सेयर बजारमा एकाएक उत्साह, नेप्से २५.९३ अंकले बढ्यो, ४ अर्ब ८० करोडको कारोबार

बिजमाण्डू
२०८१ बैशाख १८ गते १५:१७ | Apr 30, 2024
सेयर बजारमा एकाएक उत्साह, नेप्से २५.९३ अंकले बढ्यो, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं। लगातार घट्दो क्रममा रहेको सेयर बजारमा मंगलबार एकाएक उत्साह देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने पौने ५ अर्बको कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

नेप्से २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ। फाइनान्सबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ।

१२ वटा उपसमूह बढ्दा फाइनान्स उपसमूहको सूचक भने १.१८ प्रतिशतले ओरालो लागेको छ।

२१५ कम्पनीका लगानीकर्ताले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

यस्तै २६ कम्पनीका लगानीकर्ताले गुमाउँदा पोखरा फाइनान्सको सेयर भाउ सबैभन्दा धेरै ७.१८ प्रतिशतले सस्तिएको छ। खराब वित्तीय विवरणका बाबजुद पोखरासहितका फाइनान्स कम्पनीको सेयर मूल्य केही दिनयता निरन्तर बढिरहेको थियो।

बजारमा ४ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। शाइन रेसुंगा विकास बैंकको सबैभन्दा धेरै १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार धेरै हुने मुख्य ५ कम्पनीमध्ये तीनवटा भने फाइनान्स हुन्।