राजस्व अनुसन्धान विभागका ‘फेक डिजी’ जसले उद्योगी व्यवसायीलाई तर्साएर उठाइरहेका छन् रकम

सुदर्शन सापकोटा
२०८१ असार ११ गते ०९:४० | Jun 25, 2024
राजस्व अनुसन्धान विभागका ‘फेक डिजी’ जसले उद्योगी व्यवसायीलाई तर्साएर उठाइरहेका छन् रकम
व्यवसायीलाई फोन गर्ने उपेन्द्र शाही र राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा


काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशकले चलाउने एउटा सरकारी मोबाइल छ, त्यसको नम्बर हो – ९७०४५४१००४। महिना दिनअघि सार्वजनिक बिदाको दिनमा यो फोनबाट एक व्यवसायीलाई कल गयो।

Tata
GBIME
NLIC

फोनमा अनुसन्धान सिलसिलाका लागि ती व्यवसायीलाई एक घण्टाभित्र राजस्व अनुसन्धान विभागमा हाजिर हुन आदेश गयो। फोनबाट आदेश दिने व्यक्ति थिए, उपेन्द्र शाही।

यी शाही न राजस्व अनुसन्धान विभागका कर्मचारी हुन्, न त उनी त्यहाँ कुनै नियुक्तिमा छन्। राजस्व अनुसन्धान विभाग मात्रै होइन, नेपाल सरकारको स्थायी, अस्थायी, करार कर्मचारीका रूपमा उनको टाढा टाढासम्म पनि कुनै नाता सम्बन्ध छैन।

सार्वजनिक बिदाको दिन शाहीको फोन आएपछि ती व्यवसायीले आफू काठमाडौं बाहिर भएको भन्दै विभागमा उपस्थित हुन नसक्ने जानकारी दिए। शाहीले त्यो सार्वजनिक बिदाको दिनमा कम्तीमा यस्ता आधा दर्जन उद्यमी व्यवसायीलाई फोन गरेका थिए।

यसअघि र त्यसपछि पनि शाहीले महानिर्देशकले प्रयोग गर्ने मोबाइलबाट पटक-पटक व्यापारी, उद्यमीहरुलाई फोन गरेका थिए। महानिर्देशकले चलाउने फोनबाट सार्वजनिक बिदाको दिनमा कुराकानी गरेका शाहीको केही कलहरु व्यवसायीले रेकर्ड गरेका थिए।

अनुसन्धानको सिलसिलामा भन्दा पनि उद्योगीसँग पैसा असुल्ने उद्देश्यका साथ शाहीले गरेका ती कलहरुमध्ये केही फोन रेकर्डहरु घुम्दै फिर्दै सरकारको विभिन्न निकायमा पुग्यो। रेकर्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईकहाँ पनि पुग्यो।

उनले त्यसपछि विभागका महानिर्देशक चक्रबहादुर बुढालाई बोलाएर सोधे। उनले त्यहाँ गोलमोटल जवाफ दिए। राईले शाहीका बारेमा बुढालाई सचेत गराएर पठाए।

विभागले दु:ख दिइरहँदा उता शाहीको टोलीले भने जे भयो भयो, पैसा दिए अनुसन्धान रोकिदिन्छौं भनेर ती व्यापारीसँग मोलमोलाइ पनि गरिरहेको छ।

काठमाडौंमा चलेकोमध्ये एउटा ठूलो डिपार्टमेन्टल स्टोर छ। राजस्व अनुसन्धान विभागबाट ती स्टोरका मालिकलाई केही दिनअघि मात्रै फोन गयो। विभागमा उनीमाथि उजुरी परेको भन्दै त्यसका लागि छलफलमा आउन उनलाई आदेश थियो।

उनी विभागमा पुगेपछि महानिर्देशकको कार्यकक्षमा लगियो। ती व्यापारी कार्यकक्षमा पुग्दा विभागका महानिर्देशक बुढा र उनै शाही थिए। शाहीले नै डिपार्टमेन्टल स्टोरमाथि अनुसन्धान भइरहेको र ४८/५० करोड कर निर्धारण हुन सक्ने भनेर ती व्यापारीलाई तर्साए।

