बर्सेनि कर बढ्दा संकटमा परेको एउटा चर्चित मदिरा उद्योग, व्यवसाय सिध्याइदिने कि राजस्व जोगाउने

अनन्तराज न्यौपाने
२०८२ जेठ १३ गते ०९:०४ | May 27, 2025
बर्सेनि कर बढ्दा संकटमा परेको एउटा चर्चित मदिरा उद्योग, व्यवसाय सिध्याइदिने कि राजस्व जोगाउने


विराटनगर। विराटनगरको नेपाल लिकर्स कम्पनीले गत वर्षको वैशाखमा २८ करोड रुपैयाँ अन्तःशुल्क बुझाएको थियो। उद्योगको प्रति वर्ष खस्कँदो व्यापार यस वर्ष अझ तल झरेको छ।

Tata
GBIME

यस वर्षको वैशाखमा यही उद्योगले अन्तःशुल्क शीर्षकमा ११ करोड मात्र बुझाएको छ। यसरी उद्योगको कारोबार एक वर्षमै ६१ प्रतिशतले ह्रास भएको छ। आन्तरिक राजस्व विभागका एक निर्देशकका अनुसार उद्योगले पुस महिनासम्मको अन्तःशुल्क अघिल्लो वर्षकै बराबर बुझाइरहेको थियो।

तर, माघ लागेपछि भने निकै घटेको छ। वैशाखसम्म आइपुग्दा ६१ प्रतिशतले घटिसकेको छ। ‘राजस्व किन कम आइरहेको छ भनेर उद्योगलाई प्रश्न गर्दा बजारमा माग नै छैन भन्ने उत्तर आउँछ। उत्पादन बजारमा नगएपछि अन्तःशुल्कको रकम पनि आउँदैन,’ विभागका निर्देशकले भने।

उद्योगले ठुला करदाता कार्यालयमा भ्याटको रकम पनि लामो समय तिर्न सकेको थिएन । कार्यालयले धेरै पटक पत्राचार गर्दा समेत उद्योग सञ्चालकले भ्याटको रकम बुझाउन अटेर गरिरहे।

नेपाल लिकर्सका ब्रान्ड भारतबाट तस्करी भएर देशका सीमावर्ती बजारमा त व्याप्त छँदैछन्, काठमाडौं, पोखरा नारायणगढ र हेटौंडाजस्ता भित्री बजारमा पनि छ्याप्छ्याप्ती पाइन्छन्।

ठुला करदाताले अन्ततः भ्याटको रकम चुक्ता नगरे कारोबार नै रोकिदिने र भ्याट दर्ता समेत निलम्बन गर्ने चेतावनी दिएपछि उद्योगले किस्ताबन्दीमा उक्त राजस्व बुझाएको छ।

विभागका ती निर्देशकले भने, ‘भ्याट बक्यौताको जरिबाना र ब्याजको रकम ठूलो हुन्छ। हामीले बारम्बार सम्झाउँदा समेत उद्योगले वास्ता गरेको थिएन। कारोबार रोक्ने चेतावनीपछि सबै चुक्ता भइसकेको छ र अहिले समयमा नै भ्याट दाखिला भइरहेको छ।’

काठमाडौंका प्रतिष्ठित उद्योगपति भक्तवीरसिंह तुलाधर (हाल दिवंगत)ले भारतका विजय माल्यासितको साझेदारीमा खोलेको यो उद्योग यसरी प्रति वर्ष संकटग्रस्त हुँदै जानुको मुख्य कारण भारतबाट तस्करी भई आउने मदिरा नै हो। माल्या टाट उल्टिएपछि बहुराष्ट्रिय कम्पनी डीआइजियोले लिकर कम्पनी किनेको थियो।

भक्तवीरको निधनपछि उद्योगको सञ्चालन उनका छोरा राजेशवीर सिंह तुलाधरले गरिरहेका छन्।

