डलर अझै कमजोर भयो, विहिवारका लागि विनिमयदर ८७ रुपैयाँ ३० पैसा

बिजमाण्डू
२०६९ असार २० गते ००:०० | Jul 4, 2012
डलर अझै कमजोर भयो, विहिवारका लागि विनिमयदर ८७ रुपैयाँ ३० पैसा

काठमाडौं । अमेरिकी डलरको मूल्य चार दिनमा तीन रुपैयाँ ९४ पैसा घटेको छ । राष्ट्र बैंकले विहिवारका लागि डलरको ओपनिङ मूल्य ३० पैसा कम गरेर ८७ रुपैयाँ ३० पैसा तोकेको  छ । बुधवार भारतमा बजार खुल्दा डलरको मूल्य भारु ५४ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो । बजार बन्द हुँदा डलरको मूल्य ५४ रुपैयाँ १८ पैसामा आएको थियो । घट्दो प्रवृत्तिमा बजार बन्द भएकाले विहिबार भारु अझ वलियो हुने विश्लेषण बजार विश्लेषकको छ । समाचार एजेन्सीका अनुसार, डलरको मूल्य केही दिनमै भारु ५२ भन्दा तल आउने छ । यो प्रक्षेपण अनुसार नेपालमा डलरको मूल्य ८४ रुपैयाँसम्म आउने छ । १० दिनअघि डलरको मूल्य अहिलेसम्मकै उच्च ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो ।
नेपाल र भारतबीच स्थिर विनिमय दर भएकाले भारतीय मुद्रा वलियो हुँदा नेपाली पनि वलियो हुन्छ । भारतीय सय रुपैयाँ बराबर नेपाली १ सय ६० हुन्छ ।
स्पेन र इटालीले सस्तोमा ऋण पाउने तथा भारतीय अर्थमन्त्रालयको जिम्मा प्रधानमन्त्री मनमोहन सिंहले लिएपछि लगानीकर्ताको विश्वास भारुप्रति वढेको छ । सिंहले १९९१ मा आर्थिक सुधार गरेका थिए । अहिले पनि उनले अर्थमन्त्रालयको जिम्मा लिएपछि विदेशी लगानीलाई सुरक्षा प्रदान गर्ने तथा लगानीका लागि भारतका अन्य क्षेत्र पनि खोल्दै जाने प्रतिवद्धता जनाइसकेका छन् ।

Tata
GBIME
Nepal Life