
काठमाडौं। काठमाडौंको दरबारमार्गमा बन्ने अन्नपूर्ण स्क्वायर होटलको निर्माण प्रक्रिया अघि बढेको छ। भारतीय प्रिमियम ब्राण्ड आईटीसी वेलकम भित्र्याएको डेढ महिनापछि अन्नपूर्ण स्क्वायर होटल निर्माण प्रक्रिया अघि बढाइएको हो।
होटलको सोमबार शिलान्यास गरिएको छ। अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले विधिपूर्वक भूमिपूजा गरेका छन्। भूमिपूजामा लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठ लगायत पनि सहभागी थिए।

छ महिनाअघि होटल डेल अन्नपूर्ण किनेका भाटभटेनी र लिटिल एन्जल्स समूहले अन्नपूर्ण स्क्वायर होटल बनाउन सोमबार भूमिपूजा गरेका हुन्।
भारतको आर्किटेक्चर कम्पनीले गरेको डिजाइन अनुसार २५ तल्लाको संरचनासहित होटल बनाइने भएको हो। होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ।

होटलमा ३५० कोठा हुनेछन्। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्नेछ। जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहनेछन्।
होटलमा १ हजार, १ हजार ५०० र २ हजार ५०० मानिस अटाउने क्षमताका तीनवटा बैंक्विट हल निर्माण गरिनेछ।

होटलमा क्यासिनो पनि संचालन गर्ने योजना छ। होटल निर्माणमा साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको छ।
अन्नपूर्ण स्क्वायर प्रालिले होटलमा व्यवस्थापन हेर्ने गरी डेढ महिनाअघि भारतीय प्रिमियम ब्राण्ड आईटीसी वेलकम भित्र्याएको थियो। अन्नपूर्ण स्क्वायर र भारतीय अन्तर्राष्ट्रिय चेन आइटीसीबीच होटल संचालनसम्बन्धमा गत असोज १७ गते सम्झौता भएको थियो।

पुरानो संरचना भत्काउनुपर्ने भएकाले होटलको निर्माण सुरु गर्न अझै केही महिना लाग्नेछ।
अध्यक्ष गुरुङले २०८५ वैशाख १ गतेबाट होटल पूर्णरुपमा संचालनमा ल्याउने गरी काम अगाडि बढाउने बताए।

‘हामीले दक्षिण एसियाकै प्रसिद्ध होटल बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त ब्राण्ड आइटीसीसँग डेढ महिनाअघि सम्झौता गरिसकेका छौं। होटलको डिजाइन तयार भएको छ। अब हामी यहाँ पुरानो संरचना भत्काउने कामलाई तिब्रता दिएर महानगरपालिका लगायत सरकारी निकायबाट स्वीकृति लिइ केही महिनाभित्र निर्माण सुरु गर्छौं,’ गुरुङले भने, ‘२०८५ सालको वैशाखबाट सञ्चालनमा ल्याउने गरी निर्माण गर्छौं। लक्जरी आतिथ्यतामा नयाँ मानक बनाउने हाम्रो उद्देश्य छ।’
आइटीसीले अन्नपूर्णलाई आइकोनिक होटल बनाउने भनेको छ।