
काठमाडौं। विदेशी नेटवर्कहरूलाई तिर्नु परिरहेको वार्षिक २ अर्ब रुपैयाँको भार घटाउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल पे कार्ड ल्याएको छ।
डेटा लोकलाइजेसन र कस्ट अप्टिमाइजेसन गर्न भन्दै एनसीएचएलले नेपालको आफ्नै कार्ड ल्याएको हो। विदेशी नेटवर्कहरू भिसा, मास्टरकार्ड लगायतका प्रणालीमा मात्रै भर पर्नुपर्दा नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक भार परिरहेको छ। त्यसलाई घटाउने उद्देश्यले नै एनसीएचएलले नेपाल पे कार्ड रोलआउट गर्दैछ।
आगामी ५ वर्षभित्र एनसीएचएलले कार्ड सञ्चालनको इकोसिस्टमलाई आवश्यक पर्ने हार्डवेयर, जनशक्तिलगायतका शीर्षकमा ५० देखि ६० करोड रुपैयाँ लगानी गर्नेछ।
अहिले अन्तरबैंक एटीएम शुल्क प्रति कारोबार १५ रुपैयाँ लाग्छ। नेपाल राष्ट्र बैंकले नै तोकिदिएको १५ रुपैयाँको यो शुल्कमध्येबाट १० देखि १२ रुपैयाँ (डलरको दरमा निर्भर) कार्ड जारी गरेका बैंक तथा वित्तीय संस्थाहरूले विदेशी नेटवर्क भिसा, मास्टरकार्ड वा अन्यलाई कारोबार शुल्क तिर्ने गर्छन्। यसका साथै वार्षिक शुल्कसमेत बैंकहरूले ग्राहकबाट उठाउने गरेका छन्।
त्यसैगरी, पोइन्ट अफ सेल (पोस) मेसिनको प्रयोग गरेर कार्डबाट हुने कुल भुक्तानीको ०.५ देखि ०.७ प्रतिशत विदेशी नेटवर्कलाई कारोबार शुल्कबापत बैंकले तिरिरहेका छन्। अहिले एउटा कारोबारको टिकेट साइज औसतमा ६ देखि साढे ६ हजार रुपैयाँ छ। त्यसमध्येको ०.५ देखि ०.७ प्रतिशत रकम विदेशिने गरेको छ।
भिसा नेटवर्कमा आबद्ध हुन मात्रै कुनै पनि बैंकलाई ५० देखि ६० हजार डलर लाग्छ। मास्टरकार्डमा अझ बढी ८० हजार डलर जति लाग्छ।
वार्षिकरुपमा झण्डै २ अर्ब रुपैयाँ नेपालका बैंक तथा वित्तीय संस्थाहरूले भिसा, मास्टर कार्डसहितका विदेशी नेटवर्कलाई शुल्क भुक्तानी गरिरहेका छन्। राष्ट्र बैंकले तोकेको १५ रुपैयाँको शुल्कले बैंक तथा वित्तीय संस्थाहरूलाई घाटा परिरहेको बताउने गरेका छन्।
क्यास/कार्ड ह्यान्डलिङदेखि ग्राहकको व्यवस्थापन गर्न मात्रै बैंकहरूको खर्च २० देखि २२ रुपैयाँ भइरहेको छ। बैंकहरूले ‘ब्लिङ’ गरेरै कार्डसम्बन्धी सेवा दिइरहेका छन्।
२०७९ माघमा राष्ट्र बैंकले नै २० रुपैयाँसम्म शुल्क लिइरहेका बैंकहरूलाई कस्दै अन्तर-बैंक एटीएम प्रयोगको शुल्क १५ रुपैयाँमा झारिदिएको थियो। जसका कारण बैंक तथा वित्तीय संस्था थप घाटा खान बाध्य भए। निरन्तर घाटा बेहोरिरहेका बैंकहरूले कार्डको नेटवर्कलाई कसरी सस्तो बनाउन सकिन्छ भनेर अनेकौं विकल्पमा ‘ब्रेनस्ट्रोम’ गरे।
