किराना पसले केदारनाथ कसरी अर्बौं रुपैयाँ चलाउने अवस्थामा पुगेर गर्ल्याम्म ढले ?

सुदर्शन सापकोटा
२०८१ जेठ २२ गते १५:०६ | Jun 4, 2024
किराना पसले केदारनाथ कसरी अर्बौं रुपैयाँ चलाउने अवस्थामा पुगेर गर्ल्याम्म ढले ?

काठमाडौं। २०७९ साउनतिर काठमाडौंको कुलेश्वरस्थित गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक फरार  भए। सहकारीले बचतकर्तालाई पैसा दिन छाडेको ६ महिना भइसकेको थियो।

Tata
GBIME
NLIC

भोलि आउनु, पर्सी आउनु भन्दै बचतकर्तालाई झुलाउने काम भइरह्‍यो। लामै समय पैसा नआएपछि १ हजार १४५ बचतकर्ताले उजुरी दिए। त्यसपछि सञ्चालक समितिका अध्यक्ष रामबहादुर गौतम फरार भए।

उनी फरार भएपछि सहकारी संस्थाको कारोबार एक साताका लागि बन्द गर्ने सूचना जारी भयो। त्यहीबीचमा एभरेष्ट बैंकले सहकारीको कार्यालय सिलबन्दी गर्‍यो।

करिब ५ हजार बचतकर्ताको ७ अर्ब रुपैयाँ दुरुपयोग गरी सञ्चालक गौतम फरार भएको समाचारपछि देशभर हल्लाखल्ला भयो।

कुलेश्वरको सहकारी डुबेको असर मोरङ र बाँकेमा रहेका दुई सहकारी संस्थामा एकै पटक पर्‍यो। मोरङको तुलसी सहकारी र बाँकेको शिवशिखर सहकारीका बचतकर्ता एकैपटक लाइन लागे।

त्यसपछि गौतमजस्तै शिवशिखरका सञ्चालक केदारनाथ शर्मा पनि फरार भए।

शर्मालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३३ अर्ब रुपैयाँ विगो दाबीहित मुद्दा चलाउन जेठ दोस्रो साता सरकारी वकिल कार्यालयलाई सिफारिस गरिसकेको छ।

+++

केदारनाथको कारोबार

केदारनाथ शर्मा किशोर अवस्थादेखि नै खाली बस्ने स्वभावका थिएनन्। सानोतिनो जस्तो हुन्छ व्यापार गर्थे। कोहलपुरमा उनको होलसेल व्यापार र ढकाल किराना स्टोर थियो। उनले धान खरिद बिक्रीको काम पनि थाले। यहीबीचमा गीता शर्मासँग बिबाह भयो।

त्यसपछि उनीहरु २०६२ सालमा बसाइ सरे- काठमाडौं। काठमाडौंको शान्तिनगरमा खाद्यान्नको होलसेल पसल थाले। व्यापार चल्न थाल्यो। व्यापारकै सिलसिलामा उनीहरुले गोरखा टि एण्ड कफी इण्ड्रस्ट्री खोले।

गोरखा बेभरेजको पनि कारोबार सुरु गरे। व्यापार व्यावसायबाट राम्रैसँग सम्पत्ति आर्जन भइरहेको थियो। यसबाहेक पुर्ख्यौली सम्पत्ति पनि थियो।

व्यापार फैलियो, पैसा चलाउने बानी बस्यो। साथै लोभ पनि बढ्दै गयो। त्यसपछि शर्मा सहकारीमा आबद्ध भए। यो १५ वर्षअघिको कुरा हो।

व्यापार व्यवसायमा रमाइरहेका उनले सहकारीबाट अर्बपति भएकाहरु आँखै अगाडि देखेका थिए। त्यसले शर्मालाई पैसा कमाउनु छ भने सामान्य व्यापार गरेर हुँदैन, ठूलै भाग हान्नु पर्छ भनेर प्रेरित गर्‍यो।

शिवशिखर सहकारीको लगानीमा विभिन्न १९ स्थानमा र तुलसी सहकारी संस्थाको लगानीमा ३ वटा मार्ट संचालनमा आयो। मार्टसँगै शर्माले जग्गाजमिनमा पनि राम्रै लगानी गरे।

सहकारीमा लागेलगत्तै उनले २१/२२ करोडबाट कारोबार थाले। त्यो पैसा उनलाई सानो भयो। अर्बौं बचत छ, तर प्रयोग गर्न करोडमा मात्र पाइएको छ। उनमा पैसाको नशा चढेको थियो। सहकारीको अर्बौं बचत आफ्नो तजबिजमा चलाउने उपाय खोजे। सहकारीलाई बचत तथा ऋण सहकारीबाट बहुउद्देश्यीय सहकारी बनाए।

