेखि २१ गतेसम्म चल्ने एक्स्पोमा उपभोक्ताहरुले ७ देखि ७० प्रतिशतसम्म छुट पाउने छन् ।
एक्स्पोमा सामसुङ, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, अल्काटेल, आइफोन, स्पाइस, यसुदा, मोटोरोला, एचटिसी, जी फाइभ, एचटिसी, फ्लाइ, इन्टेक्स र वीम्पकम लगायतका कम्पनीबाट उत्पादित मोबाइलमा छुट दिइने बस्नेतले बताए । उनले भने, 'एक्स्पो भरी हामीले उपभोक्तालाई भारी छुट दिएका छौ । यसले उपभोक्तालाई फाइदा हुन्छ ।'
देशकै ठूलो र स्तरीय मोबाइल बजारको रुपमा सञ्चालन गर्न लागिएको सेन्टरमा हुन लागेको यो एक्स्पो दोस्रो हो ।
गलत बाटोबाट आयातित मोबाइल सेटहरुलाई निरुत्साहित गर्नेगरि खोल्न लागिएको मोबाइल बजारमा २४ सै घण्टा बिजुली तथा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
मोबाइल बजारमा आउने ग्राहकहरुका लागि फ्रि वाइफाइको व्यवस्था समेत मिलाइएको छ । जसले गर्दा ग्राहकले आफूलाई चाहिने एपहरु डाउनलोड र अपडेट गर्न सक्छन् ।
सस्तादेखि महँगोसम्मका मोबाइल सेट किन्न पाइने एक्स्पोमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै सञ्चालकहरुले यहाँ मोबाइल एक्सचेन्जको व्यवस्था गरिएको मार्केटका डाइरेक्टर तथा गणपति कि इलेक्ट्रोनिक प्रालिका प्रबन्ध निर्देशक चन्द्र ढकालले बताए ।
वारेन्टी भएका र ब्रान्डेड मोबाइल सेट मात्र बिक्री बितरण गर्न लागिएको यस स्थानबाट बिक्री भएका हरेक मोबाइलमा १ वर्ष वारेन्टी दिइने छ । मोबाइल बजारमा एकैदिन ५ हजार भन्दा बढी उपभोक्ताल मर्मत तथा खरिद गर्न सक्छन् ।
यस मलमा मोबाइल खरिद गरेपछि सवारीसाधनधनीले पार्किङको पैसा तिर्नु पर्दैन । पार्किङ निशुल्क बनाइएको अध्यक्ष बस्नेतले जानकारी दिए ।