
काठमाडौं । खाद्यान्न र ड्राइफ्रुट्समा लगाएका विभिन्न करहरु सरकारले खारेज गरेपछि बजार भाउ घट्नुपर्ने हो। तर, ती वस्तुको मूल्य घटेको छैन।
चालु आर्थिक वर्षसम्म लगाएको अन्तःशुल्क र अग्रिम कर र भन्सार महसुल घटाइएको हो। कर हटेपछि खाद्यान्न तथा ड्राइफ्रुट्सको भाउ घट्नु पर्छ। चामल, चिनी, ड्राइफुट्स र फलफूलको उपभोक्ता मूल्य सस्तिनु पर्ने हो।
सरकारले आगामी आव २०८२/८३ को बजेटमा धान चामलमा लाग्दै आएको २.५ अग्रिम कर र फलफूलमा लगाइएको १० प्रतिशत अग्रिम कर खारेज गरेको छ। ड्राइफ्रुट्समा आयातमा लागेको १० देखि १५ प्रतिशत अन्तःशुल्क पनि हटेको छ। त्यस्तै चिनी आयातमा रहेको ३० प्रतिशत भन्सार महसुलबाट घटाएर १५ प्रतिशत बनाएको छ। फलफूल लगायत वनस्पतिजन्य र दूधजन्य पदार्थको अग्रिम कर खारेज गरिएको छ।
यो सँगै बजारमा भाउ घट्नेमा व्यवसायी सकारात्मक छन्। तर, उनीहरुले भाउ घटाएर बेच्न भने थालेका छैनन्।

व्यवसायीले चामल बोरामा १५० रुपैयाँसम्म, गेडागुडीमा २० रुपैयाँसम्म, चिनीमा ६ रुपैयाँभन्दा बढी र ड्राइफ्रुट्समा केजीमा ३ सय रुपैयाँसम्म घट्ने भएको छ। फलफूलमा केजीमा ३० रुपैयाँसम्म भाउ घट्ने व्यवसायीले बताएका छन्।
खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ भाउ घटेर कारोबारमा आउन केही समय लाग्ने बताउँछन्। उनका अनुसार बजेटको घोषणापछि बजारमा दैनिक उपभोग्य वस्तुदेखि ड्राइफ्रुट्ससम्मको भाउ घट्न सक्छ। ‘चामल बोरामा ५० देखि १०० रुपैयाँ घट्नु पर्छ। चिनीमा भन्सार १५ प्रतिशत घटेपछि खुद्रा बजारमै केजीमा ६ रुपैयाँ भन्दा बढी घट्नुपर्छ,’ उनले भने।
हाल बजारमा खुद्रा बजारमा चिनीको भाउ प्रति केजी १०५ रुपैयाँ छ। नयाँ मूल्य प्रति केजी एक सय रुपैयाँभन्दा तल आइपुग्नुपर्ने उनले बताए। ड्राइफुट्समध्ये काजु, बदाम, ओखर, नरिवल केजीमा ३ देखि ४ सय रुपैयाँ घट्नुपर्ने उनको हिसाब छ।
पछिल्लो समय सरकारले यस्ता वस्तुमा अन्तःशुल्क लगाएपछि भाउ केजीमा २०० रुपैयाँभन्दा बढीले वृद्धि भएको थियो। करका दरमा वृद्धियता लगातार भाउ बढ्दै काजुको बजार भाउ प्रति केजी २२०० रुपैयाँभन्दा माथि पुगेको थियो।
सरकारले करका दर घटाए पनि बजार भाउ ह्वात्तै भने नघट्ने खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन्। ‘खरिद गरेको भन्दा कम भाउमा कसले बेच्छ। विस्तारै नयाँ खरिदको माल बजारमा आउन थालेपछि मूल्य घटेर आउँछ,’ उनले भने, ‘सरकारले यसलाई ध्यान दिएर बजार अनुगमन गर्नुपर्छ।’
अग्रिम कर हटेसँगै बजारमा घटेको भाउमा कारोबार हुन समय लाग्ने उनको भनाइ छ। उपभोक्ताले १५ देखि २० दिनपछि यस्ता वस्तु खरिद गर्दा घटेको भाउमा पाउने उनले बताए। ‘खरिदमै महँगो परेको खाद्यवस्तुमा व्यापारीले हतार हतार घटाएर बेच्ने कुरा आउँदैन, नयाँ खेपमा विस्तारै सस्तिँदै जान्छ,’ उनले भने।
राधाकृष्ण राइस मिलका संचालक विभोर अग्रवाल धान आयातमा लाग्दै आएको २.५ अग्रिम कर घटेपछि चामलको भाउ बोरामा १५० रुपैयाँसम्म सस्तो हुने बताउँछन्। ‘अग्रिम आयकरका कारण चामलको भाउ बोरामा २०० रुपैयाँसम्म बढेको थियो,’ उनले भने।

अहिले यो हटेपछि ब्राण्डअनुसार चामल सस्तिने उनले बताए। केही समययता बजारमा उपभोक्ताले चामल जिरा मसिनो प्रति बोरा २१०० देखि २२ सय रुपैयाँमा खरिद गरिरहेका छन्।
फलफूल व्यवसायी रुद्रबहादुर पाठक पनि ह्वात्तै मूल्य नघट्ने बताउँछन्। ‘अहिले खरिद महँगो भएकाले फलफूलको भाउ तुरुन्तै घटिहाल्ने स्थिति म देख्दिँन,’ उनले भने, ‘सिजनका फलफूल सस्तो हुँदै गएका छन्। अन्य आयातित फलफूलमा विस्तारै ३० रुपैयाँसम्म घट्न सक्ने मेरो हिसाब छ।’ थोक खरिद सस्तो पर्दै जाँदा त्यहीअनुसार खुद्रा बजारमा पनि सस्तिँदै जाने उनले बताए।
केही व्यवसायीले नयाँ सामान आयात नभएसम्म अहिले नै घट्ने मूल्य यकिन नहुने बताएका छन्। बजेटअघि नै आयात भएका उपभोग्य वस्तु व्यवसायीले पुरानै मूल्यमा बिक्री बेचिरहेका छन्।