
काठमाडौं। काठमाडौंमा प्रिमियम फाइभस्टार होटल निर्माण गरिरहेका गैरआवासीय नेपाली शेष घले र समिट होटलका संस्थापक अमृतरत्न शाक्यको लगानीमा भक्तपुरमा हाइ इण्ड रिसोर्ट बन्ने भएको छ।
घलेको एमआइटी र शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी)को संयुक्त लगानीमा स्वनिग: रिसोर्ट बन्ने भएको हो। रिसोर्ट भक्तपुरको घ्याम्पेडाँडामा १०० रोपनी जग्गामा ६ अर्ब रुपैयाँ लगानीमा तयार हुनेछ।
नेपाली तथा विदेशी हाइ इण्ड पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय चेनको व्यवस्थापन हुने गरी रिसोर्ट बनाउन लागेको आइइजीका संस्थापक शाक्यले बताए।
‘हामीले २० वर्ष अगाडि नै अहिलेको पाइलट बाबा आश्रम छेउमा १०० रोपनी जग्गा खरिद गरेका थियौं। यो स्थानमा हाइ इण्ड पर्यटक ल्याएर सेवा दिन सकिने सम्भावना देखेका थियौं,’ शाक्यले बिजमाण्डूसँग भने, ‘हामी उत्कृष्ट प्रोपर्टी निर्माण गर्दैछौं।’
रिसोर्टमा एमआइटी र आइइजीको ५०/५० प्रतिशत सेयर हुनेछ। रिसोर्ट निर्माणको सुरुवात नयाँ वर्षबाट हुनेछ। रिसोर्ट मुलुकको संस्कृति, परम्परा, कला समेटेर निर्माण गरिने शाक्यले बताए।
‘यो रिसोर्टको एम्पि थियटरमा सांगीतिक प्रदर्शनी, काष्ठ कला प्रदर्शनी, ध्यान, थाङ्का पेन्टिङ लगायत हुनेछ,’ उनले भने, ‘यहाँबाट हिमश्रृङ्खला सहजै देख्न सकिन्छ। अझै यहाँ भगवान बुद्ध शयन गरेको आकृतिको घना जंगल छ।’
रिसोर्टमार्फत स्थानीयलाई रोजगार दिएर आयआर्जनमा सहयोग गर्ने शाक्यले बताए।

अन्तर्राष्ट्रिय चेन ल्याइने
शाक्यका अनुसार रिसोर्ट निर्माण कार्य अगाडि बढाउने तयारीसँगै अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधिसँग पनि छलफल भएको छ।
‘अहिले संसार नै ग्लोबल भिलेज भइसकेको छ। त्यसैकारण अन्तर्राष्ट्रिय चेन ल्याएर होटल सञ्चालन गर्ने योजना बनाएका हौँ,’ उनले भने, ‘अहिले धेरै प्रकारका अन्तर्राष्ट्रिय चेनको प्रस्ताव आइरहेको छ। हामीले निर्णय लिइसकेका छैनौं।’
उनका अनुसार रिसोर्टमा न्यूनतम ४० देखि ६० वटा भिल्ला रहनेछन्।
यस्तो छ स्वनिगः को अर्थ
नेवारी भाषामा स्वनिगः अर्थात काठमाडौं, पाटन र भक्तपुरको समिश्रण नाम हो। त्यसैले काठमाडौं, पाटन र भक्तपुरलाई एकैठाउँमा प्रतिबिम्बित गर्ने गरी रिसोर्टको डिजाइन तयार गरिंदैछ।
डिजाइनको जिम्मा अन्तर्राष्ट्रिय कम्पनीलाई दिइएको छ। रिसोर्टमा भिल्लासँगै स्वीमिङ पुल, फिटनेस क्लब, रेष्टुरेन्ट, सेमिनार हल, कन्फ्रेन्स हल लगायत सुविधा समावेश हुनेछन्।

‘सन् १९६० को दशकमा नेपालमा अत्यधिक क्वालिटीका टुरिस्ट आउँथे। अहिले त्यस्ता खालका विदेशी पर्यटकको आगमन कम देखिन्छ,’ शाक्यले भने, ‘हाम्रो उद्देश्य हाइइण्ड पर्यटक भित्र्याउनु हो।’
आइइजीले चीन, जर्मनी, अष्ट्रेलिया लगायत विभिन्न मुलुकमा काष्ठकलाको प्रवर्धन गर्दै आएको छ। कम्पनी अन्तर्गत हाल एयरपोर्ट होटल सञ्चालनमा छ भने समीट होटल पुनः सञ्चालनको तयारीमा छ।
एमआइटी समूहले कान्तिपथमा पाँचतारे होटल निर्माण गरिरहेको छ। निर्माणको अन्तिम चरणमा रहेको यो होटल एक वर्षभित्र संचालनमा आउने भनिएको छ।