अर्थतन्त्र सुधार्न भन्दै ओलीले प्रचण्डसँग राखे आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतीय सरकारको प्रस्ताव

बिजमाण्डू
२०८१ असार १७ गते १२:४६ | Jul 1, 2024
अर्थतन्त्र सुधार्न भन्दै ओलीले प्रचण्डसँग राखे आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतीय सरकारको प्रस्ताव

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भएको भेटवार्ताले नेपाली राजनीतिको कोर्स फेरिने देखिएको छ।

Tata
GBIME

बिहानको भेटमा ओलीले प्रचण्डसँग आफ्नो योजना साझा गरे – राष्ट्रिय सहमतिको सरकार। 

‘हामीलाई परिवर्तन चाहिएको छ,’ओलीले प्रचण्डसँग भने, ‘आर्थिक सुधार चाहिएको छ। सहमतीय विश्वासलाई पनि बलियो बनाउनुपर्ने छ।’

त्यसक्रममा ओलीले राष्ट्रिय सहमतीय सरकार आफ्नो नेतृत्वमा बनाउन प्रस्ताव राख्दै त्यसमा नेपाली कांग्रेसले पनि साथ दिने बताएका थिए। उनले सो सरकारमा नेकपा मा‌ओवादी केन्द्रलाई पनि सहभागी हुन आग्रह गरेको भेटबारे जानकार स्रोतले जनाएको छ।

ओलीको सो प्रस्ताव पछि प्रचण्डको अनुहारमा चिन्ताका रेखाहरू देखिएको ती व्यक्तिले बताए। केही क्षणको मौनता पछि प्रचण्डले जवाफ फर्काए, ‘हामी वर्तमान गठबन्धनलाई निरन्तरता दिन सक्छौं। म प्रधानमन्त्री पद छोड्न तयार छु।’

ओली र प्रचण्डबीचको वार्ता अचानक भएको होइन। शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा ओलीलाई भेट्न बालकोट नै पुगेका थिए। निकै लामो समय चलेको सो छलफलमा संविधान संशोधनसहित नयाँ सरकार गठनको प्रस्तावबारे मन्थन भएको थियो।

देउवाको बालकोट यात्रा पछि ओलीले लगातार दुई दिन प्रचण्डलाई भेटे। यस्तै, हाल सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि उनीहरुले छलफल गरिसकेका छन्।

नेपाली राजनीतिको यो नाटकीय मोड आउनुमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियामा प्रधानमन्त्रीको योजना अनुसार अर्थमन्त्री वर्षमान पुनले ओलीलाई चिढ्याउन गरेको प्रपञ्च रहेको बताइन्छ।

ओली बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बनाउन चाहन्थे तर प्रधानमन्त्री र अर्थमन्त्रीले नचाहँदा प्रक्रिया नै खारेज भएको छ। यसपछि ओली र प्रचण्डको सम्बन्धमा चिसोपना बढेको हो। बजेटमा पनि ओली खुसी थिएनन्।