उपत्यकाको घरजग्गा कारोबारमा १० वर्षअघिको जस्तै मन्दी, वैशाखमा अहिलेसम्मकै न्यून राजस्व संकलन

बिजमाण्डू
२०७५ जेठ ८ गते १२:५० | May 22, 2018

काठमाडौं। काठमाडौं उपत्यकाको घरजग्गा कारोबारमा नयाँ वर्ष लागेपछि झनै मन्दी छाएको छ। गत महिना उपत्यकामा भएको घरजग्गा कारोबार चालु आर्थिक वर्षकै सबैभन्दा न्यून हो।

Tata
GBIME
Nepal Life

विगतमा उपत्यकाको राजस्व ७० करोड रुपैयाँदेखि ९६ करोड रुपैयाँसम्म संकलन हुँदै आएको थियो। वैशाखमा उपत्यकाका ८ वटा मालपोत कार्यालयले ६३ करोड रुपैयाँमात्रै राजस्व संकलन गरेका छन्। गत चैतमा ८६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। उपत्यकाका ८ वटै मालपोत कार्यालयको राजस्वमा ठूलो गिरावट आएको छ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने डिल्लीबजार, ललितपुर, कलंकी, भक्तपुर, चावहिल लगायत ८ वटै मालपोत कार्यलयको कारोबारमा उल्लेख्य गिरावट आएको छ। कुनैपनि मापलोत कार्यालयले चैतको तुलनामा वैशाखमा बढी राजस्व संकलन गर्न सकेनन्।हरेक महिना २० करोड रुपैयाँ हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले चैतमा २१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

डिल्लीबजार मालपोतले वैशाखमा १२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। ललितपुर मालपोत कार्यालयको कारोबार पनि निकै खस्किएको छ। हरेक महिना २० करोड रुपैयाँ हाराहारी राजस्व संकलन गर्ने ललितपुर मालपोत कार्यालयले वैशाखमा १२ करोड मात्रै राजस्व संकलन गरेको छ।गत चैतमा १५ करोड राजस्व संकलन गरेको थियो। कलंकी मालपोत कार्यालयले पनि चैत्रको भन्दा पाँच करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ। चैतमा १४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेपनि वैशाखमा ९ करोड ८२ लाख रुपैयाँ राजस्वमात्रै संकलन गरेको छ।

चावहिल मालपोत कार्यालयले चैतमा १३ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा बैशाखमा ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सक्यो। भक्तपुर मालपोत कार्यालयले पनि चैतमा ९ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा बैशाखमा ८ करोड ९५ लाख रुपैयाँ मात्र संकलन गरेको छ।मनमैजु मालपोत कार्यलयले चैत्रमा ४ करोड ७१ लाख रुपैयाँ संकलन गरेकोमा बैशाखमा ३ करोड ४२ लाख रुपैयाँ मात्र संकलन गरेको छ।

साँखु मालपोत कार्यालयले पनि चैतमा तीन करोड ७३ लाख रुपैयाँ संकलन गरेकोमा, वैशाखमा दुई करोड ४६ लाख रुपैयाँ र टोखा मालपोत कार्यालयले चैतमा तीन करोड रुपैयाँ राजस्व संकलन गरेकोमा वैशाखमा दुई करोड १९ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेका छन्।

घरजग्गाको कित्ताकाटमा रोक लगाउने सरकारी निर्णयका कारण विगत लामो समयदेखि घरजग्गाको कारोबार प्रभावित भैरहेको थियो। सर्वोच्च अदालतको पूर्ण फैसलाले पनि कृषियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने निर्णय सदर गरेपछि घरजग्गाको कारोबार अझै खस्किने व्यवसायीले बताए।

समस्यामा पर्न थाले
कित्ताकाट रोकिएपछि साना घरजग्गा व्यवसायी समस्यामा पर्न थालिसकेका छन्।‘वैनामाथि वैना लगाएर खान पल्किएका व्यवसायी संकटमा परिसकेका छन्। उनीहरुले बैना हालेर जग्गाको प्लटिङ सुरु गरेका थिए।

कित्ताकाट रोकिएपछि जग्गा बिक्री गर्न पाएका छैनन्। ती व्यापारीले चर्को ब्याजमा ऋण उठाएर केही महिना थामे’ एक घरजग्गा व्यवसायीले भने, त्यस्ता व्यापारीलार्इ दिएको ऋण उठाउन जायजेथा कब्जामा लिन सुरु भइसकेको छ।‘

ती व्यापारीका अनुसार राष्ट्र बैंकले २०६५ मा घरजग्गा कर्जामा सीमा तोकेपछिको मन्दीजस्तो अवस्थामा पुगिसकेको छ। ‘घरजग्गाको मन्दी २०६५ सालको जस्तै छ। अहिले व्यवसायीले घटेर भएपनि जग्गा बिक्री गरेर उम्किने प्रयास गरिरहेका छन्। तर किन्ने मान्छे नभएकोले समस्या अझै बढ्ने देखिएको छ’ती व्यापारीले भने।