कांग्रेस-एमाले समीकरणका लागि देउवाको कसरत, ओलीलाई बालकोटमै भेटेर सहकार्यको प्रस्ताव

प्रकाश भण्डारी
२०८१ असार १५ गते २२:०२ | Jun 29, 2024
कांग्रेस-एमाले समीकरणका लागि देउवाको कसरत, ओलीलाई बालकोटमै भेटेर सहकार्यको प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा दुई दलबीचको सहकार्यको विषयमा छलफल भएको छ। सत्ता गठबन्धन परिवर्तन भएको करिब चार महिनाकै अवधिमा दुई ठूला दलका नेताको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Tata
GBIME

दुई दलले सत्ता सहकार्यको कोर्स तत्काल नरहेको औपचारिक रूपमा बताइरहेका बेला देउवा र ओलीबीच भेटवार्ता भएको हो।

ओली निवास बालकोटमा शनिबार दिउँसो देउवा र उनकी पत्नी आरजु देउवा पुगेका थिए। दुई नेताबीचको भेटवार्तामा सम्बन्ध सुधारदेखि सहकार्यका विषयमा कुराकानी भएको ओली निकट स्रोतले बतायो।

‘प्रतिपक्षी दलको नेताले भेटौं भनेपछि भेट्नु स्वाभाविक भयो। उहाँहरूले अब कसरी जान सकिन्छ भन्ने कुराकानी गर्नुभयो,’ दुई नेताबीच एक्ला एक्लै वार्ता भएको भन्दै उनले भने।

संक्रमणकालीन न्याय, प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारसँगको एमालेको सहकार्यलगायतका विषय पनि दुई नेताबीच छलफल भएको थियो। यस्तै शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र बेचन झा पक्राउ परेको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

केही समय यता कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच पटक-पटक छलफल भएको थियो। संविधान संशोधनदेखि नयाँ समीकरण बनाउने विषयमा पटक पटक कुराकानी भए पनि टुंगोमा पुग्न नसकिरहेका बेला देउवा र ओलीबीच भेटवार्ता भएको हो।

फाइल फोटो

देउवासँगको वार्तालाई ओलीले महत्वका साथ अघि बढाएका छन्। शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुने तय थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यक्रममा पुगे पनि ओलीले कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका थिए। उनले देउवासँगको कुराकानीलाई अघि बढाएपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ।

प्रचण्डले पनि यसअघि देउवालाई उनकै निवासमा गएर गरेको वार्तालाई लिएर ओली असन्तुष्ट थिए। उक्त असन्तुष्टि ओलीले बजेटमाथिको छलफलका क्रममा पनि व्यक्त गरे। पछिल्लो समय प्रचण्ड र ओलीबीच असमझदारी बढ्न थालेको छ। प्रचण्डले ओलीले सत्ता सञ्चालनमा ओलीले दबाब दिन थालेको आफू निकटलाई बताउन थालेका छन् भने ओलीले प्रचण्डको मनोमानी नचल्ने ब्रिफिङ गर्दै आएका छन्।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयमा पनि दुई दलबीच बेमेल छ। ओलीको रुचि विपरीत प्रक्रिया रद्द भइसकेको छ। सर्ट लिस्टमा परेका पाँचमध्ये तीन जना प्रक्रियामा नै सामेल नभएपछि महान्यायाधिवक्ता समेतको रायमा प्रक्रिया रद्द गरिएको हो।

यस्तै प्रचण्डले नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका थिए। तर, ओलीले ग्रीन सिग्नल नदिएपछि मन्त्रिपरिषद् विस्तार पनि रोकिएको छ। विभिन्न देशका राजदूत फिर्तामा पनि प्रचण्ड-ओलीबीच किचलो उत्पन्न भएको थियो। नयाँ राजदूत सिफारिस पनि विवादमा परेको छ।

कांग्रेस सत्ता गठबन्धनबाट बाहिरएपछि तथा एमाले सत्ता समीकरणमा प्रवेश गरे यता देउवा-ओलीबीच एक्ला-एक्लै वार्ता हुन सकेको थिएन। दुवै दलका नेताहरूले दुई नेताबीच कुराकानी गराउन कसरत गरिरहेको भए पनि सफल भएको थिएन। देउवाले पछिल्लो समय ओली र प्रचण्डसँग समानान्तर छलफल गर्दै आएका छन्।