कारोबार शुल्क घटाएर १५ रुपैयाँ पुर्याइदिएको राष्ट्र बैंकले त्यसलाई बढाउन बाटो नदेखेपछि बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत सेयर स्वामित्व रहेको एनसीएचएललाई उपयोग गरेर घाटामा चलाउनु परेको कार्डको व्यवसायलाई तङ्ग्राउने प्रयत्न भयो। एनसीएचएलको बाँकी ९.४५ प्रतिशत सेयर स्वामित्व बोकेको राष्ट्र बैंकले समेत यसलाई सहयोग गर्ने वाचा गर्यो। त्यसपछि स्वयम् एनसीएचएल नेपालको आफ्नै कार्ड स्कीम ल्याउने प्राविधिक तयारी तीव्र बनायो।
त्यसैको फलस्वरुप २ साताअघि एनसीएचएलले एनपीएस-नेसनल कार्ड स्वीच (एनपीएस-एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपाल पे कार्ड)को पूर्वाधार तयार भएको घोषणा गर्यो। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले नेपाल पे कार्डको प्रयोग गरेर पोस र एटीएमबाट कारोबार गर्दै भुक्तानी पूर्वाधार तयार भएको जनाउ दिएका थिए।
नेपालबाट तत्कालै विदेशी नेटवर्कमा चलिरहेका कार्डलाई विस्थापित गर्नेभन्दा पनि बैंकहरूले कार्ड संचालनमा बेहोरिरहेको घाटा कम गराउने उद्देश्यले नेपाल पे कार्ड ल्याउन खोजिएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले जानकारी दिए। उनका अनुसार देशभित्रकै नेटवर्क भएपछि शुल्क घट्ने अवस्था आउने भए पनि तत्कालका लागि बैंकहरूले व्यहोरिरहेको घाटा कम गर्नेतर्फ एनसीएचएल अघि बढेको छ।

कारोबार शुल्क बढी हुँदा मर्चेन्टहरू समेत पोस मेसिन राख्न अनिच्छुक देखिएको अवस्थामा नेपाल पे कार्डको प्रयोगले त्यस्तो स्थिति फेरिन सक्ने उनको भनाइ छ।
‘भिसा नेटवर्कमा आबद्ध भएको कार्ड घोटेर कुनै ग्राहकले भुक्तानी गर्दा मर्चेन्टलाई १.१ देखि २ प्रतिशतसम्म भार पर्छ। यसैको कारण धेरै स्थानमा पोस मेसिनबाट भुक्तानी निरुत्साहित भइरहेको छ। रिटेलरहरूको मार्जिन नै ४-५ प्रतिशत हुन्छ। कार्ड सर्वस्वीकार्य नहुनुको कारण पनि यही हो। त्यसैले हामीले यस्ता शुल्क घटाउन सक्यौं भने पनि मर्चेन्टदेखि बैंकहरूलाई राहत पुग्छ,’ प्रधानले बिजमाण्डूसँग भने, ‘नेपालको कार्ड भुक्तानीमा विदेशी नेटवर्कको भूमिका महत्त्वपूर्ण छ। नेपाल पे आएपछि त्यसलाई विस्थापित गर्न खोज्दैछ भन्नु हुँदैन। बैंकहरूलाई अब भिसा, मास्टरकार्ड जारी गर्ने कि नेपाल पे कार्ड जारी गर्ने भन्ने विकल्प हुने भयो।’
उनका अनुसार नेपाल पे कार्ड मर्चेन्टहरूका लागि अहिलेकोभन्दा सस्तो हुने जानकारी दिए। अन्तर्राष्ट्रिय नेटवर्कको तुलनामा शुल्क कम हुने भएकाले अहिले मर्चेन्टले कार्डपिच्छे फरक-फरक राख्नुपर्ने पोस मेसिन राख्नुपर्ने झन्झटसमेत हट्ने एनसीएचएलको विश्वास छ।
नेपालको आफ्नै नेटवर्क हुने भएकाले एनसीएचएलको नेपाल पे कार्ड बैंकहरूका लागि कम खर्चिलो हुने देखिन्छ। बैंकदेखि मर्चेन्टहरूले विदेशी नेटवर्क र नेपाल पे कार्डको ‘कस्ट बेनिफिट’ मूल्यांकन पक्कै गर्छन्। लागत महँगो परिरहेकाले बैंकहरूले समेत नयाँ खाता खोल्ने वा कायम रहेका ग्राहकहरूलाई नेपाल पे कार्ड जारी गर्ने विकल्पलाई प्राथमिकता दिने सम्भावना देखिन्छ।
