एमालेको ‘कमब्याक’ र कांग्रेस- रास्वपाको हारले सत्ता समीकरणमा असर पर्छ?

बिजमाण्डू
२०८१ बैशाख १८ गते २१:०८ | Apr 30, 2024
एमालेको ‘कमब्याक’ र कांग्रेस- रास्वपाको हारले सत्ता समीकरणमा असर पर्छ?

काठमाडौं। मिसन ८४ अभियान सञ्चालन गरिरहेको नेकपा (एमाले) ले उपनिर्वाचनमा ‘कमब्याक’ गरेको छ भने सबै शक्ति परिचालन गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हार ब्योहोरेको छ।

Tata
GBIME
Nepal Life

२०७९ फागुन २१ गते सत्तामा फर्किएको एमालेले यस पटकको चुनावी नतिजा पनि आफ्नो पक्षमा पारेको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ र प्रदेश सभा बझाङ १ (क) मा एमालेकै दमन भण्डारी निर्वाचित भए। लगातार जित्दै आएका सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनकै छोरा सुहाङले विरासत जोगाएका छन्। बझाङमा भने कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि भएको निर्वाचनमा एमालेले एक सिट आफ्नो पक्षमा पारेको हो। बझाङमा सिंहका छोरा अभिषेकले कांग्रेसको सिट जोगाउन सकेनन्।

यसअघि २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा एमाले नराम्ररी पराजित भएको थियो। बारा-२, चितवन-२ र तनहुँ-१ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका उम्मेदवार तेस्रो भएका थिए।

सत्ता गठबन्धनमै रहेका रास्वपा र नेकपा (एकीकृत समाजवादी)ले सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेर जमानत जोगाउन सकेनन्। एकीकृत समाजवादी बझाङको उपनिर्वाचनमा पनि नराम्ररी पराजित बन्न पुग्यो। यो चुनावी नतिजाअघि सरकारको समीकरण परिवर्तन हुने हल्ला थियो। तर, नतिजासँगै समीकरणले कस्तो असर गर्छ?

एकीकृत समाजवादी सत्ता गठबन्धनप्रति सुरुवातदेखि नै रुष्ट छ। फागुन २१ गते बनेको एमाले-माओवादी गठबन्धनमा एकीकृत समाजवादी सहभागी थिएन। त्यति बेला एकीकृत समाजवादीलाई समेटेर नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने कसरत गरेको थियो।

तर, एकीकृत समाजवादीले एमाले- माओवादी गठबन्धनमा सहभागी हुने निर्णय गर्‍यो। उक्त निर्णयसँगै तत्कालका लागि वैकल्पिक गठबन्धनको सम्भावना टरेको थियो। तर, सत्ता गठबन्धन भित्रको किचलो र विवादित छविका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरेर कांग्रेसले सत्ता गठबन्धनलाई लगातार दबाबमा पारेको छ।

लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आरोपबारे छानबिन गर्न संसदीय  छानबिन समिति बनाउनुपर्ने माग गरेर कांग्रेसले लामो समयसम्म संसद् अवरोध गरेको थियो। अहिले अधिवेशन बोलाइएको छैन। सत्ता गठबन्धनका लागि लामिछानेमाथि छानबिन समिति बनाउने कांग्रेसको माग निल्नु न ओकल्नु बनिरहेको छ।

समिति गठन गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी लामिछानेले दिइसकेका छन् भने कांग्रेस आफ्नो मागबाट पछि नहट्ने सन्देश प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नबुझेका होइनन्। समीकरणको अप्ठेरोका कारण सत्ता गठबन्धन लामिछानेमाथि समिति गठनको निचोडमा पुगिसकेको छैन।

अधिवेशन बोलाउनासाथ समिति गठनको माग राखेर संसद् अवरोध गर्ने कांग्रेसको तयारी छ। उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा छन्।

समीकरण अप्ठेरोमा पर्न सक्ने अर्को कारण हो गठबन्धनभित्रको अविश्वास। अझै ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति पूर्ण विश्वस्त हुन सकेका छैनन्।

