
काठमाडौं। अमेरिकाले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ। यो निर्णयबाट अमेरिकामा वर्षौंदेखि बस्दै आएका हजारौं नेपाली प्रभावित हुने भएका छन्।
टीपीएस अन्तर्गत अमेरिकामा बस्दै आएको सुविधा अगस्ट ५ मा सकिनेछ। अमेरिकाले सूचना निकाल्दै टीपीएस सेवामा बसिरहेकाहरूलाई सो समय अवधिमा नेपाल फर्किन तयार रहन भनेको छ।
डोनाल्ड ट्रम्प पहिलो राष्ट्रपति हुँदा पनि उनले नेपालीलाई दिएको टीपीएस सुविधा खारेज गरेका थिए।
सन् २०१९ सम्म १९ हजार नेपालीले यो सुविधा लिइरहेको तथ्यांक छ। सन् २०२४ को डिसेम्बरसम्म भने करिब ७ हजार ५०० भन्दा बढीले यो सुविधा लिएको देखिन्छ।
२०१५ देखि दिन थालिएको यो सुविधा अन्तर्गत अमेरिका पुगेका हजारौं नेपालीले आफ्नो ‘टीपीएस स्टाट्स’ परिवर्तन गरिसकेका छन्। अर्थात उनीहरुले त्यहाँको कानुन अनुसार अमेरिकी नागरिक सँग विवाह गरेर, त्यहाँ स्थायी बसोबासका लागि आवेदन दिएर पीआर लिइसकेका छन्। उनीहरुको हकमा भने अहिलेको निर्णय लागू हुनेछैन।
के हो टीपीएस?
अमेरिकाले सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले आफ्नो देशमा सुरक्षित नभएका व्यक्तिहरुलाई देश फर्किने अवस्था नआउँदासम्म कानुनीरुपमा बस्न र काम गर्ने दिने व्यवस्था गरेको छ।
यो स्टाटस अल्पकालीन भए पनि नवीकरण गर्न सकिन्छ। त्यस्तै केही आप्रवासीहरुले आफ्ना सन्तान अमेरिकामै जन्मिएका र उनीहरुले घर खरिद गरिसेको तथा करियर बनाइरहेको भन्दै उतै बस्न चाहन्छन्।
यस्तो कार्यक्रममा सहभागी हुन चाहने र वर्गीकरणमा परेका देशका आप्रवासीहरुले अमेरिकाको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेन्टमा निवेदन दिनुपर्छ। डिपार्टमेन्टले निवेदन अध्ययन गरी टीपीएसको अनुमति दिन सक्छ।
त्यस्तै यो व्यवस्था डिपार्टमेन्टले ६ देखि १८ महिनाका लागि नवीकरण गर्नुपर्छ। उनीहरुले नवीकरणका लागि आवश्यक शूल्क र कारणसहितको प्रमाण म्याद सकिनु अगाडि नै दर्ता गर्नुपर्छ।
ट्रम्प प्रशासनले यस्तो व्यवस्था नेपाल र होन्डुरसका लागि अन्त्य गर्ने घोषणा सन् २०१८ मा पनि गरेको थियो। जो बाइडेनले उक्त सुविधा सन् २०२३ मा पुनः निरन्तरता दिएको थियो।