स्टक डिलरको गाँठो फुकाउन धितोपत्र बोर्डसँग माग, बजारमा बोर्डकै कर्मचारी संलग्नताको आरोप

बिजमाण्डू
२०७६ असार ३ गते १८:३१ | Jun 18, 2019
स्टक डिलरको गाँठो फुकाउन धितोपत्र बोर्डसँग माग, बजारमा बोर्डकै कर्मचारी संलग्नताको आरोप

Tata
GBIME
Nepal Life

काठमाडौँ। स्टक डिलर सम्बन्धि स्पष्ट नीति नभएको भन्दै नागरिक लगानी कोषले सहजिकरण गरिदिन गर्न नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ। 

धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा कोषका रोशनजङ कार्कीले सहजीकरणको लागि आग्रह गरेका हुन्। बोर्डले कार्यप्रगति समिक्षा तथा आगामी बर्षको पूँजी बजार सम्बन्धी नीति तथा कार्यक्रमका बारेमा सुझाब लिन कार्यक्रम आयोजन गरेको थियो। 

स्टक डिलरका लागि लामो समयदेखि प्रबन्धपत्र नियमावली बनाएर तयारी अबस्थमा रहेको कोषलाई नीति अभावकै कारण अघि बढ्न अलमल भएको कार्कीले जानकारी दिए। उनका अनुसार कोषले पूँजी बजारमा लगानी गर्न छुट्टै कम्पनी खोल्ने तयारी गरेको भएपनि चुक्ता पूँजी कति राख्ने विषयमा स्पष्ट नीति नभएकै कारण समस्या भएको उनले बताए। 

कोष लामो समयको ऋणपत्रमा लगानी गर्न इच्छुक रहेको तर दोस्रो बजारमा कारोबार गर्न सक्ने वातावरण तयार नभएकोले यसलाई समेत कारोबार गर्न क्ने वातावरण तयार गर्न कार्कीले जोड दिए। बजेटमै ऋणपत्रको कारोबारलाई व्यवस्थित गर्न खोजिएको स्मरण गराउँदै उनले त्यसलाई आगमि आर्थिक बर्ष कार्यन्वयनमा लैजान उनले आग्रह गरे। 

पब्लिक कम्पनीमा जने सञ्चालकहरुको प्रक्रियामा असन्तुस्टी जनाउँदै त्यसलाई व्यवस्थित गर्नु पर्ने आवश्यकता एक प्राध्यापकले औंल्याएका छन्। व्यवसायिक व्यक्तिहरू पब्लिक कम्पनीहरूको बोर्डमा जाने वातावरण तयार गर्न सरस्वती क्यम्पसका प्राध्यापक केपी पाण्डेले सुझाव दिएका छन्।

यसैगरी पब्लिक कम्पनीका रूपमा स्थापना भएका ब्रोकर कम्पनीलाई समेत धितोपत्र निष्काशन गर्न बाध्य पार्नु पर्ने उनले माग गरे। 

शेयर बजारमा हुने गरेको भित्री कारोबारमा बोर्डकै कमर्चारीको समेत संलग्नता हुने गरेको आरोप लगाउँदै त्यसलाई निस्तेज गर्न बोर्ड कमर्चारी र उनीहरूको परिवारको समेत रोष्टर तयार गरी सूक्ष्म अध्यन गर्नु पर्ने अधिवक्ता अमृत खरेलले माग गरेका छन्। 

उनले आर्थिक पत्रकारलाई समेत शेयरमा लगानी गर्न दिने वा नदिने भन्ने विषयमा बोर्डले उचित कदम चाल्नु पर्ने माग सुझाब दिए। ब्रोकर कम्पनीलाई शेयर बजारमा प्रचार प्रसार गर्न दिए बजारको विकासमा टेवा पुग्ने भन्दै खुकुलो नीति लिन बोर्डलाई आग्रह गरे। 

लगानीकर्ता दिलीप मुनाकर्मीले सूचिकृत कम्पनीहरूले सही सूचना दिन कन्जुस्याइ गरेको भन्दै त्यलाई कडाइ गर्न माग गरे। तेस्रो त्रैमाससम्म नाफामा रहेका कम्पनीको चौथो त्रैमासमा एकाएक घाटा भएको विवरण सार्वजनिक गर्ने गरेको प्रति आपत्ति जनाउँदै त्यसलाई व्यवस्थित गर्न बोर्डले छुट्टै फरम्याटनै तयार गरी कम्पनीहरूलाई सही विवरण लिन बाध्य पार्नु पर्ने उनको सुझाव थियो। 

बैकका सहायक कम्पनीलाई ब्रोकर र स्टक डिलरको काम गर्न दिने विषयमा अध्ययन गरिएको र त्यसलाई कार्यान्वयनमा लैजाने मोडल तयार गर्न बोर्ड र नेप्सेबिच छलफल हुनु पर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए। 

यसैगरी नेप्सेले ब्रोकर कम्पनीले प्रतिनिधि मार्फत कारोबार गर्न दिन सकिने भन्दै बोर्डलाई गरेको आग्रह आगामी नीति तथा कार्यक्रमै समेटेर सम्बोधन गरिदिन उनले आग्रह गरे। एक अर्ब रुपैयाँभन्दा बढिक चुक्ता पूँजी भएका रियल सेक्टरका कम्पनीलाई बजारमा ल्याउने वातावरण तयार गरिदिन समेत उनले माग गरे।   

पब्लिक कम्पनीहरूलाई समयमा साधारणसभा गर्ने बातबरण तयार गर्न सकिए बजारको विकास हुने भन्दै त्यसलाई नीति तथा कार्यक्रममा समेट्न ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सुझाए।  

सङ्गठित लगानीकर्ताकका प्रतिनिधिहरूले बजारको सुदृढीकरणमा जोड दिन आग्रह गरेका छन्। कार्यक्रम बोर्डका तर्फबाट डा. नवराज अधिकारीले आर्थिक वर्षको कार्यप्रगति समिक्षा प्रस्तुत गरेका थिए। बोर्डले चालु आर्थिक वर्षमा उलेख्य उपलब्धि हासिल गरेको भन्दै आगामी आर्थिक वर्षमा बजार थप व्यव्थित हुने बताए। 

कार्यक्रम उपस्थितहरुको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्दै त्यसलाई कार्यान्वनमा समेत लैजाने प्रतिबद्धता बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले ब्यक्त गरे। उनले अन्य सरोकारवालालाई लिखित सुझाव दिन समेत कार्यक्रमा आग्रह गरे।