
विराटनगर । दक्षिण सीमावर्ती बजारमा भारुको मूल्य घट्न थालेको छ। चार दिन अघिसम्म १०० भारु खरिद गर्न नेरु १६४ आवश्यक पर्नेमा सोमबारदेखि १५९ रुपैयाँ २० पैसामा पाइन थालेको हो।
करिब ८ महिनापछि सीमावर्ती बजारमा भारुको मूल्य घटेको हो। यसअघि २०८१ भदौदेखि खुला बजारमा भारुको मूल्यवृद्धि भएको थियो।
सीमावर्ती बजारमा २०७९ मंसिरदेखि भारुको मूल्य घट्न थालेको थियो। मूल्यमा कतिसम्म ह्रास आएको थियो भने २०८० असारमा नेरु १५० मै भारु १ सयको खरिद बिक्री भएको थियो। भारुको मूल्य कहिले घट्ने र कहिले बढ्ने हुँदै यो क्रम २०८१ भदौको दोस्रो सातासम्म यथावत् थियो। त्यसपछि भने खुला बजारमा भारुको मूल्य क्रमशः वृद्धि हुन थाल्यो।
नेपाल सरकारको भारुको खरिदमूल्य नेरु १६० हो।
विराटनगरको सीमावर्ती बजार जोगबनीका व्यापारीले सोमबार एक लाखभन्दा बढी भारु खरिद गर्दा नेरु १ लाख ५९ हजार २ सयका हिसाबले तिरेका थिए। जबकि चार दिन अघिसम्म १ लाख भारु पाउन मुद्राका कारोबारीलाई नेरु १ लाख ६४ हजार बुझाउनु पर्थ्यो।
जोगबनीको ओम मेडिसिनका सञ्चालक वसन्त साहले सोमबार आफूले नेरु १ लाख ५९ हजार २ सयका हिसाबले भारु खरिद गरेको जानकारी दिए। व्यवसायी साहले ४ दिन अघिसम्म भारु १ लाखका लागि नेरु १ लाख ६४ हजार बुझाएको बताए।
‘एकाएक भारुको मूल्य घट्दा हामीलाई आश्चर्य लागेको छ। मुद्राको कारोबार गर्नेहरू गड्डीका गड्डी भारु बोकेर आउन थालेका छन् र बदलामा नेरु माग्न थालेका छन्’, साहले भने।
जोगबनीको हरियाना फेन्सी स्टोरका सञ्चालक नरेन्द्र गोयलले पनि सोमबारदेखि एकाएक भारुको मूल्यमा ह्रास आएको बताए।
गोयलले आफ्नो पसलमा पनि मुद्राका कारोबारी आएको र सस्तोमा भारु दिने भन्दै नेरुको माग गरेको उल्लेख गरे। विराटनगरको एक मैदा मिल्सका सञ्चालकले एक हप्तायता पूर्वका डिलरले मैदापिठोको भुक्तानीमा भारु पनि मिसाइरहेको बताए।
सीमावर्ती बजारमा भारुको मूल्य घट्नुलाई सुनको तस्करीसँग जोडेर हेरिँदै आएको छ।

भारतमा अहिले सुनको भन्सार महसुल ६ र जीएसटी ३ गरी कुल शुल्क ९ प्रतिशत हुँदा नेपालमा महसुल १० र विलासी शुल्क २ गरी कुल शुल्क १२ प्रतिशत छ। यसप्रकार नेपालमा वैध रूपमा आयात भएको सुन अनधिकृत रूपमा भारत जान सक्दैन।
तर, अन्तर्राष्ट्रिय उडान र उत्तरी नाकाबाट भन्सार छलेर आएको तस्करीको सुनको परिमाण दैनिक एक क्विन्टलभन्दा बढी हुने बताइन्छ।
‘यस धन्धामा नेपाली व्यवसायी जोडिएका छन्। उनीहरूलाई सुनको भुक्तानी नेरुमा आवश्यक पर्छ। त्यसैले भारतका सुनका कारोबारी सस्तोमा भारु बिक्री गरेर नेरु खरिद गरेर नेपालका कारोबारीलाई दिन बाध्य छन्। भारु सस्तो हुन थालेको कारण यही हो’, एक पूर्व प्रहरीले भने।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत चैत ४ मा काठमाडौंको टोखाबाट ट्रकभित्र राखिएको २५ करोड बराबरको युरो, डलर लगायतका विदेशी मुद्रा बरामद गरेको थियो। यस प्रकरणमा राजस्व अनुसन्धान विभागले सिन्धुपाल्चोकका कुसाङ लामा र नारायण पौडेललाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिसकेको छ।
विभागले लामा र पौडेल दुवै सुन र हुन्डी कारोबारमा संलग्न रहेको जिकिर गरेको छ। यसबाहेक सीमा क्षेत्रमा भारु सस्तो हुनुको अर्को कारण प्लाइउडको निर्यातमा हुने गरेको न्यून बिजकीकरण पनि हो।
भारतमा प्लाइउडको जिएसटी १८ प्रतिशत भएको हुँदा यसबाट बच्न निर्यातकर्ताहरू न्यून मूल्य राखेर निर्यात गरिरहेका छन् र बाँकी भारु हुन्डीबाट मगाइरहेका छन्।