दुई करोड पुँजी भएको कम्पनीलाई डेढ करोड वित्तीय भार, विकल्प दिन शेयर ब्रोकरको लविङ

बिजमाण्डू
२०७५ असार ८ गते ०९:१२ | Jun 22, 2018
दुई करोड पुँजी भएको कम्पनीलाई डेढ करोड वित्तीय भार, विकल्प दिन शेयर ब्रोकरको लविङ

 
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन प्रणाली कार्यान्वयनका लागि धितोपत्र दलाल कम्पनीलार्इ आफ्नै पूर्वाधार तयार गर्न निर्देशन दिएसँगै ब्रोकर कम्पनीले वित्तीय भार थपिने भन्दै नेप्सेले पुर्वाधारका विषयमा विकल्पहरू दिनुपर्ने भन्दै लविङ सुरु गरेका छन्।
 
२० लाख चुक्ता पुँजी भएका ब्रोकर कम्पनीले गत पुसमा मात्रै दुई करोड रुपैयाँ चुक्ता पुँजी पुर्याभएको र लगत्तै ६ महिनापछि करिब डेढ करोड रुपैयाँ बराबरको प्रविधि संयन्त्रको जोहो गर्न मुस्किल परेको भन्दै त्यसको विकल्प खोज्न नेप्सेलाई आग्रह गरेका हुन्।
 
निश्चित पुँजी भएका कम्पनीलाई अन्तिम समयमा आएर चुक्ता पुँजी बराबरको संयन्त्र यथाशीघ्र थप गर्न भन्नु न्यायोचित नभएको भन्दै एक ब्रोकरले गुनासो गरे। त्यसैले अनलाइन प्रविधिलाई पनि कर्यानयन गर्ने र वित्तीय भार कसरी कम गर्न सकिन्छ भन्दै नेप्सेलाई बिचको बाटो अख्तिगार गर्न लविङ भइरहेको ती ब्रोकरको भनाइ छ। 
 
उनका अनुसार यस विषयमा ब्रोकरका प्रतिनिधि र नेप्से अधिकारीबीच दैनिकजसो छलफल भइरहेको छ। 
 
हाल नेप्सेले जडान गर्न भनेको प्राविधिक संयन्त्रहरू ब्रोकर कम्पनीहरूले भाडामा लिएर चलाउने कि भन्ने विकल्प अगाडि सारेका छन्। यसैगरी  नेप्सेले दिएको निर्देशन अनुसार एक सेकेण्डमा एकैपटक १० हजारभन्दा बढीको कारोबार गराउन सक्ने हार्डवेर जडान गर्नु पर्छ। तर नेप्सेको कारोबारको इतिहासमै कारोबार अवधिभर जम्मा तीन पटक मात्रै १० हजारभन्दा बढीको कारोबार भएको छ।
 
यस अनुसार अहिलेनै त्यति क्षमताको हार्डवेर जडान गर्नु नपर्ने व्रोकरको तर्क छ। यसैले कम क्षमताको हार्डवेरको विकल्प दिन नेप्सेलाइ आग्रह गरेका छन्। साथै डाटा सेन्टर र डाटा रिकभरिको सेवा दिँदै आएका कम्पनीसँग मासिक भुक्तानीमा सेवा लिन पाउनु पर्ने लगायतका विकल्प दिन ब्रोकरको माग छ। 
        
ब्रोकर कम्पनीहरूले गरेको माग प्रति नेप्से थोरै लचिलो हुने देखिएको छ। तर कतिसम्म लचिलो हुने भन्ने निष्कर्षमा भने अहिलेनै भन्न नसकिने नेप्सेका एक अधिकारीले बताए। त्यस विषयमा भेन्डर कम्पनीसँग पनि छलफल भैरहेको ती अधिकारीको भनाइ छ।
 
डाटा सुरक्षामा भने नेप्सेले कुनै सम्झौता नगर्ने ती अधिकारीले बताए। डाटा सुरक्षामा सम्झौता नहुने गरी भेन्डर कम्पनीले दिएको सुझावका आधारमा ब्रोकरलाइ कस्तो विकल्प दिने भन्ने निर्णय गरिने अधिकारीको भनाइ छ।    
 
अनलाइन कारोबारका लागि दलाल कम्पनीलाई नेप्सेले गत जेठ ३० गते   आफ्नै डाटा सेन्टर र डाटा रिकभरिका लागि पूर्वाधार तयार गर्न निर्देशन दिएको थियो। यो पूर्वाधार राख्न एउटा ब्रोकर कम्पनीले कम्तीमा एक करोड रुपैयाँ अतिरिक्त खर्च गर्नुपर्नेछ। नेप्सेले दिएको निर्देशन अनुसार जनशक्तितर्फ कम्प्युटर इन्जिनियर र त्यही क्षेत्रका अन्य दुर्इ जना सहायक कर्मचारी नियुक्त गर्नुपर्ने छ।
 
नेप्सेले डाटा सेन्टर र डाटा रिकभरिका लागि हार्डवेयरतर्फ छुट्टाछुट्टै   सर्भर सिस्टम, फायरवाल,  नेटवर्क सिस्टम, केभिएम कन्सोल, र्याक, पावर सिस्टम, कुलिङ् सिस्टम, नेटवर्क कनेक्टीभिटी र क्लाइन्ट मेसिन व्यवस्था गर्न ब्रोकरलार्इ निर्देशन दिएको छ। 

Tata
GBIME
Nepal Life