उचाइ नाप्न सरकारी टोली सगरमाथाको चुचुरोमा, वास्तविक उचाइ पत्ता लाग्न अझै ६ महिना

रासस
२०७६ जेठ ८ गते १३:३७ | May 22, 2019
उचाइ नाप्न सरकारी टोली सगरमाथाको चुचुरोमा, वास्तविक उचाइ पत्ता लाग्न अझै ६ महिना

Tata
GBIME
Nepal Life

काठमाडौँ। सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३:०० बजे शिखरको आरोहण गरेको छ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाइट सिस्टमको उपकरण जडान गरेको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डंगोलले जानकारी दिए। 

विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले आवश्यक तालिम तथा पथ प्रदर्शकको व्यवस्था गरी प्राविधिकलाई त्यस क्षेत्रमा गत चैत २७ गते खटाएको थियो।

टोलीमा नापी विभागका सुरजसिंह भण्डारी र युवराज धितालसमेत छन्। उनीहरुले उक्त शिखरको आधार शिविरमा रही उचाइ मापनमा आवश्यक अन्य सहयोग गरिरहेका विभागले जनाएको छ।  

आरोहण कार्य चुनौतीपूर्ण रहेको र मौसमको अनुकूलता कायम भएमा शुक्रबारसम्म टोली काठमाडौँ फर्कन सक्ने विभागले जनाएको छ।

डंगोलले कार्यक्षेत्रमा सङ्कलन गरिएका सूचना तथा अन्य विवरणका साथै प्राविधिक अध्ययन पूरा गरेपछि शिखरको उचाइको परिणाम आउन अझै करीब छ महिना लाग्ने जानकारी दिए।