
विमान उत्पादक कम्पनी बोइङेले १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केली अर्टबर्गले केही महिनामा नै सो कटौती कार्यान्वयन हुने बताएका हुन्।
बोइङ विमानमा धेरै समस्या देखिन सुरु भएपछिको अफ्ठेरो परस्थितिमा केलीले दुई महिना अघिमात्रै कम्पनीको नेतृत्व गरेका हुन्।
उनले कम्पनीको व्यापार एकदमै गाह्रो अवस्थामा रहेको भन्दै चुनौतीहरुको सामना गर्न गाह्रो भइरहेको बताएका छन्।
हाल बोइङले कर्मचारीको हड्तालको सामना पनि गरिरहेको छ।
पछिल्लो ५ वर्षमा कम्पनीले ३३ बिलियन अमेरिकी डलर (४४ खर्ब ३१ अर्ब रुपैयाँ भन्दा बढी) गुमाइसकेको छ। त्यसमाथि विमानमा पटकपटक खराबी देखिँदा ‘ब्रान्ड भ्यालु’ समेत घटिरहेको छ।
‘कम्पनी बचाउनका लागि कडा निर्णयहरु लिनुपर्ने बेला भइसकेको छ,’ उनले कर्मचारी कटौतीतर्फ इंगित गर्दै भने।
हाल बोइङमा विश्वभरबाट करिब १ लाख ७१ हजार कर्मचारी काम गर्छन्। जसमा अमेरिकामा मात्रै १ लाख ४७ हजार छन्।
सन् २०१८ र २०१९ मा बोइङको दुईवटा जहाज ‘क्रयास’ भएधको थियो। जसकारण विश्वभर बोइङको विमान करिब २० महिना ग्राउन्डेड भएको थियो।
त्यसपछि सन् २०२० मा कोरोना भाइरस महामारीमा पनि कम्पनीले ठूलो घाटा ब्यहोर्यो।
यही वर्षको जनवरीमा अलस्काको बोइङ विमान उडिरहँदा ढोका नै उडेको थियो। अनुसन्धानका क्रमा विमानको ‘बोल्ट’हरु राम्ररी नकसिएको पाइएको थियो। त्यसयता बोइङका कयौं विमान ग्राउन्डेड भए। विमान कम्पनीसँगै यात्रुहरुलाई समेत कम्पनीले क्षतिपूर्ति दिनु परेको छ।