
काठमाडौं। सरकारले सुनमा विलासी कर लगाएको छ। अघिल्ला वर्षहरूमा भन्सार बढ्दा महँगो भएको सुन आगामी वर्षमा विलासी करका कारण महँगो हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा बढिरहँदा सुनको भाउ यसै पनि उच्च छ।
चालु आर्थिक वर्षमा १० लाख रुपैयाँमाथिका गहना खरिद गर्दा २ प्रतिशत विलासी कर तिर्नुपर्थ्यो। अबदेखि भने ग्राहकले खरिद गर्ने हरेक सुन र सुनका गहनामा विलासी कर लाग्ने भएको छ। हीरामा लगाएको १३ प्रतिशत भ्याट सरकारले कायम राखेको छ।
यसले गर्दा सुन तथा हीराका गहना थप महँगिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले सुनको मूल्यलाई करको चाप पर्ने बताए। त्यसले गर्दा हालको भन्दा महँगो हुनेछ।
‘२ प्रतिशत विलासी कर लगाएपछि बैंकदेखि खरिद भएर उपभोक्तासम्म पुग्दा बढी पैसा तिर्नपर्ने भएको छ,’ उनले भने, ‘सुनको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार हुने भएपनि उपभोक्ताले अतिरिक्त रकम तिर्नुपर्छ।’
अहिले बजेटमा जतिसुकै सुन खरिद गर्दा पनि विलासी कर लाग्ने भनिएको छ। तर यसको कार्यविधि नआई कार्यान्वयन गर्न नसकिने शाक्यले जानकारी दिए।
विलासी कर लागू भए अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि उपभोक्तालाई १ तोला सुन खरिद गर्दा १० हजार रुपैयाँसम्म अतिरिक्त तिर्नुपर्ने उनले बताए।
मुलुकमा वाणिज्य बैंकहरुले सुन आयात गर्छन्। ती सुन बैंकबाट व्यवसायीले खरिद गर्छन्। व्यवसायीहरुका अनुसार सुनमा अहिले भन्सार १० प्रतिशत लाग्छ भने बैंकसँग थोक बिक्रेताले किन्दा २ प्रतिशत कर लाग्छ। थोकबाट खुद्रा बिक्रेताले किन्दा २ प्रतिशत लाग्छ। अब उनीहरुले ग्राहकलाई बेच्दा थप २ प्रतिशत लाग्दा शुल्कहरूले नै कारोबार मूल्यलाई उच्च बनाउदा अवैध ओसारपसार बढ्ने उनीहरुको शंका छ।
“उदाहरणका लागि, दुबईको तुलनामा एक तोलामा नै ३० हजार रुपैयाँ जति फरक पर्न आउँछ।यति धेरै फरक हुँदा तस्करहरू आकर्षित भइ नै हाल्छन्,” उनले भने।
अहिले सुन प्रति तोला १ लाख ८८ हजार ५ सय रुपैयाँ छ। पोहोर आजकै दिन तोलाको १ लाख ४० हजार ५ सय थियो भने अघिल्लो वर्ष प्रति तोला ९८ हजार २० रुपैयाँ थियो। बर्सेनि बढेको कारोबार मूल्यसँगै सरकारले बजेटमार्फत करमा च्यापेपछि सुन अझ महँगिने प्रष्ट नै छ।
सुनको खरिदबिक्री पैसा हुँदा किन्ने र खाँचोका बेला बिक्री गरेर व्यवहार चलाउनेहरुको जनसंख्याको ठूलो हिस्साले थामेका छन्। सामान्य सामान्य गरगहना किन्दा पनि करले च्यापेपछि कारोबार प्रभावित हुने व्यवसायी बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा शनिबार सुन प्रति औंस ३२८९.५७ डलरले कारोबार भइरहेको छ। यो एक दिनमा ३१.८५ डलरको गिरावट हो। तर। ३० दिनको कारोबार मूल्य हेर्दा १०३.९३ डलर बढिसकेको छ। एक वर्षमा सुनको कारोबार मूल्यमा १९२ डलरको बढोत्तरी भएको छ।
व्यवसायीका अनुसार कोरोनाकालयता सुनचाँदीको कारोबार अपेक्षाकृत परिमाणमा बढेको छैन। नेपालबाट यात्रा गर्दा पुरुषले २५ ग्राम र महिलाले ५० ग्राममात्र सुन साथमा लैजान सक्ने नियम छ। यसले नेपालबाट गरगहना किनेर लैजान चाहनेलाई बाधा पारेको व्यवसायीहरुको भनाइ छ। एकातिर अव्यवहारिक नियम र अर्कातिर उच्च मूल्यकै कारण सुन तस्करी भएर आउने गरेको छ। बजार मूल्य अझ बढ्दा वैध कारोबारलाई चाप पर्ने देखिएको छ।
राजस्व बढाउने उपायमा चुनौती देखिरहेको सरकारले सुनचाँदी कारोबारलाई करको चेपुवामा पार्दा यस क्षेत्रबाट संकलन हुने कर घट्न सक्ने व्यवसायीको भनाइ छ।