काठमाडौं । युवराज भुसालले बिहिवारबाट अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्थ सचिव भुसालले पदवहाली गरेपछि वजेट तयारीमा जुट्न अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । उनले सवै कर्मचारीलाई जिम्मेवारीपूर्वक उच्च मनोवलका साथ आप्mनो कार्य सम्पादन गर्न, सदाचारिता, इमान्दारीता र स्वच्छ आचरणमा जोड दिन आग्रह गरे । उनले सामुहिक रुपमा काम गरी लक्षित नतिजा हासिल गर्न सक्रिय र प्रतिवद्ध रहन पनि निर्देशन दिए ।
अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको, समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेका, मूल्य वृद्धि वाञ्छित सीमामा रहेको, वित्तीय क्षेत्र सुधारलाई निरन्तरता दिनु पर्ने, तरलता व्यवस्थापन गरी उत्पादनशील क्षेत्रमा लगानी वढाउनु पर्ने, कृषिक्षेत्रको विकासको लागि आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिनु पर्ने अर्थ सचिव भुसालले बताए ।
सार्वजनिक खर्च व्यवस्थापनका लागि चालु खर्चमा नियन्त्रण र पूँजीगत खर्चमा तीव्रता ल्याउन, आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी वनाई करको दायरा विस्तार गर्न, गैर वजेटरी खर्चलाई निरुत्साहित गर्न, निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । त्यसैगरी उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न र राजस्व लक्ष्य वमोजिम संकलन गर्न सवैले सक्रिय भई लाग्न समेत आग्रह गरे ।