सत्ता गठबन्धनभित्रको अविश्वास प्रस्टै झल्किने गरी प्रचण्डले एमाले पार्टी कार्यालय च्यासलमा वैशाख १० गते आयोजित कार्यक्रममा ओलीलाई आफूले विश्वास दिलाउन चाहेको बताएका थिए। ‘म कमरेड केपी शर्मा ओलीलाई विश्वास गर्न चाहन्छ। विगतमा हामी विश्वास र अविश्वासको चक्रबाट गुज्रेका छौं,’ प्रचण्डले भनेका थिए।

कांग्रेस र एमाले मिल्नुपर्ने भन्दै एमाले र कांग्रेसभित्र भइरहेका बहसले पनि प्रचण्ड सशंकित छन्। संसदमा सम्बोधनका क्रममा पनि कांग्रेस नेताहरुले ‘कांग्रेस एमाले मिले अहिलेको सरकारको हालत के होला’ भन्ने टिप्पणी गरेपछि प्रचण्डले त्यति बेला पनि मिल्न चुनौती दिएका थिए।

गठबन्धनभित्र सबैभन्दा बढी टकराब ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छ। सार्वजनिक रूपमै ओलीले नेपालले कडा आलोचना गरेका थिए। नेपालले पनि गठबन्धनबाट बाहिरिने भन्दै समीकरणमा बार्गेनिङ गर्ने गरेका छन्। एकीकृत समाजवादीले नीति तथा कार्यक्रमसम्म अहिलेको गठबन्धनलाई पर्ख र हेरको नीति अपनाएको छ।

ओलीसँगको तिक्तताका बाबजुद पनि गठबन्धनमा बसिरहेको एकीकृत समाजवादीले लामिछानेका कारण गठबन्धन नटिक्ने स्थिति देख्नासाथ नयाँ बन्ने समीकरणमा जाने कसरत गर्ने देखिन्छ। किनभने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गठबन्धनलाई नीति तथा कार्यक्रमसम्मका लागि अल्टिमेटम दिएका थिए।

उपनिर्वाचनमा नराम्ररी पराजित भएको रास्वपा पनि चुनावी परिणामसँगै गठबन्धनप्रति असन्तुष्ट छ। केन्द्रीय समितिमा गठबन्धनको विषयमा समेत छलफल गर्ने रास्वपाको तयारी छ। चुनावी हारको कारणबारे छलफल गर्न चाँडै केन्द्रीय समिति बोलाउने तयारी भएको रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बताए।

‘अहिले समीकरणबाट टिप्पणी गर्नु हतार होला। हारका बारेमा केन्द्रीय समितिमा छलफल हुन्छ,’ उनले भने।

रास्वपाले समीकरणमै रहेको एमालेलाई पैसा बाँडेर चुनाव जितेको आरोप लगाइरहेको छ। चुनावमा गठबन्धन गर्न रास्वपाले अस्वीकार गरेको थियो। एमालेले उम्मेदवार तय गरेपछि मात्रै रास्वपाले आफ्नो पार्टीको उम्मेदवार तय गरेको थियो।

निर्वाचनको नतिजासँगै समीकरण पनि परिवर्तन हुनसक्ने चर्चा यसअघि नभएका होइनन्। गोप्य रूपमा नयाँ समीकरणबारे कसरतमा कांग्रेसका नेताहरू लाग्दा एमालेका नेता पनि नयाँ समीकरणबारे खुलेर बोल्न चाहेका छैनन्।

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली समीकरण बन्ने र भत्कन धेरै समय नलाग्ने भए पनि चुनावकै नतिजाका कारण अहिलेको गठबन्धन भत्कने सम्भावना नभएको बताउँछन्।

‘कांग्रेस माओवादीका कार्यकर्तालाई पनि सच्चा पार्टी त एमाले भन्ने लागिरहेको छ। एमालेप्रतिको आकर्षण बढ्दो छ भन्ने सन्देश चुनावले दिएको छ। यो नतिजाले अरू समीकरणमै केही फेरबदल ल्याउँछ जस्तो लाग्दैन,’ उनले भने।