
काठमाडौं। माघदेखि खस्किएको घरजग्गा कारोबार चैतमा एकाएक बढेर रेकर्ड नै ब्रेक गरेको छ। तेस्रो त्रैमासको अन्तिम महिना चैतमा चालु आर्थिक वर्षकै सर्वाधिक धेरै घरजग्गा किनबेच भएको हो।
चैतमा देशभरका मालपोत कार्यालयहरुबाट ४९ हजार ८३२ लिखत पारित भएको छ।
चैतमा चालु वर्षकै सबैभन्दा धेरै घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ। यसअघि पुसमा चालु वर्षको सबैभन्दा धेरै घरजग्गा किनबेच भएको थियो।
सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवामा भएको छ। इनरुवा मालपोतबाट चैतमा १८९६ लिखत पारित भएको छ। भद्रपुरमा १८०४, बेलबारीमा १७१४, जनकपुरमा १५३८, जनकपुरमा १५३८ लिखत पारित भएको छ। यस्तै, राजविराजमा १४०९, मलंगवामा १२४७, सिरहामा ११६१, धनगढीमा १०८५, भक्तपुरमा १०६१ र विराटनगरमा १०२३ लिखत पारित भएको छ।
काठमाडौं उपत्यकाको हकमा भक्तपुर मालपोतबाटै सर्वाधिक घरजग्गा किनबेच भएको छ। भक्तपुरपछि लगनखेल मालपोतबाट ९५१, कलंकीबाट ७२७, चाबहिलबाट ५४८, साँखुबाट ४८७, मनमैजुबाट २६५, डिल्लीबजारबाट २४७ र टोखाबाट १७६ लिखत पारित भएको छ।
गत वर्ष २०८०/८१ को चैतमा ४९ हजार ६१२ र २०७९/८० को चैतमा ४९ हजार १५० लिखत पारित भएको थियो। अर्थात् चैतको आँकडा तीन वर्षदेखि उस्तै देखिन्छ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेकाअनुसार चैत मसान्तमा ऋणको किस्ता वा ब्याजका कारण जग्गा बेच्ने बढेको हो।
घिमिरेले पछिल्ला केही महिनायता घरजग्गा बजारमा सकारात्मक प्रभाव देखिन थालेको दाबी गरे। घरजग्गा खरिदमा बैंकहरुले ल्याएका आकर्षक स्कीम पनि खरिदकर्ताहरुको रोजाइमा परिरहेको छ। त्यसले पनि कारोबार बढाउन केही हदसम्म भूमिका खेलेको घरजग्गा व्यवसायीहरुको बुझाइ छ।
‘केही महिनायता कारोबारमा केही आशा देखिन थालेको छ। कारोबार सुधार हुने संकेत पाइएको छ। बजारमा हलचल देखिएको छ,’ घिमिरेले भने।
संख्यात्मक हिसाबले घरजग्गाको कारोबार सर्वाधिक विन्दुमा पुगेपनि सरकारले उठाउने राजस्वले भने रेकर्ड ब्रेक गर्न सकेन। फागुनको तुलनामा चैतमा राजस्व भने बढी उठेको छ। चैतमा घरजग्गा किनबेचबाट ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ उठेको थियो। चालु वर्ष सबैभन्दा धेरै राजस्व पुसमा ४ अर्ब ६३ करोड रुपैयाँ उठेको थियो।
विभागकाअनुसार लगनखेल मालपोतले सर्वाधिक ३७ करोड ८९ लाख रुपैयाँ राजस्व उठाएको छ। त्यसपछि कलंकी मालपोतले ३३ करोड ४५ लाख, डिल्लीबजारले ३१ करोड ५६ लाख, चाबहिलले २९ करोड ८९ लाख, भक्तपुरले २७ करोड २५ लाख रुपैयाँ राजस्व उठेको छ।
त्यसैगरी, कास्कीले २३ करोड ८२ लाख, चितवनले १३ करोड ६७ लाख, धनगढीले ११ करोड ३८ लाख रुपैयाँ उठाएका छन्। इनरुवा, काभ्रे र साँखु मालपोतले १० करोड रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ।
गत वर्ष २०८०/८१ को चैतमा ४ अर्ब ३१ करोड र २०७९/८० को चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठेको थियो।