फुटबल टोलीको भिसा नआउँदा मन्त्रीको चासो, स्वीकृति नलिएका १५ पदाधिकारी बेलायत जान नपाउने

बिजमाण्डू
२०८१ बैशाख १८ गते २२:१५ | Apr 30, 2024
फुटबल टोलीको भिसा नआउँदा मन्त्रीको चासो, स्वीकृति नलिएका १५ पदाधिकारी बेलायत जान नपाउने
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग राखेप सदस्यसचिव टंकलाल घिसिङ, एन्फा महासचिव किरण राई लगायत। तस्बिर: राखेप

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको भिसा नआएबारे युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले चासो दिएका छन्। इङ्ग्ल्याण्ड ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेल खेल्न मंगलबार नेपाली फुटबल टोली र अफिसियल बेलायत जाने तयारी भए पनि भिसा नआउँदा खेलाडी होटलमै रोकिएका थिए।

Tata
GBIME
Nepal Life

यस विषयमा मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका छन्।

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो। यसका लागि स्वीकृति दिएको सदस्यसचिव टंकलाल घिसिङले बताए। यसबाहेक पनि पाँच भीआईपीसहित एन्फाबाट पदाधिकारी बेलायत जाँदैछन्। यसका लागि भने एन्फाले स्वीकृति लिएको छैन।

एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए।

तर, एन्फाले उनीहरूको भिसाको लागि बेलायती दूतावासमा सिफारिस भने गरेको थियो।

राखेप सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद ऐेन अनुसार  खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको भन्दै पदाधिकारी बेलायत जान स्वीकृति लिनुपर्ने निर्णय गरिएको बताए। स्वीकृति नलिएसम्म पदाधिकारी बेलायत जान पाउने छैनन्। युवा तथा खेलकुद मन्त्रालयले परिषद्को स्वीकृतिबिना एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको जनाएको छ।