
काठमाडौं । गैरआवासीय नेपाली शेष घलेले १२ वर्षअघि कान्तिपथमा लक्जरियस होटल शेराटन निर्माण थालेका थिए। अनेकौं व्यवधान छिचोल्दै होटल निर्माण अन्तिम चरणमा पुर्याएका छन्।
होटल निर्माणमा ढिलाई भएपछि धेरैको प्रश्नको सामना पनि उनले गरिरहे। नाकाबन्दी, कोभिड-१९, सरकारका प्रशासनिक झन्झट् ब्यहोरेर होटल निर्माणको आकार तयार पारेका घलेलाई त्यही प्रोपर्टी बेच्न लागेको प्रश्नले धेरै नै घोच्यो।
घलेलाई लाग्यो यो प्रश्नको उत्तर केही नयाँ प्रोजेक्ट सुरु गरेरै दिनुपर्छ। त्यही योजना अनुसार घलेले भक्तपुरको घ्याम्पेडाँडामा ६ अर्बको लक्जरियस रिसोर्ट निर्माण सुरु गरेका छन्। समिट होटलका संस्थापक अमृतरत्न शाक्यसँग मिलेर सय रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको होटल तीन वर्षभित्र संचालनमा ल्याउने योजनामा उनी छन्।
सम्बन्धित समाचार : शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
‘काठमाडौं वरपर हामीले पर्यटकीय पूर्वाधार विस्तारका लागि अध्ययन गर्दै आएका थियौं। पछिल्लो १५ वर्षदेखि वैदेशिक लगानी ल्याउँदा धेरै नै संघर्ष झेल्दै आएका छौं,’उनले बिजमाण्डूसँग भने,’यत्रो संघर्ष गरेर यहाँ सम्म आइपुग्दा होटल बिक्रीको कुरा पनि सुनियो। यो कुराले मलाई केही नमिठो पनि लाग्यो।’
उनले होटल निर्माणमा ढिलाई हुँदा लागत बढे पनि बिक्री गरेर जाने पक्षमा आफू कहिले पनि नरहेको स्पष्ट पारे।
‘हामी नेपालमा जन्मिएर विदेशमा गएर अध्ययन गर्यौं। व्यवसाय गर्यौं। अब जन्मभूमिमा केही गरौं भनेर लगानी सुरु गरेका हौं,’ उनले भने,’त्यसरी गरेको लगानी बिक्री गर्ने होइन बरु थप लगानी नेपालमा गर्छौं।’

उनले देशभित्र रहेको निराशालाई तोड्नकै लागि नयाँ वर्षमा भक्तपुरमा होटल सुरु गरेको बताउँदै अरु ठाउँमा पनि हस्पिटालिटीमा लगानी गर्ने योजना रहेको समेत सुनाए।
सम्बन्धित समाचार : नयाँ वर्षकै दिन भक्तपुरमा ६ अर्ब रुपैयाँको होटल प्रोजेक्ट सुरु, तीन वर्षमा तयार हुने
घलेले शेराटन र स्वनिगः लगत्तै बालुवाटारमा लक्जरियस अन्तर्राष्ट्रिय चेन होटल संचालनमा ल्याउने व्यावसायिक योजना रहेको बताएका छन्। घलेका अनुसार चार अर्ब रुपैयाँमा अर्को होटल सुरु हुनेछ।
‘हामी आशावादी नभएको भए कान्तिपथको प्रोजेक्ट पहिलानै रोक्थ्यौ होला। यो अवस्थासम्म होटल आउँदैन्थ्यो,’ घलेले भने, ‘मलाई ल्याण्ड र पोपर्टी मनपर्छ। मैले अष्ट्रेलियामा सिकेको कुरा पनि यही हो। मलाई बिक्री गर्नभन्दा खरिद मन पर्छ। हाम्रो लागि खरिद गर्नु ठूलो अवसर हो।’
घलेले त्यही भएर कान्तिपथमा शेराटनभन्दा पनि उच्चस्तरीय ब्राण्ड भित्र्याउने तयारी गरिरहेका छन्। ६ महिनाभित्र निर्माण सक्ने र जेडब्लु मेरियट उनको प्राथमिकतामा छ।

‘लक्जरियसमा गइसकेपछि शेराटनको पुनः अध्ययन गर्यौं। शेराटन पुरानो ब्राण्ड भइसकेको निष्कर्षमा हामी पुग्यौं,’ उनले भने,’यसमा जेडब्लु मेरियट ल्याउने सोचमा छौं। तर, निर्णय भने भइसकेको छैन।’
जेडब्लु मेरियट कस्तो छ ?
मेरियट अन्तर्गत रहेको ७ वटा लक्जरी ब्राण्ड मध्ये जेडब्लु एक हो। घलेले ल्याउन लागेको मेरियोटको यो ब्राण्ड नेपालकै लागि पहिलो अन्तर्राष्ट्रिय लक्जरी हुनेछ।
जेविलार्ड मेरियटको अवधारणा अन्तर्गत रहेको यो लक्जरी ब्राण्ड विश्वभर ३५ वटा मुलुकमा संचालित छ। जस अन्तर्गत १०० वटा भन्दा बढी होटल संचालित छन्।
अहिले नेपालमा प्रिमियममा मेरियट काठमाडौं रहेको छ भने सेलेक्ट अन्तर्गत फेयरफिल्ड र अलोफ्ट रहेका छन्।