
काठमाडौं। सरकारले अवैध आयातलाई निरुत्साहित गर्न १२ प्रकारका ड्राइफ्रुट्स र फलफूलमा यसअघि लगाइएको अन्तःशुल्क हटाएको छ। चालु आर्थिक वर्षमा यी वस्तुहरूमा ५ प्रतिशत देखि १५ प्रतिशतसम्म अन्तःशुल्क लगाइएको थियो।
अन्तःशुल्कका कारण बजारमा ड्राइफ्रुड्सको भाउ महँगिएको थियो। त्यसका अलावा अवैध आयात पनि बढेको थियो। साथै, यस्ता वस्तुको भाउ व्यवसायीले आफूखुसी तोक्दै बेचिरहेका थिए।
उदाहरणका लागि वैध रुपमा आयात गरिएको काजु प्रति केजी २ हजार रुपैयाँ हुँदा अवैध आयात भएको काजु प्रति केजी १५ सय रुपैयाँमा पाइने गरेको थियो। यी वस्तुमा अन्तःशुल्क हटेपछि अवैध आयात रोकिने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमा काजु, नरिवल, ओखर, पिस्ता, म्याकाडामिया नटहरु, कटुस, खजुर, ब्राजिल नट्स लगायतका २३ वटा हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) हटाइएको छ। जसमा १२ प्रकारका ड्राइफ्रुट्स र त्यसका कच्चा पदार्थहरू समावेश छन्।
व्यवसायीले आयात गर्दा खबटासहित र खबटा नभएको ड्राइफ्रुट्स आयात गर्ने हुनाले यिनीहरुको अन्तःशुल्क फरक पर्छ। खबटासहित आयात गर्दा १० प्रतिशत अन्तःशुल्क र खबटा नभएको हकमा १५ प्रतिशत छ। अबदेखि आयात हुने यी वस्तुहरूमा अन्तःशुल्क नलाग्ने भएको हो।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार सरकारी सहुलियतले ड्राइफ्रुट्समा केही हदसम्म भाउ घट्न सक्छ। अहिलेभन्दा भाउ नबढ्ने भन्दै उनले सरकारले यसमा निगरानी राख्नुपर्ने बताए।
‘ड्राइफ्रुट्स लामो समयदेखि वैधभन्दा अवैध रुपमा आयात भइरहेको थियो,’ उनले भने, ‘देशमा उत्पादन नहुने वस्तुमा सरकारले विभिन्न कर लगाउँदा अवैध आयात फस्टाएको थियो। राजस्व तिरेर व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अवैध व्यापारका कारण असर पुर्याएको थियो।’
आगामी दिनमा कतिसम्म भाउ घट्छ भनेर अहिले भन्न नसकिने उनले बताए।
व्यवसायीका अनुसार हाल नेपालमा ड्राइफ्रुट्सको आयात गर्ने निकै कम आयातकर्ता छन्। खुद्रा व्यापारी भने धेरै छन्।
भारत लगायत तेस्रो मुलुकबाट आयात हुने यस्ता वस्तुको भन्सार महँगो हुँदा अवैध आयात बढेको थियो। त्यस्तै, मूल्य पनि बजारमा मनपरी तय गरिएको थियो।
चालु आर्थिक वर्षमा करिब साढे २ अर्ब रुपैयाँभन्दा बढीको ड्राइफ्रुट्स आयात भएको छ। अघिल्ला वर्ष करिब ५ अर्ब रुपैयाँभन्दा बढीको ड्राइफ्रुट्स आयात हुने गरेको थियो। सबैभन्दा बढी ओखर, बदाम र काजुको आयात हुने गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्ममा ३१ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ७०५ केजी काजु आयात गरिएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ४७ करोड ६६ लाख ८९ हजार रुपैयाँ बराबरको ५ लाख ४७ हजार ४८४ केजी काजु आयात भएको छ।
गत आवको बैशाखसम्ममा १ अर्ब ३ करोड १५ लाख २६ हजार रुपैयाँ बराबरको २९ लाख ९४ हजार ७१ केजी ओखर आयात गरिएको थियो। चालु आवको सोही अवधिमा १ अर्ब २५ करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको ३५ लाख ५ हजार २५५ केजी ओखर आयात गरिएको छ।
गत आवको वैशाखसम्ममा ३८ करोड ४३ लाख १२ हजार रुपैयाँ बराबरको ४ लाख ८७ हजार ४४४ केजी आलमन्ड आयात गरिएको थियो। चालु आवको सोही अवधिमा ५७ करोड ७५ लाख ६५ हजार रुपैयाँ बराबरको ७ लाख १९ हजार ९७४ केजी आलमन्ड आयात गरिएको छ।
गत आवको वैशाखसम्ममा ४२ करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ७ हजार १६१ केजी नरिवल आयात गरिएको थियो। चालु आवको सोही अवधिमा ४० करोड ९० लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ४२ हजार ७८६ केजी नरिवल आयात गरिएको छ।
गत आवको वैशाखसम्ममा १ करोड ६२ लाख ४५ हजार रुपैयाँ बराबरको १३ हजार १५१ केजी पिस्ता आयात भएको थियो। चालु आवको सोही अवधिमा ३ करोड ३५ लाख ८ हजार रुपैयाँ बराबरको २ लाख ९८ हजार ३१९ केजी आयात भएको छ।