बोइङले पाँच वर्षअघि भएको विमान दुर्घटनामा २४३.६ मिलियन अमेरिकी डलर (३२ अर्ब ५५ करोड रुपैयाँ बराबर) जरिवाना तिर्ने भएको छ। अमेरिकी वायुसेवा नियामकले गरेको अनुसन्धानमा कम्पनी दोषी पाइएको थियो। बोइङले पनि आफ्नो गल्ती स्वीकार्दै जरिवाना तिर्न राजी भएको हो।
बोइङको दुईवटा ७३७ म्याक्स विमान दुर्घटनामा ३४६ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो।
विमान दुर्घटनामा मृत्यु भएकाको परिवारका सदस्यले भने यसलाई ‘स्वीटहार्ट डिल’ भन्दै आलोचना गरेका छन्। बोइङले गल्ती स्वीकारेपछि दुर्घटनामा भएको मृत्युबारे उसले थप जिम्मेवारी लिनुपर्दैन। र, थप कानुनी कारबाही पनि भोग्नुपर्दैन। पीडित परिवारले बोइङमाथि फौजदारी मुद्दा चलाउनुपर्ने माग राख्दै आएका थिए।
आलोचनाबीच सो ‘डिल’लाई अमेरिकी न्यायाधीशले स्वीकृत गरिसकेको छ।
सन् २०१८ र सन् २०१९ मा भएको दुईवटा विमान दुर्घटनामा बोइङको ‘सेफ्टी रेर्कड’ मा ठूलै गढबढ देखिएको थियो। नियामकलाई नै झुक्याएर बोइङले कन्ट्रोल सिस्टमबारे भ्रम छर्ने प्रयास गरेको आरोप लगाइएको थियो। बोइङले जरिवाना तिरे र विमानको पूर्ण ‘मोनिटरिङ’ र ‘रिपोर्टिङ’ गरे मुद्दा नचलाउने भनिएको थियो।
तर गत जनवरीमा उड्दै गरेको बोइङ विमानको सिसा फुटेपछि कम्पनीले निकै आलोचनाको सामना गर्नुपर्यो। बोइङका अन्य विमानमा पनि समस्या देखियो भने कम्पनीमा काम गरेका कर्मचारीले विमान ‘मोनिटरिङ’मा ठूलै गल्ती गरेको आरोप लगाएका थिए। जसकारण कयौं बोइङ विमान ग्राउन्डेड गरिएको थियो।