शाहीले एक करोड रुपैयाँ दिए डिपार्टमेन्टल स्टोरमाथिको छानबिन रोकिदिने आश्वासन समेत दिए। व्यवसायीले आफूले बदमासी नगरेको र छानबिन गरे पनि केही फरक पर्दैन भन्दै एक करोड रुपैयाँ दिन अस्वीकार गरेर विभागबाट हिँडे।

त्यही दिन महानिर्देशकको सचिवालयको तर्फबाट महानिर्देशक बुढाको हस्ताक्षर भएको एउटा पत्र लिएर राजस्व अनुसन्धान विभागको टीम डिपार्टमेन्टल स्टोरमा पुग्यो। अनुसन्धानका नाममा अहिले ती व्यापारी माथि ‘कहिले यो डकुमेन्ट चाहियो कहिले त्यो डकुमेन्ट चाहियो’ भन्दै मागेर हैरान बनाइरहेका छन्।

यता विभागले दु:ख दिइरहँदा उता शाहीको टोलीले भने जे भयो भयो, पैसा दिए अनुसन्धान रोकिदिन्छौं भनेर ती व्यापारीसँग मोलमोलाई पनि गरिरहेको छ। ती डिपार्टमेन्टल स्टोर सञ्चालक अहिलेसम्म गलिसकेका छैनन्।

यस्तै अवस्था एउटा ठूलो स्टिल उद्योगीको पनि छ। केही दिन अघि उनीकहाँ महानिर्देशकको सचिवालयबाट एउटा पत्र गयो।

पत्रमा भनिएको छ- राजस्व चुहावट भएको भनी यस विभागमा प्राप्त सूचनाको आधारमा त्यस फर्म/कम्पनीको कारोबार स्थल/गोदाम लगायत कारोबारसँग सम्बन्धित स्थलको खानतलासी लिई मालसामान तथा कागजात कब्जामा लिनुपर्ने भएकोले यो पत्र लेखिएको छ।

महानिर्देशक चक्रबहादुर बुढाको हस्ताक्षर भएको सो पत्र लिएर टोली उद्योगीको कर्पोरेट कार्यालय पुगे पनि उनीहरुले कुनै पनि कागजात, मालसामान, कम्प्युटर केही पनि कब्जामा लिएनन्। उनीहरुले उद्योगीलाई ‘भोलि महानिर्देशकलाई भेट्नु’ भन्ने सन्देश दिएर पठाए।

उद्योगीको टोली केही दिन पछि महानिर्देशकको सचिवालयमा पुग्दा कार्यकक्षमा उनै उपेन्द्र शाहीसँग कुराकानी गर्न भनियो। उनले सिधै पैसा दिए ‘केस डिसमिस पार्ने र पत्र फिर्ता लिने’ भन्दै बार्गेनिङ सुरु गरे।

‘बजारमा अहिले सहकारीका लागि पैसा उठाउने ‘कलेक्टर’भन्दा बढी राजस्व अनुसन्धान विभागको टोली भेटिन्छ,’ विभाग स्रोतले भन्यो।  

त्यसपछि झोक्किएका ती उद्योगीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसरसँग छलफल गरिरहेका छन्। उनले आफूसँग जे भएको हो त्यो विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न जान महासंघसँग आग्रह गरेका छन्।

महासंघमा पछिल्ला दिनमा राजस्व अनुसन्धान विभागको ज्यादती बढ्दै गएको भन्दै यस विषयमा पदाधिकारी तहमा छलफल भइरहेको छ।

स्रोतका अनुसार ठूला औद्योगिक घराना मात्रै होइन साना व्यवसायीलाई पनि राजस्व अनुसन्धान विभागले अहिले त्राहीत्राही पारिरहेको छ। सचिवालयबाट ठूला र साना गरि दैनिक दुई दर्जन व्यापारी तथा उद्योगीकहाँ टोली पुगिरहेको छ।

ती टोलीले साना व्यापारीलाई महानिर्देशकको हस्ताक्षर भएको पत्र देखाएर २० हजारदेखि लाखौं रुपैयाँ जति सकिन्छ त्यति अँठ्याएर हिंड्ने गरेको छ।

‘बजारमा अहिले सहकारीका लागि पैसा उठाउने ‘कलेक्टर’भन्दा बढी राजस्व अनुसन्धान विभागको टोली भेटिन्छ,’ विभाग स्रोतले भन्यो।  

यो सबैको कोर्डिनेसन उनै शाहीले गरिरहेको समेत विभाग स्रोतले जानकारी दियो।

को हुन् शाही, बुढासँग कसरी जोडियो कनेक्सन ?

