गार्मेन्ट उद्योगमा भाटभटेनीको अहिलेसम्मकै ठूलो लगानी, कपडा युरोप र अमेरिका निर्यात गर्ने

बिजमाण्डू
२०८२ जेठ २१ गते १३:०९ | Jun 4, 2025
गार्मेन्ट उद्योगमा भाटभटेनीको अहिलेसम्मकै ठूलो लगानी, कपडा युरोप र अमेरिका निर्यात गर्ने


काठमाडौं। दुई दशकपछि गार्मेन्ट उद्योगमा सबैभन्दा ठूलो लगानी भित्रिएको छ। भाटभटेनी समूहले सुपरमार्केट, हस्पिटालिटी, हस्पिटल हुँदै गार्मेन्ट उद्योगमा प्रवेश गरेको छ।

Tata
GBIME

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालपछि गार्मेन्टमा भएको यो सबैभन्दा ठूलो लगानी हो। सूर्य नेपालले त्यतिबेला ३० करोड लगानीमा विराटनगरमा गार्मेन्ट उद्योग संचालनमा ल्याएको थियो। त्यो उद्योगमा ७ सय मजदुर कार्यरत थिए। उद्योगमा कार्यरत मजदुरमध्ये ५ सय ५० जना महिला थिए।

भाटभटेनीले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनका लागि भूमिपूजा समेत गरिसकेको छ। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले लिटल एञ्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठसँग मिलेर गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएका हुन्।

उद्योगमा डेढ अर्ब रुपैयाँ लगानी गर्ने गुरुङ र श्रेष्ठले बताए। गार्मेन्ट उद्योगमा यो ठूलो लगानी हो।

यसअघि ठूलो लगानी सूर्य नेपालले गरेको थियो। सूर्य नेपालले जोन प्लेयर र स्प्रिङ उड ब्राण्डमा उत्पादित कपडा नेपालबाहेक भारत, यूरोप र अमेरिका निकासी हुन्थ्यो। माओवादीको मजदुर संगठनको हस्तक्षेपका कारण यो उद्योग बन्द भएको थियो।

भाटभटेनी समूहका अध्यक्ष गुरुङले देशभित्र केही हुँदैन भनेर निराशा बढिरहेका बेला जुनसुकै क्षेत्रमा अवसरै अवसर छ भन्ने सन्देश दिनका लागि आफूले एकपछि अर्को क्षेत्रमा लगानी विस्तार गरिरहेको बताए।

‘देशभित्र केही हुँदैन भन्ने भाष्य धेरै भयो। यस्तो भाष्यले देश बन्दैन। हामी त जुनसुकै क्षेत्रमा पनि अवसर मात्र देखिरहेका छौं। त्यही कारण सुपरमार्केट पछि होटल, हस्पिटल हुँदै अब गार्मेन्ट उद्योगमा लगानी गर्न लागेको हुँ,’ गुरुङले बिजमाण्डूसँग भने।

गुरुङ र श्रेष्ठको लगानीका काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटल निर्माणाधीन छ। गुरुङले केही समयअघि काठमाडौं इन्टरनेस्नल हस्पिटलको करिब आधा सेयर किनेका थिए।

गार्मेन्ट उद्योग ९ महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ। ‘हामीले आज शिलान्यास गरेका छौं। ९ महिनाभित्र कपडा उत्पादन गर्न थाल्छौं,’ गुरुङले भने, ‘त्यसका लागि हामी अब केही समयमै श्रमिकहरु छनोट गरेर तालिम दिन सुरु गर्छौं।’

उद्योगले करिब एक हजार जनालाई रोजगारी दिनेछ। गुरुङले उद्योगमा महिलाहरुलाई पहिलो प्राथमिकता दिने बताए। ‘हामी श्रमिकमध्ये ९५ प्रतिशत महिला राख्छौं,’ उनले भने।

भाटभटेनीले आन्तरिक बजारका साथै विदेशमा निर्यात गर्ने लक्ष्यसहित गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो। ‘हामी स्तरीय कपडा उत्पादन गर्छौं। कपडाको बजार देशभित्र पनि हुन्छ। हामी भारत युरोप अमेरिका लगायतमा पनि निर्यात गर्छौं,’ श्रेष्ठले भने, ‘हामीलाई बजारको समस्या हुँदैन। उद्योग स्थापना नहुँदै भारत र युरोपबाट अर्डर आइसकेको छ।’

व्यवसायी श्रेष्ठले आफूहरुले कमाउनका लागि मात्र नभइ रोजगारी सिर्जना र देशभित्र केही हुँदैन भन्ने भाष्य चिररेर अवसर देखाउनका लागि गार्मेन्ट उद्योगमा लगानी गर्न लागेको बताए।

‘नेपालमा सम्भावना नै छैन भन्ने भाष्य चिर्नका लागि पनि हामीले लगानी विस्तार गर्न लागेका हौं। यहाँ अवसरै अवसर छ। हाम्रो उद्देश्य आफूले कमाउने भन्दा पनि निराश युवाहरुलाई अवसर देखाउने हो। रोजगारी सिर्जना गर्ने हो। काम गरेपछि पैसा आफैं आउँछ,’ उनले भने।

उद्योगले कुन ब्राण्डमा कपडा उत्पादन गर्ने भन्ने तय हुन बाँकी छ। ‘ब्राण्डको विषयमा हामी छलफलै छौं,’ श्रेष्ठले भने।

गार्मेन्ट उद्योग अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ। उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहनेछ।