६ महिना पैसा चलाउन दिँदा पनि लगेनन् बैंकले, ४० अर्बमा चार्टर्डले मात्र लग्यो १५३ करोड

बिजमाण्डू
२०७३ माघ ४ गते १७:५५ | Jan 17, 2017

काठमाडौं। तरलता अभाव कम गर्न राष्ट्र बैंकले उपलब्ध गराएको ४० अर्ब रुपैयाँ लिन बैंकहरुले चासो देखाएनन्। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ ६ महिनासम्मका लागि बैंकहरुलाई उपलब्ध गराएको थियो। तर एउटा बैंकले मात्र पैसा लगेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले गत जेठ र असारमा जारि गरेको राष्ट्र बैंक ऋणपत्र बेचेर पैसा लैजान बैंकहरुलाई आह्वान गरेको थियो। बैंकहरुले राष्ट्र बैंकको प्रस्तावलाई अस्वीकार गरिदिएका छन्।

बैंकहरुबाट २७ वटा आवेदन परेको थियो। उनीहरुमध्ये स्टान्डर्ड चार्टर्ड बैंक नेपालले मात्र पैसा लैजान चासो देखायो।

राष्ट्र बैंकले अन्तर बैंक कारोबारमा चलिरहेको ब्याज दरमा पैसा उपलब्ध गराउने जनाएको थियो। 'बैंकहरुले ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको आवेदन अन्तर बैंक ब्याज दर ३.७४ प्रतिशतभन्दा तल गएर हाले,' राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीले भने।

स्ट्यान्डर्ड चार्टर्डले भने चार वटा आवेदनमार्फत ३.७४ देखि ३.८९ प्रतिशतसम्म ब्याज तोकेर आवेदन हाल्यो। अन्तर बैंक कारोबारमा चलेको ब्याज दर हाराहारी आवेदन दिएकाले राष्ट्र बैंकले उसलाई एक अर्ब ५३ करोड रुपैयाँ उपलब्ध गराएको छ।

बाँकी बैंक तथा वित्तीय संस्थाहरुको आवेदनलाई राष्ट्र बैंकले खारेज गरिदिएको छ। राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रवाह गर्न बैंकहरुसँग प्रस्ताव आह्वान गरेको पङ्गेनीले जानकारी दिए।