बेचन झा पक्राउपछि तरंगित राष्ट्रिय राजनीति, तत्कालै समीकरणमा फेरबदल आउला ?

बिजमाण्डू
२०८१ असार १६ गते १४:४६ | Jun 30, 2024
बेचन झा पक्राउपछि तरंगित राष्ट्रिय राजनीति, तत्कालै समीकरणमा फेरबदल आउला ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा पक्राउपछि राष्ट्रिय राजनीति नै तरंगित भएको छ।

Tata
GBIME

झालाई कञ्चनपुरको महेन्द्रनगरबाट शुक्रबार पक्राउ गरे पनि गुपचुप राखिएको थियो। झा पक्राउ परेको सूचना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुग्यो। यो सूचनासँगै देउवा पत्नी आरजु देउवा सबैभन्दा बढी सशंकित भइन्। कारण हो- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता साझेदार दलको बैठकको पहिलो एजेण्डामा नै ‘आरजु पक्राउ’ राख्ने गर्थे।

झा तिनै हुन्, जसले भुटानी शरणार्थीको आरोपी रामशरण केसीले दुई करोड रुपैयाँ लिएको बयान दिएका थिए। झाको साइनो आरजुसम्म रहेको भन्दै लामिछाने उनलाई पक्राउ गर्न चाहन्थे।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आरजुलाई पक्राउ गर्ने रविको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आएका थिए। त्यसमाथि गतिलो प्रमाण नभएकोले आरजु पक्राउ राजनीतिक प्रतिशोध मात्रै बन्ने डर पनि थियो। तर, अचानक झा पक्राउसँगै देउवा समेत प्रचण्डसँग सशंकित भएका छन्।

देउवालाई प्रचण्डको समेत संलग्नतामा झा पक्राउ गरिएको जानकारी आएपछि उनी पत्नी आरजुलाई लिएर शनिबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

पढ्नुस : दोस्रो चरणको अनुसन्धानमा ‘सेन्टर’मा थिए झा, राख्थे मन्त्रिपरिषद् प्रभावित पार्नेसम्मको हैसियत!

स्रोतका अनुसार पछिल्लो केही महिनादेखि कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका महासचिव शंकर पोखरेलबीच पटकपटक वार्ता भएको थियो। त्यो वार्तामा संविधान संशोधनको विषयमा पनि छलफल भएको थियो।

संविधान पुनरावलोकन आयोग बनाएर संविधान संशोधन गर्नेबारेमा दुई दल सहमति नजिक पुगेको बताइन्छ। तर, शनिबार देउवा र ओलीबीच भएको दुई घण्टा लामो बैठक भने सत्ता परिवर्तनमै बढी केन्द्रित भएको स्रोतले बतायो।

देउवाले ओलीलाई प्रधानमन्त्री बन्नका लागि लिखित रुपमै प्रस्ताव गरेको विभिन्न स्रोतहरुको दाबी छ।

‘तपाईं प्रधानमन्त्री बन्नुहोस् हामी सघाउन तयार छौं,’ देउवाले ओलीलाई भनेको प्रस्ताव उद्धृत गर्दै कांग्रेसका एक नेताले भने। स्रोतका अनुसार ओली पछिल्लो समयमा प्रचण्डको दोहोरो चरित्रप्रति असन्तुष्ट छन्।

त्यो असन्तुष्टिमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस रद्दसम्म पनि जोडिन्छ। स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयबाट आएको पत्रका आधारमा अध्यक्षको प्रक्रिया अगाडि बढोस् भन्ने मनसायमा ओली थिए। तर, अचानक अर्थसचिवको अहसमतिपछि प्रक्रिया नै रद्द हुन पुगेपछि ओली प्रचण्डसँग धेरै चिढिएका छन्।

पढ्नुस : कांग्रेस-एमाले समीकरणका लागि देउवाको कसरत, ओलीलाई बालकोटमै भेटेर सहकार्यको प्रस्ताव

प्रचण्डसँग रवि नजिकिँदा ओली फायर

ओलीले संकटका बेलामा पटकपटक काँध थापेर सत्तामा पुर्‍याएका रवि लामिछाने पछिल्लो समयमा प्रचण्डसँग नजिक हुन पुगेका छन्। प्रत्येक मुद्दामा ओलीलाई सोधेर निर्णय लिने रवि अहिले टाढा हुँदै गएका छन्।

स्रोतका अनुसार पछिल्लो समयमा धेरै विषयलाई पन्छाउँदै जान थालेका छन्। ओलीले आफूलाई मित्र बनाएर रास्वपालाई सकाउने रणनीति बनाएको सूचना पाएपछि रवि टाढिन थालेका हुन्।

रविका विश्वासपात्र मानिएका रास्वपा महामन्त्री मुकुल ढकालले मुलुकभर घुमेर तयार पारेको प्रतिवेदनपछि रास्वपाभित्र ठूलै भुईंचालो गएको छ। यहीबीचमा ओलीले सत्तामा पुर्‍याएर रास्वपा नै सक्ने रणनीति बनाएको सूचनाले पनि रविले सम्बन्ध घटाउन थालेका बताइन्छ। ‘योसँगै प्रत्येक निर्णयमा ओलीको हस्तक्षेप अर्को टाढिनुको कारण हो,’ स्रोतले भन्यो।

आइतबार गृहमन्त्री रविले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेर देउवासँग भएको भेटका बारेमा जानकारी लिन खोजेका थिए। ओलीले ‘असार १५ मा दही चिउरा खान आउनु भएको’ जवाफ रविलाई दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयभित्रको काममा हस्तक्षेप नगरेकाले रविको सम्बन्ध सुमधुर बन्दै गएको छ। रास्वपाभित्र रविको कार्यशैलीका बारेमा विवाद सुरु भइसकेको छ।

दक्षिणको चासो

नेपालमा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहँदा उत्तरी छिमेकी भारतको ‘इन्ट्रेस्ट’ ले पनि धेरै कुरा निर्भर हुने बताइन्छ।देउवाले ओलीलाई प्रधानमन्त्री बन्न लिखित रुपमा प्रस्ताव गरे पनि भारतको ‘इन्ट्रेस्ट’ निर्णायक हुने स्रोतको दाबी छ। अहिले भारतको संस्थापन पक्ष ओलीसँग खुसी छैन।

देउवाले आफ्नो परिवार बचाउन गरेको प्रस्ताव कार्यान्वयन तत्कालै सजिलो नहुनुको कारण यही हो। अहिले पनि प्रचण्डलाई भारतको साथ रहेकै कारण झा भारतको सहयोगमा पक्राउ परेका हुन्। प्रचण्डबाट राजनीतिक लाभ लिन जति सजिलो छ, त्यति सहज ओलीसँग छैन।

भारतसँग ओलीको सम्बन्ध चुच्चे नक्सा र रामको जन्मभूमि प्रकरणबाट थप बिग्रिँदै गएको छ। पछिल्लो समय एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय ओलीकै प्रस्तावमा भएको भारतको बुझाइ छ।

शनिबार ओली र देउवाबीचको भेटपछि आज ओली-प्रचण्डबीच सिंहरदरबारमा चलेको लामो संवाद सामान्य खालको नरहेको स्रोतको भनाइ छ। यसबीच गृहमन्त्री रविले अर्थमन्त्री वर्षमान पुनसँग पनि लामो छलफल गरेका छन्। यसले समीकरण फेरिन सक्ने संकेत गरेको छ।