काठमाडौं। २०७२ साल बैशाख १२ गतेको भूकम्पमा धेरै जनधनको क्षति भयो। भूकम्पमा हजारौं मानिसको ज्यान गयो, लाखौं घरहरु भत्किए।
वास्तविक कति घर भत्किए भन्ने तथ्याङ्क थिएन। हचुवाकै भरमा विभिन्न संघसंस्थाले पूनर्निर्माणका लागि ठूलो धनराशी, जनशक्ति र सरसामान चाहिने तथ्याङ्क सार्वजनिक गरे।
भूकम्पको दुई वर्षपछि केन्द्रीय तथ्याङ्क विभागले एउटा तथ्याङ्क सार्वजनिक गर्यो । त्यसअनुसार भूकम्पमा करिब १० लाखभन्दा बढी घरमा क्षति भएको थियो। त्यसमध्ये ३ लाख भन्दा बढी घर पूर्ण रुपमा क्षति भएको विवरण तथ्यांक बिभागले दिएको छ। यी मध्ये धेरै जसो घर कच्ची र अर्धकच्ची अवस्थाका रहेको उल्लेख छ।
'विभिन्न एनजीओ/आईएनजीओले अध्ययन अनुसन्धान पछि पुनर्निर्माणको लागि करिब १२ देखि १५ अर्ब ईट्टा चाहिने प्रतिवेदन दिए। यहि सुनेर ईंटा उद्योगीले उत्पादन बढाए' नेपाल ईंटा उद्योग व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारले भने, 'करिब दुई सयको संख्यामा नयाँ ईंटा उद्योग पनि थपिए। तर पूनर्निर्माणको काम भने सुरु भएन। नयाँ बिक्री हुनु त कहाँ हो कहाँ पुराना ईंटा पनि सबै भट्टामै थन्किए'।
भूकम्प गएको दुई वर्ष पूरा भएपछि निजी क्षेत्रबाट घरहरु बनाउन सुरु भए। सरकारले पहिलो किस्ता अनुदान पनि दियो। नयाँ वर्ष लागेपछि भने ब्यापारमा केही सुधार देखिएको उनले बताए।
अढाइ अर्बसम्म ईंटा उत्पादन गर्न सक्ने क्षमतामा रहेका उद्योगहरुले एनजिओ आईएनजिओको कुरा सुनेरै उत्पादन बढाएको अध्यक्ष चित्रकार तर्क गर्छन्। ब्यवसायीहरुले पूँजी थपेर लगानी गरेको तर पहिलो वर्षको ईटानै बिक्री नभएपछि मूल्य घटाएर बेच्न बाध्य भएको उनको दावी छ। पहिलो वर्ष नै घाटा खाएपछि ब्यवसायीहरुले दोस्रो वर्ष ईंटा उत्पादन गर्ने हिम्मत नै गरेनन्।
सयौंको संख्यामा रहेका साना तथा मझौला ईंटा उद्योग व्यवसायी धरासायी नै भएका छन् भने ठूला व्यवसायी पनि सबै घाटामा रहेको चित्रकार बताउँछन्। यसबर्ष ब्यवसायीहरुले ईंटा बेचेर पुरानो घाटा मात्र घटाउने सोच राखेको उनको भनाइ छ।‘ हामीलार्इ नाफामा जान अझै केहि वर्ष लाग्छ’- चित्रकार भन्छन्।
यसवर्ष बुटवल पश्चिमका जिल्लामा ईंटा उत्पादन राम्रो भएको छ। वर्षाले प्रभाव नपारेपछि उत्पादन बढेर स्टक बढेको छ। तर बुटवल पूर्व भने यो वर्ष उत्पादन राम्रो छैन। गत वर्षको स्टक भने घट्न थालेको छ। पूनर्निर्माण सुरु भएको बेला बुटवल पूर्वको ईंटा उत्पादन राम्रो नभएकोले मध्य तथा पूर्वी क्षेत्रमा ईंटा मूल्य बढ्न सक्ने अनुमान उनले गरे।
लामो दुरीमा ईंटाको ओसारपसार सम्भव छैन। ईंटालार्इ १५० देखि २०० किलोमिटरसम्म मात्र ढुवानी गर्ने सकिने भएकाले पश्चिममा ईंटाको उत्पादन राम्रो भए पनि पूर्वी क्षेत्रमा आपूर्ति गर्न नसकिने उनी बताउँछन्।
अहिले काठमाडौंमा औसतमा राम्रो ईंटाको मूल्य प्रति एक हजारको १५ हजार र सामान्य ईंटा प्रति एक हजारको १० हजार रुपैयाँमा कारोबार भैरहेको छ। यसमा १३ प्रतिशत मूल्य अभिवृद्धी कर र ढुवानी भाडा जोडेर सामान्य ईंटा १२ हजार र राम्रो ईंटा १७ देखि १८ हजार रुपैयाँसम्म किनबेच भैरहेको चित्रकार बताउँछन्।
नेपालमा करिब ९५० भन्दा बढी चिम्नी ईंटा उद्योग र एक हजार भन्दा बढी भुसे ईंटा उद्योग छन्।