
काठमाडौं। ऊर्जामन्त्री दीपक खड्कामाथि नेपाल विद्युत प्राधिकरण कब्जा गर्न खोजेको आरोप लगाउँदै मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले राजीनामा दिएका छन्।
प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भए लगत्तै ११औं र १२औं तहका कर्मचारी सरुवा बढुवाको अधिकार सञ्चालक समितिमा तानेका खड्काले १०औं तहका कर्मचारी खटनपटनमा पनि आँखा लगाएपछि अधिकारीले त्यसलाई ‘प्राधिकरण कब्जा गर्ने नियत’का रुपमा अर्थ्याउँदै उनको साथ छोडेका हुन्।
अधिकारीले मंगलबार राजीनामा बुझाएका छन्। उनी मन्त्रिपरिषद्को निर्णयमा गत भदौ दोस्रो साता ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञ नियुक्त भएका थिए।

नेपाली कांग्रेस निकट अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै विज्ञ नियुक्त गर्न चाहेकामा अन्तिममा विवादित पृष्ठभूमिका खड्काले सम्हालेको ऊर्जा मन्त्रालयमा रहेर काम गर्ने गरी नियुक्ति दिएका थिए।
खड्का र अधिकारीबीच केही महिनासम्म राम्रै ट्युनिङ मिल्यो। तर खड्काले जब प्राधिकरणमा आफ्ना लागि अलग्गै कार्यालय खडा गर्नेदेखि कर्मचारी सरुवाको लिस्ट तयार पार्ने र जलविद्युत आयोजनाको ठेक्कामा सेटिङको योजना बनाए, त्यसपछि दुई जनाको सम्बन्धमा चिसोपना बढ्दै गयो।
खड्काले प्राधिकरणका कर्मचारीको सरुवाका लागि यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिस्ट नै बुझाएका थिए। तर, कुलमानले खड्काको चाहना अनुसार कर्मचारी सरुवा गर्न मानेनन्। खड्काले विवादित कर्मचारीहरुलाई महत्वपूर्ण कार्यालयमा सरुवा गर्न दबाब दिएका थिए।
त्यसपछि खड्का १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सेटिङमा जोडिए। सेटिङको योजना अधिकारीलाई मन परेको थिएन। उनीमार्फत ओलीकहाँ सूचना पुग्यो।
ओलीले खड्कालाई बोलाएर झपार्ने काम गरे। जसका कारण खड्का ठेक्का रद्द गर्न बाध्य भए।
१९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको सेयर बिक्री गर्ने चाहनामा पनि खड्कालाई नराम्रो ठेस लाग्यो।
बालुवाटारलाई जथाभावी ब्रिफिङ गरेको बुझाइपछि खड्का अधिकारीसँग चिढिन पुगेको मन्त्रालय स्रोतले बतायो।
‘त्यसपछि मन्त्रीज्यूबाट अधिकारीलाई कतिपय कामका सन्दर्भमा ह्युमिलेट गर्ने काम भयो। तैपनि दुवैजनाले तिक्ततापूर्ण सम्बन्ध अरुसामु लुकाउने प्रयास गरे,’ मन्त्रालयका एक कर्मचारीले भने।
खड्काले माघ २८ गते भारतमा भएको इनर्जी विकमा अधिकारीलाई साथै लगे। अधिकारी पनि मन्त्री खड्काको पछि लाग्न छोडेनन्।

अधिकारीमाथि कुलमान घिसिङलाई ६ पटकसम्म स्पष्टीकरण सोध्न खड्कालाई उक्साएको आरोप छ। यस्तै कुलमानलाई कमजोर बनाउन प्राधिकरणका उपकार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर छलफल गराउन पनि खड्कालाई अधिकारीले नै उक्साएको आरोप छ।
खड्काले कुलमान बहाल रहेकै अवस्थामा प्राधिकरणका कार्यकारी निर्देशकको अधिकार आफैं प्रयोग गर्न खोजेका थिए। तर, कुलमानले खड्काको चाहना अनुसार कर्मचारी विनियमावली संशोधन गर्न मानेनन्। जब कुलमान चैत ११ गते बर्खास्त भए, खड्काले नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेकै दिन चैत १२ गते राति सञ्चालक समितिको बैठक राखेर कर्मचारी सरुवा बढुवाको अधिकार आफूमा ताने।
नयाँ कार्यकारी निर्देशक शाक्यलाई दबाब दिएर कर्मचारी सरुवाको अधिकार आफूमा तानेको भन्दै अधिकारीले यसलाई मन्त्रीले प्राधिकरण कब्जा गर्न खोजेको रुपमा अर्थ्याएका छन्।
उनले वैशाख १ देखि लागू हुनेगरी दिएको राजीनामा पत्रमा गन्जागोल अवस्थामा काम गर्न नसक्ने उल्लेख गरेका छन्।
खड्काका आर्थिक सल्लाहकार श्रेष्ठले अधिकारीले मन्त्रीसँग असहमतिका कारण नभइ पारिवारिक कारण राजीनामा दिएको बताए। ‘मन्त्रीज्यूसँग उहाँको असहमति भएजस्तो लाग्दैन। उहाँले पारिवारिक कारण काम गर्न नसक्ने भइयो भनेर राजीनामा दिनुभएको हो,’ श्रेष्ठले भने।