काठमाडौं । प्रहरीले प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यलाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ठगी आरोपमा बज्राचार्यलाई पक्राउ गरेको हो। उनीसँगै ठगी गरेको आरोप अन्य ५ जनालाई पनि पक्राउ गरिएको छ।
कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको उजुरीपछि काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं लाजिम्पाटका ६८ वर्षीय नरेन्द्र बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिकाका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जनकुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्तिरमण पंगेनी छन्।
न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेट प्रालिका संचालक समितिका अध्यक्षसमेत रहेका नरेन्द्र बज्राचार्य समेतले न्यूरोड क्षेत्रका व्यापारीलाई कलंकी ट्रेड सेन्टरका व्यापारिक इकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वासमा १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिले न्युरोडका व्यापारीलाई कलंकीमा सटर दिने भन्दै रकम उठाएका थिए। ४० लाखमा सटर दिने भन्दै ५ सय जनाभन्दा बढीसँग रकम उठाएको देखिएको छ। यो समूहले ५ सय भन्दाबढी व्यापारीसँग ५ अर्बभन्दा बढी रकम उठाएको देखिएको छ।
जिल्ला अदालतबाट ठगी मुद्दामा उनीहरुविरुद्ध तीन दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।