दोस्रो चरणको अनुसन्धानमा ‘सेन्टर’मा थिए झा, राख्थे मन्त्रिपरिषद् प्रभावित पार्नेसम्मको हैसियत!

सविन ढकाल
२०८१ असार १५ गते १४:२१ | Jun 29, 2024
दोस्रो चरणको अनुसन्धानमा ‘सेन्टर’मा थिए झा, राख्थे मन्त्रिपरिषद् प्रभावित पार्नेसम्मको हैसियत!

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार पक्राउ परेका बेचन झाको गतिविधि विस्तारै खुल्दै छ। राजनीतिज्ञदेखि मन्त्री र उच्च तहका कर्मचारीसम्म उनको सम्बन्ध रहेको अनुसन्धानमा पाइएको थियो।

Tata
GBIME

प्रहरी स्रोतका अनुसार नक्कली भुटानी प्रकरणमा उनले गृह प्रशासनका कर्मचारीदेखि गृहमन्त्रीसम्म पुगेर बिचौलियाहरूलाई भेटाउने काम गरेका थिए। यसरी भूमिका खेलकोमा उनले दुई करोड रुपैयाँ समेत लिएको पक्राउ परेका व्यक्तिले बयान दिएका थिए।

पक्राउ परेका व्यक्तिको बयान र अनुसन्धानले संकेत गरेपछि प्रहरी झाको खोजीमा थियो। तर अनुसन्धान सुरु भएको केही समयमा नै पक्राउ पर्ने डरले उनी नेपाल छाडेर भागेका थिए।

२०७८ असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भुटानी शरणार्थी प्रकरणमा बिचौलियालाई काम लाग्ने निर्णय गराउने भूमिकामा झा देखिएको बयान यसअघि पक्राउ परेका व्यक्तिले दिएका थिए।

अभियुक्त रामशरण केसीले भनेका थिए, ‘मन्त्रिपरिषद्को बैठकमा शरणार्थीसम्बन्धी हामीलाई केही काम लाग्ने निर्णयहरू हुन लागेका छन्, निर्णय गराउन बेचन झाले केही रकम मागेका छन्, उनलाई चेक काटी दिनु भनि सानु भण्डारीले भनेपछि मैले दिएको हुँ।’

केसीले हिमालयन बैंकमा रहेको खाताबाट २ करोड रुपैयाँ झाको नाममा चेक काटेर २०७८ मंसिर ८ गते राति बानेश्वरको ह्वाइट हाउस सडक छेउमा चेक दिएको उनको दाबी थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई वैशाख २५ मा पक्राउ गरेको थियो। झा भने नेपाली वा भारतीय के हुन् भन्ने समेत खुलेको थिएन। तर नेपाली कांग्रेसका उच्च तहका नेताहरूसँग झाको सम्पर्क भने देखिएको थियो।

उनले आफू ‘भारतीय दूतावासको मानिस’ भन्दै हिंड्ने समते गरेको प्रहरीको दाबी छ। त्यसो त उनीसँग दुवै देशको नागरिकता भएको पनि अनुमान गरिएको छ। काठमाडौंको बानेश्वरमा घर भएका उनको ठेक्कापट्टामा पनि संलग्नता रहेको देखिएको छ।

नक्कली शरणार्थी प्रकरणको योजनाकारमध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको २ करोडको चेक झालाई दिएको केसीले बयानमा खुलाएका हुन्। केसीका अनुसार भुटानी शरणार्थी सम्बन्धी ‘निर्णय मन्त्रिपरिषद्‍बाटै गराउने’ भन्दै २०७८ मंसिर ८ मा झाले चेक बुझेका हुन्।


तर भुटानी शरणार्थी प्रकरणमा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखित किर्तेमा ३० जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। तर अहिलेसम्म अन्तिम सुनुवाइ भएको छैन। यसरी दायर भएको मुद्दामा बेचन झालाई भने प्रतिवादी बनाइएको थिएन। उनको नाम र वतन लगायत नुखेलेका कारण उनलाई प्रतिवादी बनाइएको थिएन।

दोस्रो चरणको पूरक अनुसन्धानमा झा केन्द्रमा रहेका थिए। प्रहरीले उनी सामातिएपछि शरणार्थी प्रकरणमा अरु पनि संलग्नता खुल्ने दाबी गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले उनीमाथि केही समयदेखि अनुसन्धान जारी रहेको बताए।

बयानमा पोलिएका व्यक्तिको हकमा अनुसन्धान कार्य जारी रहेकाले खुल्न आएको बखत वा पक्राउ गरिआएको बखत र हालसम्म नाम, थर, वतन नखुलेको व्यक्तिको हकमा खुली आएको बखत संगठित अपराध निवारण ऐन २०७० को दफा २२ एवं मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम थप दाबी लिइ अभियोगपत्र पेस गर्ने भनिएको छ।

त्यसैले अब प्रहरीले झाको सन्दर्भमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ। त्यस्तै, शुक्रबार नै समातिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई भने अदालतमा बुझाइने छ।

उच्च अदालत पाटनको आदेशमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण भने धरौटीमा छुटेका छन्। तर पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन सचिव टेकनारायण पाण्डे लगायत कारागारमा नै छन्।