सुरुमा शिखरदीप सहकारी संस्थाले आफैं व्यावसाय सुरु गर्‍यो। भारतबाट चामल र चिनी आयात गर्न थाल्यो। उपकार ब्राण्डका नाममा देशभर दाल चामल खरीद बिक्री हुन थाल्यो। यो व्यवसाय लगातार चलिरहेको थियो।

महत्वाकांक्षा पूरा गर्न कृत्रिम कारोबार

तर, शर्मालाई यो सानो भयो। उनी सोचाइ ठूलो हुन थाल्यो। २०७४ मा उनले आफ्नो नाममा शिखरदीप एग्रो प्रालि खोले। अब पैसा बर्सिन थाल्यो। शिखरदीपको गोदाममा भएको स्टक र बजारमा भएको उधारो १ अर्ब २५ करोड जति मूल्यांकन भयो।

शिखरदीप सहकारी संस्थाबाट शिखरदिप एग्रोका नाममा १ अर्ब २५ करोडको ऋण लिइ उनले शिखरदीप सहकारीका शाखा कार्यालय भएका विभिन्न ठाउँमा शिखरदीप एग्रोको समेत शाखा विस्तार गर्न थाले।

भक्तपुरको सल्लाघारीमा शिवशिखर कृषि सहकारी संस्था थियो, यसका शाखा ३५ जिल्लामा थिए। यसले मुख्यतयाः चीन र भारतबाट पावर ट्रिलर जस्ता कृषिजन्य उपकरण ल्याएर बेच्थ्यो।

पछि एक्जिम कोड नपाएपछि पुनः शिवशिखर एग्रो प्रालि दर्ता गरियो। शिवशिखर कृषि सहकारी संस्थाले शिवशिखर एग्रो प्रालि दर्ता गर्‍यो। यसको स्टक र बजार क्रेडिट १ अर्ब ५ करोड थियो। यसैलाई बिलिङ गरी शिवशिखर कृषि सहकारी संस्थाबाट त्यही १ अर्ब ५ करोडको ऋण बनाइयो।

बजारमा रहेको उधारो समेत सहकारीमा आयो। शर्माले आफ्नै कम्पनीसँग कृत्रिम कारोबार गर्न थाले। यसैको मूल्यांकनको आधारमा सहकारीबाट ऋण चलाउन थाले। त्यतिले नपुगेपछि उनी बैंकहरुसम्म ऋण लिन पुगे।

उनको अधिकांश कारोबार कृत्रिम देखिन्छ। उनले आफ्नै विभिन्न १३ वटा कम्पनीबीच कृत्रिम कारोबार गरेका छन्। १३ कम्पनीबीच ६ अर्ब १८ करोड ८३ लाख ३६ हजार रुपैयाँको कारोबार देखाइएको छ।

सहकारी संस्था एवं आफ्ना कम्पनीमा कार्यरत कर्मचारीसमेतका नाममा उनले जग्गा जमिन खरिद गरी लुकाएको पाइएको छ। कर्मचारीहरु मन्दीप खवास, सबिना न्यौपाने र बालमुकुन्द कपालीका नाममा सम्पति राखेका छन्। खवास, न्यौपाने लगायतका नाममा लुकाएको जग्गाको मूल्य ३ करोड २४ लाख रुपैयाँ छ।

साथै शर्माका कम्पनीहरुले उधारो कारोबारको रकम उठाउने प्रयोजनका लागि समेत सहकारीबाट कर्जा प्रवाह भएको कृत्रिम कागजात खडा गरेर समेत ऋण चलाएको अनुसन्धानबाट देखिएको छ। यसरी चलाएको ऋण धेरै हदसम्म निर्ब्याजीसमेत छन्।

डुब्यो लगानी

समय एकनासको कहाँ हुन्छ र? घरजग्गाको कारोबार खुम्चिन थाल्यो। सेयर बजार घट्यो। बैंकमा तरलता अभाव हुन थाल्यो। बैंकको ब्याज बढ्न थाल्यो। उधारो उठ्न छाड्यो।

सहकारीको पैसा लगाएर एकैपटक धेरै सामान स्टक गरिएकामा मार्टको कारोबार फस्टाउन सकेन। एकपछि अर्को गर्दै शर्माको व्यापार चल्न छाड्यो।

अपेक्षित कारोबार नभएपछि सहकारीको पैसा फिर्ता हुन सकेन। सहकारी धरासयी भयो। बचतकर्ताहरुको रकम फिर्ता गर्न सक्ने अवस्था रहेन।

पैसा बढाउने जुन चक्र उनले बनाएका थिए- एक ठाउँमा गएर रोकियो। त्यसपछि पूरै साम्राज्य धरमरायो। त्यहीबेला गौतम सहकारीका सञ्चालक फरार भइदिए। शर्माको ‘ब्याड लक’- उनकोमा पनि लाइन लाग्यो। अन्तत: उनी पनि फरार हुनु पर्‍यो।

