कतारबाट काठमाडौं ओर्लिएपछि सुन अर्कैको हातमा, त्यसपछि अपहरणमा परेका सतेन्द्र यसरी छुटे

बिजमाण्डू
२०८१ बैशाख १८ गते १५:२३ | Apr 30, 2024
कतारबाट काठमाडौं ओर्लिएपछि सुन अर्कैको हातमा, त्यसपछि अपहरणमा परेका सतेन्द्र यसरी छुटे

काठमाडौं l सोमबार साँझ करिब ६:३० बजे कतारबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन्छन् सतेन्द्र यादव। २५ ग्राम सुन आफ्नो साथमा ल्याएका उनले त्यो एक युवकलाई दिन्छन्। त्यसपछि सुन माग्दै अर्का व्यक्तिहरु उनको माझ पुग्छन्।

Tata
GBIME
Nepal Life

तर, सुन आफूसँग नभएको र अर्कैलाई दिएको बताएपछि उनीहरुले सतेन्द्रको अपहरण गर्छन्।

वैशाख १७ गते काठमाडौं आएका सतेन्द्रलाई कतारका मनुसन अली गरेका व्यक्तिले उतैबाट सुन दिएर पठाएका थिए। अलीले सतेन्द्रलाई काठमाडौं ओर्लिएपछि सुन आफ्नो भतिजलाई दिन भनेको प्रहरी अनुसन्धानमा खुलेको छ।

तर, सतेन्द्रले अलीका भतिजलाई नभइ सुन अर्कै व्यक्तिलाई दिएपछि तस्करीबारे खुलेको हो। सतेन्द्रलाई दुई जनाले अपहरण गरेर सिनामंगल पुर्‍याएको प्रहरीले जनाएको छ।

‘काठमाडौंमा भतिजलाई सुन दिनु भनेका थिए। तर अर्कै व्यक्तिले सुन लगेपछि उनी उपहरणमा परेको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भने।

भट्टराईका अनुसार सिनामंगलमा लगेर बन्धक बनाएपछि अजिम अली र एम डी सनी अलाहीले राजविराजमा सतेन्द्रको परिवारलाई फोन गरेर ४ लाख ८० हजारको माग गरेको थियो। परिवारले भने सो घटनाबारे उजुरी दिएपछि प्रहरी सतेन्द्रको खोजीमा लागेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले अपहरणमा संलग्न अजिम अली र एम डी सनी अलाहीलाई पक्राउ गरेको छ।

प्रहरीले यो सुन प्रकरणबारे थप अनुसन्धान गरिरहेको छ।