चेम्बरको सुझाव: अबको दशक डबल डिजिट ग्रोथ दशक, अर्थमन्त्रीले भने, सुझाव कार्यान्वयन हुन्छ

बिजमाण्डू
२०७४ फागुन १७ गते १६:४४ | Mar 1, 2018
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी दशक डबल डिजिट (दोहोरो अंकको) आर्थिक वृद्धिको दशक हुनुपर्नेमा जोड दिएको छ। चेम्बरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाइएको सुझाव प्रतिवेदनमा सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिइएको छ। 

Tata
GBIME
Nepal Life


 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई २३ पृष्ठ लामो सुझाव प्रतिवेदन बुझाएका हुन्। त्यसमा कृषि, ऊर्जा, पर्यटन क्षेत्रका सुझाव दिइएका छन्। यस्तै व्यवसायिक लागत घटाउने, कानुनी शाशनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी विषय सुझाबका बुँदाहरु छन्। यस्तै राजस्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेटालियम पदार्थ सम्बन्धि व्यवस्थालगायतका विषयमा पनि सुझावका बुँदा छन्। 
 
सुझावको बुँदामा अत्याधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाव पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिइनुपर्ने उपयुक्त हुने सुझाव छ। अन्य सुझावका बुँदाहरुमा आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनहरुलाई ग्राहयता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिग क्षेत्रका सुझाव छन्। वित्त व्यवस्थातर्फ श्रोतको अभिलेखीकरण, बजार अनुगमन तथा कालोबजार ऐन गरी सुझाव १८ वटा बुँदामा उल्लेख भएका छन । 
 
भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन्। उनले दोहोरो अंकको आर्थिक वृद्धिमार्फत मुलुकमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकारले हरसंभव प्रयास गर्ने बताए। 
 
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्बरले दिएको सुझावहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिबद्धता जनाए।