+++

सम्पत्ति शुद्धीकरणको फन्दामा

शर्माले पत्नी, आफन्त, कर्मचारीका नाममा अर्बौंको कारोबार मात्र गरेनन्, उनीहरुका नाममा सम्पति पनि जोडे। शर्मासँगै धेरैले कमाए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शर्मा, उनकी पत्‍नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग गरेका व्यक्ति र विभिन्न कम्पनीलाई प्रतिवादी बनाइ ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगोसहितको मुद्दा दायर गर्न सिफारिस गरिसकेको छ। त्यसमध्ये २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार ४१५ रुपैयाँ बिगो केदारनाथविरुद्धको हो।

उनीविरुद्ध बिगोको दोब्बर जरिवाना र १५ वर्षसम्म कैद सजाय माग गरिएको छ।

शर्माले सहकारीको रकम अपचलनका साथै बैंकबाट ऋण लिएर समेत दुरुपयोग गरेको अनुसन्धानबाट देखिएको छ। सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्याइ योजनाबद्ध र बद्नियत तरिकाले ठूलो धनराशी अपचलन गर्न उनले सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ, प्रदीप भट्टराई लगायतलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

बैंकलाई पनि डुबाए

अपचलन गरेको रकमबाट आफूसम्बद्ध शिखर अर्गनाइजेसनसमेतका नाममा भक्तपुरमा जग्गा खरिद गरी त्यही जग्गा नेपाल एसबिआई बैंक समेतमा धितो राखेर कर्जा चलाएको भेटिएको छ। उनले एसबिआई बैंकबाट मात्र १ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन्।

नेपाल एसबिआईसहित ६ बैंकले शर्माका कम्पनीमाथि ऋण लगानी गरेका हुन्। उनले १३ वटा कम्पनीका लागि विभिन्न ६ वटा वाणिज्य बैंकहरुबाट २ अर्ब ९० करोड ७१ लाख ३६ हजार रुपैयाँ अल्पकालीन ऋण चलाएका छन्।

६ बैंकबाट १२ कम्पनीका लागि १ अर्ब ९२ करोड २७ लाख २२ हजार रुपैयाँ दीर्घकालीन ऋण लिएको पाइएको छ।

ऋण लगानी गर्दा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतदेखि ऋण, जोखिम र अनुपालनका अधिकारीहरुले धेरै खोजबिन गरेको देखिंदैन।

सहकारीको रकम व्यक्तिगत खातामा

शर्माले बचतकर्ताको हिसाबकिताब नै नराखी पैसा आफैंले चलाउने गरेका थिए। बचतकर्ताहरुसँग पैसा लिने तर नक्कली भरपाइ दिइ सहकारीमा दाखिला नै नगरेको पाइएको छ। सहकारी संस्थाको वित्तीय विवरणमा रकम नै समावेश नगरेको र आफ्नो कम्पनीमा लगेको थुप्रै घटना देखिएका छन्।

उनले आफू र पत्‍नी गीताका नामको व्यक्तिगत खातामा सहकारी संस्थाबाट रकम ट्रान्सफर गरेको देखिएको छ। उनले घरजग्गा र सेयरका साथै विभिन्न कम्पनीमा लगानी गरेका छन्। यसबाहेक ठूलो लगानी सवारीसाधनमा छ।

शर्मा सम्बद्ध विभिन्न कम्पनीका नाममा रहेको जायजेथा सबै गर्दा कुल २२ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ जति हुन्छ। पत्‍नी गीताका नाममा ५२ करोड ३३ लाख रुपैयाँको चल अचल सम्पत्ति भेटिएको छ।

+++

पत्‍नीले नै लगाइन् आरोप

शर्माले ‘उन्नति’ गर्दा जे जति साथी बनेका थिए, इष्टमित्र बनेका थिए। आज तीनले त साथ छाडे नै, पत्नी गीताले पनि शर्मामाथि नै आरोप लगाएकी छन्।

‘म निर्णायक तहमा रहेको छैन। म सदस्य मात्र हुँ। म नाम मात्रको उपाध्यक्ष थिएँ,’ उनले विभागलाई दिएको बयानमा भनेकी छन्, ‘सबै काम मेरो श्रीमान केदारनाथ शर्माले गर्नु हुन्थ्यो। मेरो र श्रीमान केदारनाथ शर्माको संयुक्त नामबाट शिखर अर्गनाईजेसनको खाता नेपाल एसबिआई बैंकमा थियो। रकम आवश्यक परेका बेलामा चेकबाट कारोबार गर्नु पर्दा मलाई कर्मचारीहरुले चेकमा दस्तखत गराउने गरेका थिए। रकम आवश्यक परेको बेलामा चेकमा दस्तखत गर्नेबाहेक अन्य कुनै काम मैले गरेको छैन।’