उद्योग चरम आर्थिक संकटमा परेपछि राजेशले विगत ३ वर्षदेखि उद्योग परिसरको ३ बिघा जग्गा बिक्रीमा राखेका छन्। तर हालसम्म कुनै खरिदकर्ता आएको छैन। ‘उद्योगै-उद्योगको माझमा भएकाले त्यो बसोबासयोग्य भूमि भएन। त्यो जमिन उद्योग स्थापना गर्न नै खरिद गर्ने हो तर त्यति महँगो ठाउँमा उद्योग राख्न कोही जाँदैन। त्यसैले जमिन विक्री हुन नसकेको हो,’ एक जग्गा व्यवसायीले भने।

किन संकटमा पर्‍यो उद्योग ?
नेपाल सरकारले मदिरामा लगाउँदै आएको अन्तःशुल्कको दर चर्को गर्दै लगेको छ। यसका कारण नेपालमा ब्राण्डेड मदिरा बर्सेनि महँगो हुँदै गएका हुन्। नेपाल लिकर्सले जुन ब्रान्ड उत्पादन गर्छ ती ब्रान्डका मदिरा भारतमा लगभग आधा सस्तोमा पाइन्छन्।

नेपाल लिकर्सका ब्रान्ड भारतबाट तस्करी भएर देशका सीमावर्ती बजारमा त व्याप्त छँदैछन्, काठमाडौं, पोखरा नारायणगढ र हेटौंडाजस्ता भित्री बजारमा पनि छ्याप्छ्याप्ती पाइन्छन्।

मदिरा व्यवसायीले देशभरिका कतिपय पार्टी प्यालेसदेखि होटल र रेस्टुरेन्ट सम्मले तस्करीकै मदिरा प्रयोग गर्ने गरेको बताएका छन्।

कम्पनीको उत्पादन सिग्नेचर रेड ह्विस्की ७५० एमएलको नेपालमा उपभोक्ता मूल्य २ हजार ६७२ रुपैयाँ हो। तर, नेपालसित सिमाना जोडिएको भारतको पश्चिम बंगाल प्रान्तमा यो मदिरा भारु ८६० मा पाइन्छ। यो भनेको नेरु १ हजार ३७६ हो।

त्यस्तै नेपालमा सिग्नेचर रियल ह्विस्की ७५० एमएलको अन्तिम उपभोक्ता मूल्य २ हजार ५८० रुपैयाँ छ। उता पश्चिम बंगालमा भारु ८४० अर्थात् नेरु १३ सय ४४ मा पाइन्छ।

नेपाल लिकर्सकै अर्को उत्पादन स्मिरनोफ भोड्का ७५० एमएलको एमआरपी नेपालमा २ हजार २४० र पश्चिम बंगालमा भारु ८ सय अर्थात् नेरु १ हजार २८० छ। यही उद्योगको अर्को ह्विस्की एन्टीक्विटी ७५० एमएलको नेपालको उपभोक्ता मूल्य ३ हजार १ सय हो। उता पश्चिम बंगालको खुला बजारमा भारु १ हजार १ सय नेरु १ हजार ७६० मा सजिलै पाइन्छ।

उद्योगका अधिकृत बिक्रेता सुरेशमान श्रेष्ठका अनुसार पश्चिम बंगालबाट नेपालको पूर्वी क्षेत्र र उत्तर प्रदेशबाट पश्चिम क्षेत्रमा मदिराको तस्करी ठूलो मात्रामा हुने गरेको छ। खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण तस्करी फस्टाएको हो।
व्यवसायी श्रेष्ठले भने, ‘सरकारले तस्करी नियन्त्रण गर्न त नसक्ला वा नचाहला तर अन्तःशुल्क लगायतका राजस्वका दरमा कटौती गरेर मदिराको मूल्य भारतको बराबर बनाउन सक्छ।’

श्रेष्ठले नेपालमा मदिराको मूल्य भारतकै समान बनाउने हो भने आन्तरिक कारोबार फस्टाउने र राजस्वमा पनि वृद्धि हुने जिकिर गरे।

नेपाल लिकर्सका सञ्चालक राजेशवीर सिंह तुलाधरले सरकारले नेपालमा भन्दा भारतमा मदिराको मूल्य सस्तो हुँदा अवैध आयातको ठूलो समस्या भएको तथ्य बुझेको बताए। ‘सरकारलाई जानकारी नभएको होइन। उसलाई सबै थाहा छ। हामीले गर्नसक्ने के छ र? हुनुपर्ने सरकारकै तर्फबाट हो’ उनले भने।

