केदारनाथको ३३ अर्ब अवैध आर्जनको त्यो फाइल, सरकारी वकिल कार्यालयले मुद्दा नचलाइ गरिदियो फिर्ता

सविन ढकाल
२०८१ असार १४ गते १५:१२ | Jun 28, 2024
केदारनाथको ३३ अर्ब अवैध आर्जनको त्यो फाइल, सरकारी वकिल कार्यालयले मुद्दा नचलाइ गरिदियो फिर्ता

काठमाडौं। करिब ३३ अर्ब रुपैयाँ बिगो कायम गरी शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा लगायतविरुद्ध मुद्दा चलाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको सिफारिस सरकारी वकिल कार्यालयले फिर्ता गरिदिएको छ।

Tata
GBIME

अनुसन्धान अपूरो भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले फाइल फिर्ता गरिदिएको हो। विभागको अनुसन्धानमा केही कुरा नखुलेको भन्दै फाइल फिर्ता पठाएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए।

‘अनुसन्धानमा केही कुरा खुलेका छैनन्। खुल्नुपर्ने कुरा हामीले औंल्याएका छौं। थप अनुसन्धान गरेर मागेको विवरण थप गरेर पठाउनु भनी फाइल विभागमा फिर्ता पठाएका छौं,’ सरकारी वकिल कार्यालयका ती कर्मचारीले भने।

विभागले केदारनाथ, उनकी पत्‍नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग गरेका व्यक्ति र विभिन्न कम्पनीलाई प्रतिवादी बनाइ ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगोसहितको मुद्दा दायर गर्न सिफारिस गरेको थियो। त्यसमध्ये २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो केदारनाथविरुद्धको हो।

उनीविरुद्ध विभागले बिगोको दोब्बर जरिवाना र १५ वर्षसम्म कैद सजाय माग गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको थियो।

विभागसँगको बयानमा केदारनाथले सम्पत्ति आर्जनको वैधानिक बाटोका रुपमा विभिन्न कम्पनी देखाएका थिएन्। उनले नेपालमा साथै भारत, बर्मा, माल्दिभ्समा पनि कम्पनी रहेको दाबी गरेका थिए।

तर, विभागको अनुसन्धान प्रतिवेदनमा विदेशमा रहेका भनिएका कम्पनीबारे खुलाएको नदेखिएको भन्दै सरकारी वकिल कार्यालयले केदारनाथले भनेजस्तो विदेशमा कम्पनी खोलिएको हो होइन र भए कुन कुन हुन् भन्नेबारे खुलाउन र थप अनुसन्धान गर्न भनेको छ।

‘आरोपीले विदेशमा आफ्नो कम्पनी भएको बयान दिएका छन्। तर, कम्पनी भए/नभएको कुरा विभागको अनुसन्धान प्रतिवेदनमा कतै खुलेन,’ ती कर्मचारीले सुनाए, ‘त्यसैले हामीले विभागलाई यसबारे थप अनुसन्धान गर्न भनेका हौं।’

सरकारी वकिल कार्यालयले केदारनाथका सन्तान र तीनका नाममा भएका सम्पत्तिबारे पनि खुलाउन भनेको छ। विभागले आफ्नो अनुसन्धान प्रतिवेदनमा केदारनाथका नाममा विभिन्न कम्पनीमा २२ अर्ब ७४ करोड ९२ लाख र उनकी पत्नी गीताका नाममा ५२ करोड ३३ लाख रुपैयाँको चल अचल सम्पत्ति रहेको उल्लेख गरेको थियो।

यसअघि विभागले अनुसन्धान गरेर सिधै विशेष अदालतमा मुद्दा दायर गर्ने गरेकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ व्यवस्था भएपछि फाइल पहिलोपटक सरकारी वकिल कार्यालयमा पठाएको थियो।

बिगो भएको धेरै र देशका विभिन्न जिल्ला जोडिएको केस भएकाले अनुसन्धान र अभियोजनमा समस्या देखिएको छ। सरकारी वकिल कार्यालयमा अहिले शिवशिखरसँग जोडिएका ५० भन्दा बढी फाइल छन्। प्राविधिक विषय भएको र विभिन्न जिल्लामा समेत बुझ्नु पर्ने भएकाले अनुसन्धानका लागि समय बढी लाग्ने कर्मचारीहरूको भनाइ छ।

केदारनाथले सहकारीको रकम अपचलनका साथै बैङ्कबाट ऋण लिएर समेत दुरुपयोग गरेको अनुसन्धानबाट यसअघि नै देखिएको छ।

केदारनाथको अधिकांश कारोबार कृत्रिम देखिन्छ। उनले आफ्नै विभिन्न १३ वटा कम्पनीबिच कृत्रिम कारोबार गरेका छन्। केदारनाथका कम्पनीहरुले उधारो कारोबारको रकम उठाउने प्रयोजनका लागि समेत सहकारीबाट कर्जा प्रवाह भएको कृत्रिम कागजात खडा गरेर समेत ऋण चलाएको अनुसन्धानबाट देखिएको छ।

सहकारी संस्था एवं आफ्ना कम्पनीमा कार्यरत कर्मचारीसमेतका नाममा उनले जग्गा जमिन खरिद गरी लुकाएको पाइएको छ। उनले आफ्नै कर्मचारी तेजबहादुर तामाङका नाममा ७० करोड ५९ लाख १८ हजार रुपैयाँ सहकारीबाट चलाएका छन्।

उनले विभिन्न कम्पनीको नाम खडा गरी कृत्रिम ऋण लेखांकन गरी ५ अर्ब १३ करोड ५७ लाख ६१ हजार १७४ रुपैयाँ अपचलन गरेको भेटिएको छ।