प्रधानमन्त्री ओलीले ऐतिहासिक निकासीको प्रशंसा गरेको एक सातामै भारतको स्ट्राइक, १ खर्बमा धक्का

अनन्तराज न्यौपाने
२०८२ जेठ १७ गते १५:०५ | May 31, 2025
प्रधानमन्त्री ओलीले ऐतिहासिक निकासीको प्रशंसा गरेको एक सातामै भारतको स्ट्राइक, १ खर्बमा धक्का


विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताअघि सामाजिक संजालमा लेखेका थिए- ‘१० महिनामा कीर्तिमान निर्यात २ खर्ब १८ अर्ब रुपैयाँ।’

Tata
GBIME

उनले बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको दाबी गर्दै अर्थतन्त्र सकारात्मक बाटोमा लागिरहेको बताएका थिए। सवा दुई खर्बको निकासीमा झण्डै एक खर्ब खाने तेलको हिस्सा थियो।

यो अवधिमा भटमासको तेल ७८ अर्ब ७५ करोड, सूर्यमुखी तेल १० अर्ब ९ करोड र पाम आयल एक अर्बको निकासी भएको छ। प्रधानमन्त्री ओलीले ऐतिहासिक निकासी भएको दाबी गरेको एक साता नबित्दै भारतले खाने तेलको कच्चा पदार्थको भन्सार घटाएको छ। कच्चा पदार्थ घट्ने वित्तिकै झण्डै एक खर्ब बराबर निकासीमा धक्का लाग्ने देखिएको छ।

भारत खाने तेलको कच्चा पदार्थको महसुलमा ५० प्रतिशतले कटौती गरेको हो। भारत सरकारले त्यहाँका तेल उद्योगीको मागलाई सम्बोधन गर्दै कच्चा पदार्थको महसुल कटौती गरेपछि नेपाली तेल उद्योगी स्तब्ध छन्।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् एभरेस्ट आयल मिलका संचालक अविनाश बोहराले भारतले शुक्रबार रातिदेखि कच्चा तेलको महसुलमा कटौती गरेको बताए। भारत सरकारले भटमास, सूर्यमुखी र पामको कच्चा तेलको आयातमा लाग्दै आएको २० प्रतिशत आयात महसुललाई आधा घटाइदिएको हो।

उद्योगी बोहराले कच्चा खानेतलमा भारतले सामाजिक सुरक्षा लगायतका केही साना कर पनि कटौती गरेको बताए । अब भारतका तेल उद्योगीले इन्डोनेसिया, मलेसिया, युक्रेन, अस्ट्रेलिया लगायतका मुलुकबाट आयात गर्ने तीन प्रकारकै कच्चा तेलमा १० प्रतिशत मात्र महसुल तिर्नेछन्। यसअघि यो महसुल २० प्रतिशत थियो।

विराटनगरको बाबा आयलका संचालक नारायण मुन्दडाले भारतको महसुल घटाउने निर्णयसँगै नेपालको १ खर्बभन्दा बढीको निर्यात प्रभावित हुने बताए। उद्योगी मुन्दडाले अब निर्यातका उद्देश्यले कुनै उद्योगले पनि कच्चा तेलको एलसी नखोल्ने र भएको तेल क्लियर गर्नतिर लाग्ने जानकारी दिए।

‘हामीले अत्यन्त कम मार्जिनमा कारोबार गरिरहेका थियौं। अब भारतका उद्योगले ११ प्रतिशतको सहुलियत पाएपछि यहाँको निर्यात नराम्ररी प्रभावित हुनेछ,’ मुन्दडाको भनाइ छ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ८९ अर्बको खाने तेल भारत निर्यात भइसकेको छ। जसमा ७८ अर्बको भटमासको तेल, १० अर्बको सूर्यमुखीको तेल र बाँकी पाम तेलको हिस्सा छ।

त्यस्तै, तेस्रो मुलुकबाट परिवर्त्य विदेशी मुद्रामा १ खर्बभन्दा बढीको कच्चा तेलको आयात भएको छ। जसमा ८१ अर्बको भटमासको तेल र २१ अर्बको सूर्यमुखीको तेल छ। भारतका तेल उद्योगी र तिनका संगठनले नेपालबाट त्यहाँ पुगेको तेलले भारतीय बजार र उद्योगलाई धक्का पुगेको भन्दै कच्चा तेलको आयात महसुल घटाउन लामो समयदेखि लबिइङ गरिरहेका थिए।

उद्योगी मुन्दडाले भने, ‘भारतले भटमासको न्यूनतम समर्थन मूल्य किलोको ३ रुपैयाँ वृद्धि गरेर आफ्ना किसानलाई राहत दिएको छ। अर्कातिर कच्चा तेलको आयात महसुल घटाएर उद्योगीलाई फाइदामा लगेको छ। यसबाट नेपालले पाठ सिक्नु आवश्यक छ।’

नेपालमा पाम, सूर्यमुखी र भटमासको कच्चा तेलको आयातमा ५ प्रतिशत महसुल छ।