एकातिर तस्करीले बजार बिगारेको त छँदैछ अर्कातिर नेपाल सरकारले मदिराको अन्तःशुल्कको दरमा प्रति वर्ष वृद्धि गरिरहेको छ । यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक मञ्चबाटै अबको बजेटमा पनि मदिरा र चुरोट दुवैको अन्तःशुल्क भारी दरमा वृद्धि गरिने जानकारी दिइसकेका छन्।

चालु आर्थिक वर्षमा १५, २५, ३०, ४०, ५० र ७० युपीको मदिरामा प्रति लिटर क्रमशः १८६०, १३९०, १२९०, ६५०, ४९० र ६० रुपैयाँ अन्तःशुल्क छ। गत आर्थिक वर्षमा उक्त दर क्रमशः १८००, १३४५, १२५०, ६३०, ४८५ र ५० रुपैयाँ थियो।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा क्रमशः १७५०, १३०६, १२१५, ६१०, ४७२ र ४२ तथा २०७८/७९ मा १५९२, ११८८, ११०५, ५५५, ४५० र ४२ रुपैयाँ कायम थियो।

सरकारले कोभिडको संकट भन्दै आर्थिक वर्ष २०७७/७८ मा भने मदिरामाथिको अन्तःशुल्कमा वृद्धि गरेन। उक्त आवमा अघिल्लो आव २०७६/७७ कै अन्तःशुल्कको दरलाई निरन्तरता दिइएको थियो। जसअनुसार १५, २५, ३०, ४०, ५० र ७० युपीमा एक लिटरको १३२५, ९९०, ९२०, ४६५, ३७५ र ३५ रुपैयाँ थियो।

नेपाल मदिरा व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष सोनाम शेर्पाले सरकारको चर्को राजस्वनीतिको मारमा परेर नेपालका ८० प्रतिशत मदिरा उद्योग घाटामा सञ्चालन भइरहेको बताए।

नेपालमा मदिराको मूल्य भारतकै समान बनाउने हो भने आन्तरिक कारोबार फस्टाउने र राजस्वमा पनि वृद्धि हुन्छ।

अध्यक्ष शेर्पाका अनुसार देशभरि लगभग एक सय मदिरा उद्योग छन्। तीमध्ये ५–७ वटा मात्र फाइदामा चलेका छन्। अधिकांश मदिरा उद्योगले कामदार र कर्मचारीको पारिश्रमिक समयमा भुक्तानी गर्न सकिरहेका छैनन्। यी उद्योग आधाभन्दा कम क्षमतामा चलिरहेका छन्। कम्तीमा २० वटा उद्योग बन्द भइसकेका छन्। यो संकटको कारण अन्तःशुल्कको चर्को दर र यसबाट उत्पन्न अवैध आयात नै हो।

शेर्पाले सरकारले फेरि पनि अन्तःशुल्कको दरमा वृद्धि गरे अवैध आयात अझ फस्टाएर उद्योग बन्द हुने क्रम झन् तीव्र हुने बताए। ‘पहिले-पहिले नेपालबाट भारततर्फ मदिराको अवैध निर्यात हुन्थ्यो। अहिले जमाना उल्टो भएको छ। अब भारतबाट तस्करी भएर आइरहेको छ। सरकारको करनीतिले यस्तो भएको हो,’ उनले भने।

उनले भारतको बजारमा मदिराको एमआरपीभन्दा नेपालको अन्तःशुल्कको दर बढी भएको बताए। शेर्पाको प्रश्न छ, ‘हामीले कतिसम्म पाएका छौं भने भारतको बजारमा २५ युपीको मदिरा ७५० एमएलको जुन मूल्य छ, त्योभन्दा बढी नेपालमा अन्तःशुल्कको दर छ। अनि किन फस्टाउँदैन तस्करी? अनि कसरी चल्छन् त नेपालका उद्योग?’