
काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरुसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम यकीन गरेर उठाउन निर्देशन दिएका छन्।
बक्यौता रकम उठाउन आफैं व्यवधान खडा गरेका खड्काले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्। उनले शाक्यलाई निर्देशन दिने क्रममा ऊर्जासचिव सुरेश आचार्य र सिंचाइ सचिव सरिता दवाडी तथा विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई साक्षी राखेका थिए।
मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले बक्यौता १५ दिनभित्र उठाउन निर्देशन दिएकामा खड्काले प्राधिकरणको बिल सच्याउने भन्दै कानुनले अधिकार नदिएको समिति गठन गरेर आफैं भाँजो हालेका थिए।
मन्त्री खड्काले प्राडा अरविन्दकुमार मिश्रको नेतृत्वमा मंसिर २ गते गठन गरेको समितिलाई सर्वोच्च अदालतले काम गर्न नदिन चैत ३ गते अन्तरिम आदेश दिएको थियो।
महसुल उठाउन ताकेतास्वरुप प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको लाइन काट्दा खड्काले जोड्न लगाएका थिए।