घरजग्गा बजारमा संकटबीच नेपाल रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशीसहित २ सय सहभागी हुने

बिजमाण्डू
२०८१ बैशाख १८ गते १७:४३ | Apr 30, 2024
घरजग्गा बजारमा संकटबीच नेपाल रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशीसहित २ सय सहभागी हुने

काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघले नेपाल रियल इस्टेट कन्फ्रेन्स आयोजना गर्ने भएको छ। नेपाल इन्स्टिच्युट अफ अर्बन एण्ड रिजनल स्टडिज (निअर्स)सँगको सहकार्यमा महासंघले काठमाडौंमा वैशाख २३ र २४ गते कन्फ्रेन्स आयोजना गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

घरजग्गासँग सम्बन्धित करिब २ सय सहभागी रहने उक्त कन्फ्रेन्समा विदेशी वक्तसमेत सहभागी हुने महासंघले जनाएको छ। दुई दिने कन्फ्रेन्समा नेपालको घरजग्गा क्षेत्र र यसले आर्थिक वृद्धिमा पुर्‍याउन सक्ने रणनीतिसहित विभिन्न विषयहरुमा मन्थल हुनेछ। नेपालको घरजग्गा बजारमा विदेशी लगानीका लागि अपनाउनुपर्ने रणनीति, सफलरुपमा घरजग्गा एजेन्सी र एजेन्ट सञ्चालनसम्बन्धी सत्र कन्फ्रेन्समा छलफल हुने महासंघले जनाएको छ।

कन्फ्रेन्समा सिंगापुरले सहरी विकासमा गरेको प्रगति र त्यसको मास्टरप्लानको विषयमा विदेशी वक्ताले सेसन सञ्चालन गर्ने कार्य तालिका छ। प्रोपर्टी भ्यालुएसन र घरजग्गा क्षेत्रमा लगानी विस्तारको सम्भावनाका विषयमासमेत छलफल हुने महासंघले जनाएको छ।

महासंघले आयोजना गर्ने सम्मेलनले घरजग्गा क्षेत्रमा अहिले देखिएको संकटलाई समाधान उन्मुख दिशामा डोहोर्‍याउन र कन्फिडेन्स वृद्धि गर्न सहयोग पुग्ने महासंघको अपेक्षा छ।