जन्मघर जाजरकोट भएका चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा गत वैशाख अन्तिम साता नियुक्त भए । त्यसअघि उनी पर्यटन विभागमा थिए।

कोटिभिटी प्रकरणपछि विभागका तत्कालिन महानिर्देशक नवराज ढुंगाना विवादस्पद भएपछि बुढालाई विभागको महानिर्देशक बनाउनु पर्‍यो भनेर शाही लागिपरेका थिए। कालीकोट घर भएका ३५ वर्ष हाराहारीका शाहीसँगै बुढालाई महानिर्देशक बनाउन लागूऔषध र मदिराको तस्करीमा पक्राउ परेका सन्तोष बख्रेल समेत लागि परेका थिए।

शाहीले आफ्ना साथीहरुसँग चक्रबहादुर बुढालाई विभागको महानिर्देशक बनाउनका लागि आफ्नो टोलीले तीन करोड रुपैयाँ ‘फाइनान्सिङ’ गरेको बताउँदै हिँडेका छन्। शाहीले राजस्व अनुसन्धान विभाग पुग्ने केही व्यवसायीलाई चक्र बुढा आफ्नो भिनाजु भएको दाबी गर्ने गरेका छन्।

शाहीलाई नजिकबाट चिन्ने एक व्यक्तिले बुढा र शाहीबीच नाता सम्बन्धभन्दा गैरकानुनी कारोबारको साझेदारीवाला सम्बन्ध भएको दाबी गरे।

बिजमाण्डूको प्रश्नमा शाहीले बुढा भिनाजु पर्ने बताए। उनले भने, ‘मेरो भिनाजु पर्नुहुन्छ।’

उनले राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई ‘डेजिग्नेटेट’ गरेको नम्बरबाट फोन गरेको पनि स्वीकार गरे।

‘त्यस्तो धेरै पटक होइन, एक पटक फोन गरेको हुँ। त्यो पनि राजस्व अनुसन्धान विभागको छानबिनको मामिलामा होइन, साधारण कुरामा हो,’ उनले भने।

उनले अनुसन्धान विभागको सचिवालयमा नबसेको दाबी समेत गरे।

‘साथीभाईहरुलाई यसो अप्ठ्यारो पर्‍यो, मर्का पर्‍यो भन्छन्। अब त्यो सार्वजनिक निकाय पनि हो, त्यहाँ गइराख्छु,’ उनले भने।

तर, शाहीलाई नजिकबाट चिन्ने एक व्यक्तिले बुढा र शाहीबीच नाता सम्बन्धभन्दा गैरकानुनी कारोबारको साझेदारीवाला सम्बन्ध भएको दाबी गरे।

उनले भने,’अहिले यति भनेर चिन्नुहोस्, शाही उदाउँदा ‘दलाल’ हुन्।’

काठमाडौंमा शाहीले सीटीइभीटीको तालिम सञ्चालन गर्ने लसएन्जेल्स कन्सल्टेन्सी  नामको एउटा संस्था चलाए। त्यहीं केही पैसा कमाएपछि उनी अलि-अलि घरजग्गाको कारोबारमा छिरेका थिए।

‘कहिले ठेक्कापट्टा भन्छन्, कहिले घरजग्गाको कारोबार गर्छु भन्छन्,’ उनलाई चिन्ने एक व्यक्तिले भने । अहिले सरकारी कर्मचारीलाई फाइनान्सिङ गर्ने अनि त्यस्ता ठाउँबाट गैरकानुनी लाभ लिने काममा उनी सहभागी भइरहेको उनले जानकारी दिए।

शाहीले आफूले इन्जिनियरिङ पढेको र इन्जिनियिरङ सम्बन्धी कम्पनी चलाइरहेको दाबी गरेका छन्। शाहीले केही समय अघि आफूले एउटा इन्जिनियरिङ फर्मको ५० प्रतिशत सेयर खरिद गरेको दाबी पनि गर्दै हिँडेका छन्।

‘शाहीको ठूलो व्यापारिक पृष्ठभूमि होइन, कालीकोटबाट आएर अहिले राम्रै ‘शोअफ’ गर्दै हिँडेको देखिन्छ, त्यसको स्रोत के हो?,’ उनले प्रश्न गरे।