देउवासँग प्रचण्डको दिनदिनै संवाद, ओलीसँग छलफलमा बस्नुअघि के भएको थियो कुराकानी?

प्रकाश भण्डारी
२०८२ जेठ १९ गते २०:२२ | Jun 2, 2025
देउवासँग प्रचण्डको दिनदिनै संवाद, ओलीसँग छलफलमा बस्नुअघि के भएको थियो कुराकानी?


काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदीय दलको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अस्वीकार गरे।

Tata
GBIME

जेठ १४ गतेको संसदीय दलको बैठकबाटै प्रचण्डले ओलीसँग फोनमा लेखकले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्ने माग राखे।

लेखकको राजीनामाको माग राखेका प्रचण्ड कांग्रेससँग भने लचिलो नै थिए। त्यही कारण उनले राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाझैं अवरोध नगर्न र बजेट ल्याउन दिन सांसदहरुलाई निर्देशन दिए। अरु विपक्षी दलहरुलाई पनि बजेटमा अवरोध नगर्न सहमत गराए।

जेठ १५ गते बजेट प्रस्तुतपछि प्रतिनिधि सभाको बैठक एकैपटक मंगलबारका लागि राखिएको छ। यो बीचमा ओलीले प्रचण्डसँग संवाद गर्न पटक-पटक आग्रह गरे। प्रचण्डले भने अस्वीकार गरिरहे। उनले लेखकको राजीनामा आफ्नो बटमलाइन भएको सन्देश ओलीलाई दिए।

तर, सोमबार अपरान्ह भने प्रचण्ड ओलीसँगै सत्तारुढ दलका नेतासँग छलफल गर्न तयार भए। प्रचण्ड एकाएक कसरी संसद् अवरोधबारे ओलीसँग कुराकानीका लागि तयार भए त?

यसको पछाडिका कारण देउवा हुन्। सोमबार बिहान देउवाले प्रचण्डलाई फोन गरेर गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्न आग्रह गरे। जवाफमा प्रचण्डले लेखकलाई संसद्‍मा बोल्न दिनका लागि आफू तयार नै रहेको बताए। उनले लेखकको राजीनामाको अडानबारे भने केही बताएनन्, अरु विपक्षी दलहरुलाई देखाए।

देउवाको आग्रहमा प्रचण्ड ओलीसँग कुरा गर्न तयार भए।

‘देउवाले फोन गरेर राजीनामाको मागबाट पछि हटिदिनुस् भन्नुभयो। राजीनामा नदिएरै संसद् अवरोध कसरी हटाउन सकिन्छ भन्ने देउवाको चासो थियो। तर, प्रचण्डले अवरोध हटाउनेबारे ठोस जवाफ दिनुभएन। देउवाको आग्रहमा उहाँ आज प्रधानमन्त्रीसँग वार्ताका लागि तयार हुनुभएको हो,’ प्रचण्ड निकट एक नेताले भने।

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा ओलीले प्रचण्डलाई आफू र देउवाका लागि जस्तै अलग्गै कुर्सी व्यवस्था गरे। कुर्सीको व्यवस्थापनबाट आफूहरु समान तहको नेता भएको सन्देश ओलीले दिन खोजे पनि संसद्को अवरोध हटाउने विषयमा भने सहमति जुटेन। तीन दलका शीर्ष नेताको तहमा फेरि छलफल गर्ने भनिएको छ।

माओवादी केन्द्रको संसदीय दलको बैठक

ओली-देउवासँगको छलफलअघि पार्टीको संसदीय दलको बैठकमा प्रचण्डले बजेट र लेखकको राजीनामाको विषयमा सांसदहरुको धारणा सुनेका थिए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ र राष्ट्रिय सभाका पूर्वसदस्य रामनारायण बिडारीले माओवादी नेतृत्वको यसअघिको सरकार र अहिलेको सरकारले ल्याएको बजेटको तुलना गरी निचोड सुनाएपछि प्रचण्डले बजेटको विपक्षमा खरो उत्रिन सांसदहरुलाई निर्देशन दिए। तर, उनी लेखकले राजीनामा दिनुपर्ने मागमा भने कडारुपमा प्रस्तुत भएनन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटका क्रममा प्रचण्ड

प्रचण्डले संसदीय दलको बैठक सकिएलगत्तै सिंहदरबारमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुरा गरे। उनले लेखकको राजीनामाको अडानमा नरम हुन नेपाललाई आग्रह गरेको स्रोतले बतायो।

मंगलबार प्रतिनिधि सभाको बैठकअघि विपक्षी दलहरु छलफलमा बस्दैछन्। त्यो छलफलबाट निर्णयमा पुग्ने प्रचण्डको तयारी छ।

लेखकको राजीनामा मागेर संसद् अवरोधको नेतृत्व गरिरहेका प्रचण्डले देउवालाई फकाउने प्रयास गरिरहेका छन्। प्रचण्ड र देउवाबीच पछिल्लो समय दैनिकजसो कुराकानी भइरहेको छ।

कांग्रेस-एमालेबीच किचलो बढिरहेका बेला प्रचण्डले नयाँ समीकरणका लागि देउवासँग संवाद गर्न खोजिरहेका छन्। प्रचण्ड निकट नेताहरुका अनुसार नयाँ समीकरणका लागि अहिलेसम्म औपचारिकरुपमा कुराकानी भएको छैन।

विपक्षीलाई नरम बनिदिन देउवामात्रै होइन, गृहमन्त्री लेखक आफैंले पनि आग्रह गरिरहेका छन्। त्यसका लागि उनले विपक्षी दलका शीर्ष नेतालाई आफैं फोन गरेका छन्। उनले विपक्षी दलका केही सांसदलाई समेत फोन गरेर आफ्नो राजीनामालाई बटमलाइन नबनाउन अनुरोध गरिरहेका छन्।

भिजिट भिसाका नाममा दिनमै ५० लाख रुपैयाँभन्दा बढीका दरले भएको असुलीमा केही कर्मचारीमाथि प्रश्न उठे पनि यसमा आफ्नो संलग्नता नरहेको भन्दै राजीनामालाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका हुन्।

विपक्षी दल नेकपा एकीकृत समाजवादी लेखकप्रति नरम देखिएको छ। मधेश केन्द्रित दलहरुले त लेखकको राजीनामाको मागलाई अनुचित भनिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने लेखकको राजीनामाको मागमा टसमस भएको छैन।