सहकारी अपचलनका नाइके केदारनाथविरुद्ध ३३ अर्बको मुद्दा, यसरी खडा गरेका थिए जालझेलको साम्राज्य

सुदर्शन सापकोटा
२०८१ जेठ ११ गते १८:१२ | May 24, 2024
सहकारी अपचलनका नाइके केदारनाथविरुद्ध ३३ अर्बको मुद्दा, यसरी खडा गरेका थिए जालझेलको साम्राज्य

काठमाडौं। आफू अध्यक्ष भएका बेला केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका बचतकर्ताको रकम दुरुपयोग गरी विशाल साम्राज्य खडा गर्दै कालोधन आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिब ३३ अर्ब बिगो दाबी गरी सरकारी वकिल कार्यालयमा मुद्दा चलाउन सिफारिस गरेको छ।

Tata
GBIME

विभागले केदारनाथ, उनकी पत्‍नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग गरेका व्यक्ति र विभिन्न कम्पनीलाई प्रतिवादी बनाइ ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगोसहितको मुद्दा दायर गर्न सिफारिस गरेको हो। त्यसमध्ये २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो केदारनाथविरुद्धको हो।

उनीविरुद्ध विभागले बिगोको दोब्बर जरिवाना र १५ वर्षसम्म कैद सजाय माग गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको छ।

केदारनाथले सहकारीको रकम अपचलनका साथै बैंकबाट ऋण लिएर समेत दुरुपयोग गरेको अनुसन्धानबाट देखिएको छ। सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्याइ योजनाबद्ध र बदनियत तरिकाले ठूलो धनराशि अपचलन गर्न उनले सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ, प्रदीप भट्टराई लगायतलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

कसरी पुग्यो सहकारीको पैसा खल्तीमा ?

सामान्य व्यवसायी केदारनाथको छोटो समयको द्रव्य आर्जन देखेर उनका नजिककाहरु पनि अचम्ममा परेका थिए।

ठिकठिकैको व्यवसाय थियो। बैंकले सजिलै ऋण पत्याइरहेका थिएनन्। २०७४ साल आसपास उनको जीवन फेरिन थाल्यो। व्यावसायिक साम्राज्य मात्र बढेन उनलाई भेट्न ‘अपोइन्टमेन्ट’ लिनुपर्ने हुन थाल्यो। बैंकरहरु पैसा चलाइदिनुस् भनेर उनको कार्यालय धाउन थाले।

दाल, चामल लगायत खाद्यान्न, पानी तान्ने मोटर उत्पादन तथा बिक्री वितरणतर्फ उनको व्यावसायिक विस्तार अचम्मसँग बढ्न थाल्यो। पछि उनले कृषि क्षेत्रमा हात हाले।

२०७५ तिर त उनको सम्पत्तिको हिसाबकिताब नै हुन छाड्यो। जता हेर्‍यो उतै केदारनाथ र गीताको नाममा जग्गा जमिन। यो सबको पछाडिको बल थियो- दुई सहकारीको पैसा।

केदारनाथ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष थिए। सहकारीमा पैसा राख्नेको भीड थियो। बचतकर्ताले दु:ख गरेर जम्मा गरेको पैसाबाट केदारनाथले आफू कसरी अर्बपति हुने भन्ने सपना देख्न थाले। त्यसका लागि योजना बनाउन थाले।

उनले पत्‍नी गीताका साथै अन्य सञ्चालकसँग समेत मिलेर व्यावसायिक कम्पनीहरु खोल्न थाले। त्यसमा उनले पैसा निकासाका लागि नक्कली कर्जा योजना तयार पारे। त्यही पैसाले उनले जग्गा किने, घर किने, गाडी किने। नयाँ नयाँ व्यापार व्यवसाय सुरुवात गरे। पुरानो व्यवसायलाई विस्तार गर्ने भनेर सहकारीको पैसा मात्र होइन, बैंकको पैसासमेत प्रयोग गर्न थाले।

उनले शिवशिखर र तुलसी बहुमुखी सहकारी संस्थामा आबद्ध बचतकर्ताहरुले बचत गरेको रकम अपचलन गर्न हरेक पाइलामा ‘प्लान’ गरेको देखिन्छ।

केदारनाथ र गीताले आफूले खोलेका अन्य कम्पनीहरुका लागि कृत्रिम कर्जा खडा गरी पैसा निकासा गर्न लगाए। उनीहरुले आफैंले स्थापना गरेका कम्पनीहरुबीच व्यवसायको सिलसिलामा आपसी लेनदेन गराएर अस्वाभाविक कारोबार देखाएका छन्।

केदारनाथको अधिकांश कारोबार कृत्रिम देखिन्छ। उनले आफ्नै विभिन्न १३ वटा कम्पनीबीच कृत्रिम कारोबार गरेका छन्। १३ कम्पनीबीच ६ अर्ब १८ करोड ८३ लाख ३६ हजार रुपैयाँको कारोबार देखाइएको छ।

सहकारी संस्था एवं आफ्ना कम्पनीमा कार्यरत कर्मचारीसमेतका नाममा उनले जग्गा जमिन खरिद गरी लुकाएको पाइएको छ। कर्मचारीहरु मन्दीप खवास, सबिना न्यौपाने र बालमुकुन्द कपालीका नाममा सम्पति राखेका छन्। खवास, न्यौपाने लगायतका नाममा लुकाएको जग्गाको मूल्य ३ करोड २४ लाख रुपैयाँ छ।

साथै केदारनाथका कम्पनीहरुले उधारो कारोबारको रकम उठाउने प्रयोजनका लागि समेत सहकारीबाट कर्जा प्रवाह भएको कृत्रिम कागजात खडा गरेर समेत ऋण चलाएको अनुसन्धानबाट देखिएको छ। यसरी चलाएको ऋण धेरै हदसम्म निर्ब्याजीसमेत छन्।

