सान्जेन र रसुवागढीको ३२ सयभन्दा बढी आवेदनमा गल्ती भेटियो, बाँडफाँडमा अझै केही दिन लाग्ने

बिजमाण्डू
२०७४ चैत्र ६ गते १७:२८ | Mar 20, 2018

काठमाडौं। सान्जेन र रसुवागढीले निष्कासन गरेको पहिलो चरणको शेयर बाँडफाँडमा ढिलाई भएको छ। दुबै कम्पनीको पहिलो चरणको शेयर निष्कासन सिआस्वा प्रणालीबाट भएपनि आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाहरुले आवेदकको विवरण पूर्ण रुपमा चेक जाँच नगर्दा ढिला भएको हो।

Tata
GBIME
Nepal Life

सिआस्वा प्रणाली अन्तर्गत निष्कासन बन्द भएको एक दिनमानै बाँडफाँड गर्न सक्ने भए रसुवागढी जलविद्युत आयोजनाको आवेदनमा २ हजारभन्दा धेरै र सान्जेन जलविद्युत आयोजनामा १२ सय हाराहारीको आवेदनमा गल्ती देखिएपछि बाँडफाँडमा ढिला भएको कम्पनीले जानकारी दिएको छ।

दुबै कम्पनीले कर्मचारी संचयकोका संचयकर्ताको लागि शेयर निष्कासन गरेको साथै सबैले शेयर पाउने नियम भएको हुँदा गल्ती देखिएका आवेदन पुनः  जाँच गर्नुपर्ने सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए।

आवेदकले मैले आवेदन दिएँ भनेर आस्वा सदस्यबाट अर्धकट्टी लिएर गएका छन्। उनीहरुले भोलि मेरो शेयर किन परेन भनेर सोध्दा जवाफ दिनुपर्ने हुन्छ त्यसैले एकपटक फेरि हेर्नुपर्ने श्रेष्ठले बताए।

“यदि आवेदकको खातामा पैसा छैन भने साथै चेकमा गल्ती छ भने उनीहरुको आवेदन योग्य नहुन सक्छ तर आस्वा सदस्यले ५० कित्ताको आवेदनमा ५०० कित्ता लेखिदिएको छ भने त पुनः हेर्नुपर्ने हुन्छ”- उनले भने।

निष्कासन तथा बिक्री प्रबन्धक बाँडफाँड गर्न तयार भएपनि आस्वा सदस्यको गल्तीले आवेदनबाट वञ्चित हुन नहुने रसुवागढी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत माधब कोइरालाले बताए। बाँडफाँडमा केही दिन ढिला भएपनि योग्य आवेदकले शेयर पाउनु पर्ने उनको जिकिर छ।

सिडिएससी र विक्री प्रवन्धक शेयर बाँडफाँड गर्न तयार भएपनि कम्पनीले एक पटक पुनः जाँच गर्नु पर्ने बताएपछि बाँडफाँडमा केही समय लाग्ने भएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जानकारी दिए।

अन्य कम्पनीको जस्तो कुनै आवेदकको केही कागजपत्र नपुगेको खण्डमा छाडेर योग्य आवेदकलार्इ बाँडफाँड गर्ने गरिएको भएपनि यसमा तोकिएको व्यक्तिको लागि छुट्याएको हुँदा समस्या आएको उनले बताए। यदि नियमनकारी निकाय तथा कम्पनीले स्वीकृति दिएमा अहिलेनै बाँडफाँड गर्ने सक्ने अवस्थामा रहेको उनले बताए।

पहिलो पटक सिआस्वा प्रणाली जसमा पूर्ण रुपमा अनलाइन प्रणाली लागु नहुँदा सिआस्वा सदस्यबाट यस्तो गल्ती भएको देखिएको छ। प्रणाली अनलाइन भनेपनि उनीहरुले भौतिक विवरण पनि सँगै संकलन गरेको हुँदा गल्ती देखिएको हो।