सहकारी ठगीमा पक्राउ ७६ वर्षीय अध्यक्ष, ३१ वर्ष बैंकको शाखा म्यानेजर

सविन ढकाल
२०८१ असार १६ गते १७:४१ | Jun 30, 2024
सहकारी ठगीमा पक्राउ ७६ वर्षीय अध्यक्ष, ३१ वर्ष  बैंकको शाखा म्यानेजर

काठमाडौं। ललिपुरको पुल्चोकमा प्रधान कार्यालय रहेको लालीगुराँस सहकारी ठगी प्रकरणमा केही महिनादेखि आधा दर्जनभन्दा बढी मानिस फरार थिए। त्यसैको अनुसन्धानको क्रममा प्रहरीको पहिलो लिस्टमा थिए सुरेन्द्र भण्डारी।

Tata
GBIME

भण्डारीसहित सहकारीका ९ जनालाई पक्राउ गर्न प्रहरीले गत चैत ३० गते जिल्ला अदालत ललितपुरबाट अनुमति पाइसकेको थियो।

प्रहरीको अनुसन्धानमा सहकारी ठगीमा मुख्य योजनाकार नै उनी हुन् भन्ने थियो। भण्डारी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा भए पनि सबै हर्ताकर्ता नै उनी भएको देखिन्छ। त्यसैले प्रहरीको टार्गेटमा थिए। शुक्रबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई उनी बालुवाटार नजिकै एक रेष्टुरेष्टमा बसेर खाजा खाइरहेको जानकारी आएको थियो। त्यसपछि प्रहरीको टोली बालुवाटारतिर ‘मुभ’ भयो।

नभन्दै सूचना अनुसार उनी बालुवाटार क्षेत्रबाट एक रेष्टुरेष्टबाट नै समातिए। त्यसपछि पक्राउ अनुमति पाइसकेका अन्य सहकारीका पदाधिकारीलाई पक्राउ गर्नु समस्या नै थिएन। भण्डारीको सूचनाको आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान छन्।

पक्राउ परेका मध्ये श्रेष्ठ र अर्याल वृद्ध छन्। श्रेष्ठ ७६ र अर्याल ७५ वर्षका। त्यसैले प्रहरीले उनीहरुलाई यताउता ल्याउँदा लैजाँदा पनि विशेष ख्याल गर्नुपर्ने अवस्था छ। पक्राउ परेका सहकारी अध्यक्ष श्रेष्ठले युवा अवस्थामा भने बैंकमा बिताएका थिए।

अध्यक्ष अमरदास श्रेष्ठ

उनले ३१ वर्ष नेपाल बैंक लिमिटेडको नयाँ सडक शाखामा प्रमुख म्यानेजर भएर काम गरेका हुन्। २०६१ सालमा मात्र जागिर छाडेर उनी श्री लालीगुराँस सहकारीमा छिरेका थिए। दुई वर्ष उनले त्यहाँ सचिवको रुपमा काम गरे। त्यसपछि उनी उपाध्यक्ष पदमा बढुवा भएका थिए। ८ वर्षसम्म उपाध्यक्ष पदमा काम गरेर अमरदास श्रेष्ठ २०७४ सालदेखि मात्र सहकारीको अध्यक्ष भएका थिए।

तर उनी सहकारीमा प्रवेश गर्नुभन्दा अगाडि सुरेन्द्र भण्डारी आइसकेका थिए। २०५६ सालदेखि भण्डारी लालीगुराँसमा आबद्ध थिए। २०५६ असोज १५ गते भण्डारी सहकारीको पुल्चोकमा म्यानेजरका रूपमा प्रवेश गरेका हुन्। त्यसपछि प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य हुँदै हाल उनी प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा छन्। उनी कार्यकारी अधिकृत भएको समयमा नै सहकारी ठगी प्रकरण बाहिरिएको हो। अहिलेसम्मको अनुसन्धानमा निक्षेपकर्ताको ३ करोड रुपैयाँ अपचलन भएको मुद्दा दायर भएको छ।

‘यो प्रकरणमा भण्डारी नै मुख्य देखिन्छन्। अरु केही सदस्यलाई त थाहा पनि छैन,’ एक प्रहरी अधिकृतले भने।

भण्डारी २०६६ र २०७६ सालमा सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पनि भएको खुलेको छ। त्यस्तै राष्ट्रिय सहकारी महासंघको वरिष्ठ सञ्चालक पदमा उनी ६ वर्ष थिए।

२०८० चैतमा सहकारीका सञ्चालक/व्यवस्थापकहरुविरुद्ध मुद्दा दायर भएको थियो। प्रहरीमा पहिलो चरणमा परेको ३ करोड रुपैयाँ बिगो दाबीलाई बनाएर मुद्दा चलाइएको हो। लालीगुराँस सहकारीमा २२ हजार बचतकर्ता छन्। जहाँ ६ अर्ब ३० करोड निक्षेप छ। आफ्नो पैसा अपचलन भएको भन्दै उजुरीकर्ता बढ्दै जाँदा ठगीको रकम पनि बढ्ने देखिएको छ।

त्यसो त ठगीको अर्को केस जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि दर्ता छ। ध्रुव खरेल समेतलाई प्रतिवादी बनाएर हाल पक्राउ परेका ४ जना पनि यस केसमा मुछिएका छन्। काठमाडौं प्रहरीले पनि उनीहरूविरुद्ध थप अनुसन्धान गर्ने छ। उनीहरूले सहकारीको खाताबाट नै रकम चोरी गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको हो।