नेपाल पे कार्डको शुल्क के कति लाग्छ भनेर एनसीएचएलले सार्वजनिक गरिसकेको छैन। अन्तर-बैंक एटीएम शुल्क र राजस्व भुक्तानीमा लाग्ने शुल्कबाहेक राष्ट्र बैंकले समेत विद्युतीय भुक्तानीमा लाग्ने शुल्क बजारलाई नै छोडिदिएको छ। यसकारण नेपाल पे कार्डको शुल्क पनि बजारलाई नै छोड्ने मनस्थितिमा राष्ट्र बैंक छ।
विदेशी नेटवर्कहरूले नेपालमा संचालन गरिरहेको कार्ड सेवाको हकमा पनि राष्ट्र बैंकले शुल्क तोक्ने काम गरेको छैन। ग्लोबल प्राइसिङअनुसार नै विदेशी नेटवर्कहरूले नेपालमा शुल्क लगाइरहेका छन्। एनसीएचएलले भने अहिलेको शुल्कभन्दा कममा नेपाल सुहाउँदो दर तोक्ने तयारी गरिरहेको छ।
नेपाल पेले सुरुमा डेबिट कार्ड जारी गर्दैछ। त्यसपछि क्रेडिट र प्रिपेड कार्ड पनि जारी गर्नेछ। सीइओ प्रधानका अनुसार नेपाल पेको फिजिकलसँगै भर्चुअल कार्ड पनि ल्याउने योजनामा एनसीएचएल छ। नेपाल पेको कार्डमा प्रयोग हुने प्रविधि नेपालमा बनेको भने होइन। विदेशी नेटवर्कबाटै चिप, स्वीचसहितको पूर्वाधार एनसीएचएलले ‘प्रोक्योर’ गरेर ल्याउने छ।
कुनै एउटा विदेशी नेटवर्कसँग साझेदारी गरिने भएकाले भुक्तानी सुरक्षाको सवालमा कुनै कमी हुन नदिने प्रधानले जानकारी दिए। एनसीएचएलको प्राविधिक तयारीको अन्तिम प्रमाणीकरणसमेत विदेशी नेटवर्कबाट भइरहेकाले कारोबार सुरक्षित हुने अपेक्षा गरिएको छ। नेपालको आन्तरिक कार्ड स्कीम भए पनि अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिएको बताइएको छ।

नेपाल पे कार्ड कसरी चल्छ अहिलेका एटीएम र पोस मेसिनमा?
एनसीएचएलसँग नेपाल पे कार्ड स्कीमको स्वामित्व रहन्छ। त्यसलाई एनसीएचएलकै नेसनल पेमेन्ट स्वीचमार्फत संचालन गरिन्छ। ग्राहकलाई नेपाल पे कार्ड दिने काम बैंक तथा वित्तीय संस्थाको हुनेछ। बैंकहरूले आजको दिनमा जुन स्वीच चलाइरहेका छन् त्यसमा नेपाल पे कार्ड चल्ने गरी केही परिवर्तन गर्नुपर्छ। एनसीएचएलले चलाउने स्वीच सेन्ट्रल स्वीचको रुपमा काम गर्छ।
त्यसको मातहतमा बैंक तथा वित्तीय संस्थाहरूले चलाउने स्वीच जोडिएपछि एटीए र पोस मेसिनमा नेपाल पे कार्ड चल्छ। ग्राहकको तर्फबाट हेर्दा एटीएम र पोस मेसिन भुक्तानीमा खासै फरक नपर्ने एनसीएचएलले जनाएको छ।
शुल्क र डेटा लोकलाइजेसनको इकोसिस्टममा नेपाल पे कार्डले अहिलेको भन्दा फरक परिस्थिति निर्माण गर्ने देखिन्छ। एनसीएचएलको यो प्रणालीमा १३ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। हिमालयन बैंकबाहेक अरु बैंकहरूले स्वीच लगायतका पूर्वाधार तयार गरिरहेका छन्।