उनले आफ्नै कर्मचारी तेजबहादुर तामाङका नाममा ७० करोड ५९ लाख १८ हजार ७९५ रुपैयाँ सहकारीबाट चलाएका छन्।

उनले विभिन्न कम्पनीको नाम खडा गरी कृत्रिम ऋण लेखांकन गरी ५ अर्ब १३ करोड ५७ लाख ६१ हजार १७४ रुपैयाँ अपचलन गरेको भेटिएको छ।

रोयल भोग इन्टरप्राइजेज र गोर्खा टोबाकोको नाममा कृत्रिम ऋण सृजना गरी उनले अपचलन गरेको रकम ३४ करोड ८८ लाख रुपैयाँ छ भने विभिन्न ४० कम्पनी खडा गरी सेयर पुँजीबापत १ अर्ब ३० करोड ३० लाख रुपैयाँ लगानी गरेका छन्।

सञ्चालक सापटी भनी विभिन्न ११ कम्पनीमा केदारनाथले १ अर्ब ४० करोड ६८ लाख ४३ हजार रुपैयाँ हालेका छन्। अग्रिम सेयर रकम भनी विभिन्न ८ कम्पनीमा ८९ करोड ५० लाख रुपैयाँ लगेका छन्।

तुलसी बहुमुखी सहकारी संस्थाबाट विनाधितो विनाब्याज ऋणमार्फत १ अर्ब १६ करोड ११ लाख ८० हजार अपचलन गरेको भेटिएको छ। तुलसी सहकारीबाटै वित्तीय विवरणमा नदेखाइ १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ अपचलन गरेको देखिएको छ।

अपचलन गरेको रकमबाट आफूसम्बद्ध शिखर अर्गनाइजेसनसमेतका नाममा भक्तपुरमा जग्गा खरिद गरी त्यही जग्गा नेपाल एसबिआई बैंक समेतमा धितो राखेर कर्जा चलाएको भेटिएको छ। उनले एसबिआई बैंकबाट मात्र १ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन्।

उनले बचतकर्ताको हिसाबकिताब नै नराखी पैसा आफैंले चलाउने गरेका थिए। बचतकर्ताहरुसँग पैसा लिने तर नक्कली भरपाइ दिइ सहकारीमा दाखिला नै नगरेको पाइएको छ। सहकारी संस्थाको वित्तीय विवरणमा रकम नै समावेश नगरेको र आफ्नो कम्पनीमा लगेको थुप्रै घटना देखिएका छन्।

केदारनाथले आफू र पत्‍नी गीताका नामको व्यक्तिगत खातामा सहकारी संस्थाबाट रकम ट्रान्सफर गरेको देखिएको छ। उनले घरजग्गा र सेयरका साथै विभिन्न कम्पनीमा लगानी गरेका छन्। यसबाहेक ठूलो लगानी सवारीसाधनमा छ।

केदारनाथ सम्बद्ध विभिन्न कम्पनीका नाममा रहेको जायजेथा सबै गर्दा कुल २२ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ जति हुन्छ।

पत्‍नी गीताका नाममा ५२ करोड ३३ लाख रुपैयाँको चल अचल सम्पत्ति भेटिएको छ।

अडिटर प्रभावित

गैरकानुनी स्रोतबाट आर्जन गरेको सम्पत्ति लुकाउन विभिन्न लेखा परीक्षकलाई पनि प्रभावमा पारेको देखिएको छ।

लेखा परीक्षण गर्ने कार्यमा संलग्न देखिएका चार्टर्ड एकाउन्टेन्टका साथै रजिष्टर अडिटरहरुले पनि अस्वाभाविक कारोबारलाई सहज रुपमा लिएर हिसाब राफसाफ गरेको पाइएको छ।

लेखा परीक्षक शीतलकुमार चन्द, रुपक मैनाली, सुरेन्द्र देवकोटा, हरिप्रसाद उप्रेती, प्रकाश गौतम र देवकिरण बुढाले पेसागत आचरण र लेखा परीक्षणका सिद्धान्तविपरीत पर्याप्त खुलासा र जानकारीविना हिसाब राफसाफ गरेको पाइएको हो।

बैंकरले सजिलै दिए ऋण

केदारनाथले कृत्रिम कारोबार गरिरहेका थिए। उनको क्रेडिट हिस्ट्री लामो थिएन। अर्बौं रकम दिनुअघि बैंकहरुले उनीबारे राम्रो अध्ययन गरेनन्। बैंकहरुले फुलाइएको वासलात हेरेर ऋण दिए। नेपाल एसबिआईसहित ६ बैंकले शर्माका कम्पनीमाथि ऋण लगानी गरेका हुन्।

केदारनाथले १३ वटा कम्पनीका लागि विभिन्न ६ वटा वाणिज्य बैंकहरुबाट २ अर्ब ९० करोड ७१ लाख ३६ हजार रुपैयाँ अल्पकालीन ऋण चलाएका छन्। ६ बैंकबाट १२ कम्पनीका लागि १ अर्ब ९२ करोड २७ लाख २२ हजार रुपैयाँ दीर्घकालीन ऋण लिएको पाइएको छ।

ऋण लगानी गर्दा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतदेखि ऋण, जोखिम र अनुपालनका अधिकारीहरुले धेरै खोजबिन गरेको देखिंदैन।

अस्वाभाविक कारोबारका आधारमा बनेको ब्यालेन्ससिट देखाएर केदारनाथले बैंकहरुबाट चलाएको ऋण लामो समयदेखि भुक्तानी भएको छैन। जसका कारण बैंकहरुले आम्दानीबाट शतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपरेको छ।