
काठमाडौं। शिक्षा क्षेत्रमा एग्रेसिभरुपमा लगानी गरेको आईएसएमटी समूह हवाई उड्डयन क्षेत्रमा प्रवेश गर्ने भएको छ। समूहले नेपाल जेट एयरलाइन्स कम्पनी स्थापना गरेर उडान इजाजतका लागि पर्यटन मन्त्रालयमा आवेदन दिएको छ।
समूहका संस्थापक योगेश उप्रेतीले आन्तरिक हवाई उडानमा ठूलो सम्भावना देखेर लगानी गर्न लागेको बताए। उनका अनुसार सरकारबाट अनुमति पाएको डेढ वर्षभित्र उडान सुरु गर्ने तयारी छ।
‘हामीले पर्यटन मन्त्रालयमा उडान इजाजतका लागि आवेदन दिइसकेका छौं। स्वीकृति पाउनेवित्तिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया सुरु गर्छौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामी सुरुमा तीनवटा जहाज ल्याएर पोखराबाट उडान सुरु गर्ने योजनामा छौं।’
कम्पनी एटीआर ७२-६०० सिरिजका जहाजमार्फत उडान सेवा दिने योजनामा छ। कम्पनीले ५ वर्षभित्र अनुमानित १० अर्ब रुपैयाँ लागतमा १२ देखि १५ वटा एटीआर ७२-६०० सिरिजको जहाजमार्फत आन्तरिक उडान गर्ने व्यावसायिक योजना बनाएको छ।
उप्रेतीका अनुसार सन् २०२६ सेप्टेम्बर २६ बाट नियमित उडान सुरु गर्ने गरी गृहकार्य भइरहेको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै ओभरक्राउड भइसकेको छ। हामीले पोखरा बेस बनाएर मुलुकका विभिन्न आन्तरिक गन्तव्यमा उडान गर्न अध्ययन थालिसकेका छौं,’ उनले भने।

उनका अनुसार कम्पनीले पोखराबाट काठमाडौं, भैरहवा लगायत गन्तव्य र काठमाडौंबाट विराटनगर, जनकपुर लगायत गन्तव्यमा नियमित व्यावसायिक उडान गर्ने योजना बनाएको छ।
प्रिमियम सेवा दिने उद्देश्यले एटीआरको लेटेस्ट मोडल ल्याउन लागेको उप्रेतीले बताए।
कम्पनीले सुरुमा ३ वटा जहाज खरिद गर्नेछ। ‘हामी अहिले विभिन्न बैंकसँग छलफल गरिरहेका छौं। जहाज खरिदका लागि पनि नेगोसिएसन सुरु गर्दैछौं,’ उनले भने।

आइपीओपछि अन्तर्राष्ट्रिय उडान
कम्पनी अन्तर्राष्ट्रिय उडान पनि गर्ने योजनामा छ। आन्तरिक उडान गरेको पाँच वर्षपछि आइपीओ जारी गरी अन्तर्राष्ट्रिय उडानमा जाने उप्रेतीले जानकारी दिए।
‘हामी एक पटक लगानी गरी भाग्ने गरी आएका होइनौं। २-४ वर्षको लगानीमा अडिने उद्योग होइन यो। हामी ५ वर्ष निरन्तर चुस्त सेवा प्रवाह गरी अन्तर्राष्ट्रिय उडानमा विस्तार हुनेछौं,’ उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय उडानकै लागि हामी आइपीओमा जानेछौं।’

एटीआर ७२-६०० नै किन?
विश्वभर एटीआर ७२-५०० जहाजको प्रयोग कम हुँदै गएकोले लेटेस्ट जहाज ल्याउने योजना बनाएको उप्रेतीले बताए।
सन् २००७ मा उत्पादन सुरु भएको यो सिरिजको जहाजमा ७८ सिट क्षमता छ। एटीआरका अनुसार, क्षेत्रीय उडान प्रयोजनको यो जहाजमा सञ्चालन खर्च अरु जेटको तुलनामा वार्षिक ४५ प्रतिशत कम हुन्छ।
यात्रु र व्यवसायीमैत्री अवधारणामा तयार गरिएको यो जहाजले छोटो धावनमार्गमा पनि सहजै उडान-अवतरण गर्न सक्छ।
‘यो जहाजमा अत्याधुनिक प्रविधिसहितको ककपिट छ। हामीले अध्ययन गरे अनुसार जहाज सेफ्टीको हिसाबले तुलनात्मकरुपमा अब्बल छ,’ उनले भने, ‘नयाँ जहाजमा यात्रुको पनि आत्मविश्वास रहन्छ।’
उनका अनुसार कम्पनीले पहिलो २ वर्षमा एटीआर ७२-६०० सिरिजको ६ वटा जहाज ल्याउनेछ। पहिलो चरणमा कम्पनीले ५-६ अर्ब रुपैयाँ खर्चिने उनले जानकारी दिए। ‘५ वर्षभित्र १०-१२ वटा जहाज खरिद गर्ने र १० अर्ब रुपैयाँसम्म लगानी गर्ने हाम्रो तयारि छ,’ उनले भने।
आईएसएमटी समूहक दुई वर्ष अध्ययन गरेर हवाई उड्डयनमा प्रवेश गर्न लागेको हो।

क्यास वर्निङ व्यवसायमा किन ?
उड्डयन क्षेत्र क्यास वर्निङ व्यवसाय भएकाले ठूलै व्यावसायिक घराना समेत लगानी गर्न डराउँछन्। तर, शिक्षा क्षेत्रबाट आर्जित पैसा किन यो क्षेत्रमा लगाउँदैछ आइएसएमटी समूहले?
‘हामीले सम्भावना देखेर यो क्षेत्र रोजेका हौं। अहिले आन्तरिक उडान गरिरहेका कम्पनीहरुका बीच पनि राम्रै स्पेस बाँकी छ,’ उप्रेतीले भने, ‘संचालनमा रहेका कम्पनीहरुका आफ्नै समस्या र सम्भावना छन्। त्यसैभित्र प्रिमियम क्लासको सेवा दिएर सफलता हात पार्न सकिन्छ भन्ने अध्ययनबाट देखेका छौं।’
पर्यटन क्षेत्रमा आईएसएमटी समूहले अपार सम्भावना देखेर उड्डयन क्षेत्रमा लगानी गर्न लागेको हो।
आईएसएमटी ब्राण्डमा मुलुकभर ५ वटा अन्तर्राष्ट्रियस्तरका कलेज सञ्चालनमा छन्। समूह अन्तर्गतका शैक्षिक संस्थामा ५०० भन्दा बढीले रोजगार पाएका छन्।