बोइङले कर्मचारीहरूको हड्ताल रोक्न २५ प्रतिशत तलब वृद्धि गर्ने प्रस्ताव गरेको छ। असेम्ब्ली लाइन नै रोकिने अवस्था आउने देखेपछि बोइङले कर्मचारी युनियनसँग ४ वर्षका लागि तलब बढाउने प्रस्ताव गरेको हो।
युनियनका नेताहरुले प्रस्ताव स्वीकार गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्। ३० हजार कर्मचारीहरूको नेतृत्व गर्ने युनियन लिडरहरूले प्रस्तावलाई हालसम्मकै उत्कृष्ट भनेका छन्।
प्रस्ताव स्वीकृत भए बोइङका नयाँ प्रमुख कार्यकारी केली ओर्टबर्गका लागि यो महत्त्वपूर्ण उपलब्धि हुनेछ। ओर्टबर्गलाई हाल कम्पनीको गुणस्तर र प्रतिष्ठासँग जोडिएका विषयहरू सुधार गर्न चर्को दबाब छ।
सियाटल र पोर्टल्यान्ड क्षेत्रमा बोइङ कर्मचारीहरूले सम्झौता स्वीकार गर्ने/नगर्ने भन्ने विषयमा बिहीबार मतदान गर्ने तयारी गरेका छन्। युनियन सदस्यहरूको दुई तिहाईले छुट्टै मतदानमा समर्थन गरेपनि हड्ताल नरोकिने प्रवल सम्भावना छ।
कामदारहरूलाई एक भिडियो सन्देशमार्फत सम्बोधन गर्दै बोइङका प्रमुख अपरेटिङ अफिसर स्टेफनी पोपले तलब वृद्धिको प्रस्तावलाई ‘ऐतिहासिक’ भनेकी छन्।
युनियन सदस्यहरूले यसलाई अनुमोदन गरेमा यो कम्पनी र युनियनबीचको १६ वर्षपछिकै पहिलो पूर्ण श्रम सम्झौता हुनेछ।
आफूले मागेजति नभए पनि युनियनका वार्ताकारहरूले प्रस्तावको प्रशंसा गर्दै कर्मचारीहरूलाई स्वीकार गर्न सल्लाह दिएका छन्। युनियनले ४० प्रतिशत तलब वृद्धि गर्न माग गरेको थियो।
‘साँच्चै भन्नुपर्दा यो हामीले हाम्रो इतिहासमा वार्ताका लागि टेबुल गरिएकामध्ये सबैभन्दा राम्रो सम्झौता हो,’ इन्टरनेसनल एसोसिएसन अफ मेसिनिस्ट एन्ड एरोस्पेस वर्कर्स (आइएएम)ले एक विज्ञप्तिमा भनेको छ।
पारिश्रमिकका अलावा प्रस्तावमा कामदारहरूलाई सुधारिएको स्वास्थ्य सेवा र सेवानिवृत्ति लाभहरू अफर गरिएको छ। त्यस्तै, बोइङले सियाटल क्षेत्रमा आफ्नो अर्को व्यावसायिक विमान निर्माण गर्ने प्रतिबद्धता समेत गरेको छ।
कम्पनीले युनियन सदस्यहरूलाई सुरक्षा र गुणस्तरका विषयहरूमा थप कुरा राख्ने अवसर पनि दिएको छ। ‘आर्थिक रूपमा कम्पनी हाल आफ्नै गल्तीहरूका कारणले कठिन स्थितिमा छ। आइएएम सदस्यहरूले नै यो कम्पनीलाई ट्रयाकमा फिर्ता ल्याउन सक्नेछन्,’ वार्ताकारहरूले हालैका वर्षहरूमा बोइङले सामना गरेको संकटलाई उल्लेख गर्दै भनेका छन्।
एरोस्पेस उद्योगका दिग्गज तथा इन्जिनियर ओर्टबर्गले गत महिना मात्रै बोइङको नयाँ प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए।
कम्पनीले गहिरो आर्थिक नोक्सानी बेहोरेको रिपोर्ट आइरहँदा उनी प्रमुख कार्यकारी नियुक्त भएका थिए। कम्पनीले दुर्घटनाका कारण गुमेको प्रतिष्ठा फर्काउने जिम्मेवारीसहित उनको नियुक्ति गरेको हो।