कांग्रेसको ओरालो यात्रा : तनहुँ पछि गुमायो बझाङ, इलाममा किन घट्यो मत?

नेत्र तामाङ
२०८१ बैशाख १८ गते १५:०१ | Apr 30, 2024
कांग्रेसको ओरालो यात्रा : तनहुँ पछि गुमायो बझाङ, इलाममा किन घट्यो मत?

काठमाडौं। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो पकड गुमाउँदै गएको छ। माओवादी केन्द्रसँग चुनावी तालमेलपछि केन्द्र, प्रदेश र स्थानीय तहमा पहिलो बनेको कांग्रेसले उपनिर्वाचनमा भने आफ्नो पकड गुमाएको हो।

Tata
GBIME
Nepal Life

गुमायो प्रदेश सभा सिट

उपनिर्वाचनमा कांग्रेसले बझाङमा प्रदेश सभा सिट गुमाएको छ। बझाङ क मा २०७९ मंसिरको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। सडक दुर्घटनामा परी निधन भएका पृथ्वीबहादुरका पुत्र अभिषेकलाई कांग्रेसले उम्मेदवार बनायो।

अभिषेकलाई यहाँ जितका लागि २६७ मत पुगेन। एमालेका दमनबहादुर भण्डारी ११ हजार ६१३ मत ल्याएर निर्वाचित हुँदा अभिषेकले ११ हजार ३४६ मतसहित दोस्रो स्थानमा चित्त बुझाए।

एमाले सत्ता गठबन्धनमा रहे पनि यहाँ चुनावी तालमेल भएको थिएन। माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत आ आफ्ना उम्मेदवार उठाएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम सभामा बझाङको उपनिर्वाचनपछि कांग्रेस १८ सिटमा खुम्चिन पुगेको छ।

केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको अवस्थामा पनि चुनाव जित्न नसक्नु पार्टीका लागि लज्जास्पद भएको बताउँछन्।

‘सभापतिको प्रदेशमा सारा कम्युनिस्ट फुटेर लड्दा पनि हामीले प्रदेश सभाको सिट जोगाउन सकेनौं। यो जतिको लज्जास्पद के होला?,’ डा पोखरेलले प्रश्न गरे।

उनी पराजयमा उम्मेदवार चयनमै कमजोरी देख्छन्। ‘सबै गैरजिम्मेवार भए। सही मान्छेलाई उम्मेदवार बनाएनन्। आफूलाई सहयोग गरेको आधारमा टिकट दिँदा कांग्रेस ओरालो लागिरहेको छ,’ पोखरेलले भने, ‘नयाँ मतदातालाई आकर्षित गर्न नसक्नु पनि कांग्रेसको कमजोरी हो। पार्टीको नेतृत्व र मतदाताको बुझाई डिस्कनेक्ट छ।’

इलाममा पनि घट्यो मत

यता इलाममा पनि कांग्रेसले आफ्नो मत जोगाउन सकेन। अघिल्लोपटक एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित खड्का यसपटक झन् धेरै मतअन्तरले हारे।

सुवासका छोरा सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ भोटमा चित्त बुझाए। जबकि २०७९ को निर्वाचनमा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। त्यतिखेर उनलाई मत दिएको माओवादी केन्द्र यसपालि कांग्रेससँग थिएन। माओवादीले सुहाङलाई भोट दियो।

त्यसो त कांग्रेसले २०७९ मंसिरको निर्वाचनमा समानुपातिकतर्फ पाएको मत बराबर पनि यसपालि ल्याउन सकेन। त्ययतिखेर कांग्रेसले समानुपाितकर्फ २२ हजार ३३३ मत पाएको थियो।

कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुख्य प्रतिस्पर्धी मानेका कारण हार्नुपरेको कांग्रेसका एक स्थानीय नेताले बताए। ‘नेतृत्व तहका मान्छेले मुख्य प्रतिस्पर्धी चिनेनन्। कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हो। तर हामी स्यालको पछाडि दौड्यौं। ५ हजार भोट ल्याउने पार्टीलाई मुख्य प्रतिस्पर्धी ठान्दा परिणाममा पछि पर्‍यौं,’ ती नेताले भने।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले आफ्नो मत जोगाउन सके कांग्रेस जित्ने रिपोर्ट सभापति शेरबहादुर देउवालाई दिएका थिए।

त्यसो त सुवासले २०७९ मंसिरमा पाएभन्दा सुहाङको मत पनि २ हजार कम हो। कांग्रेसले यहाँ विर्सन नहुने सत्य के हो भने २०७९ मंसिरमा पाएको माओवादीको भोट अहिले एमालेमा जाँदा मतअन्तर फराकिलो भएको हो।

कांग्रेसबाट टिकटका दाबेदार रहेका नगेन्द्र कुमाल उम्मेदवार चयन गलत भएकाले विपक्षीलाई फाइदा भएको बताए। ‘एमालेले समुदायको मत जोगायो। कमीकमजोरीमा एमाले अध्यक्षले आफैं खटेर मल्हम लगाउने काम गरे,’ कुमालले भने, ‘तर हामीले टिकट कसलाई दिने भन्ने निर्णय नै ढिला गर्‍यौं। अनि समुदायगत मत जोगाउन पनि सकेनौं।’

तनहुँ-१ बाट हारको सुरुवात

अघिल्लो वैशाख १० गते तनहुँमा कांग्रेसले आफ्नो विरासत जोगाउन सकेन। कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी पुगेका डा. स्वर्णिम वाग्लेले कांग्रेसको किल्ला भत्काइदिए। तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र हो। माओवादी केन्द्रको सहयोगमा पौडेल राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा

वाग्ले ३४ हजार ९१९ मत प्राप्त गरी निर्वाचित भए। कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मतमा चित्त बुझाउनु पर्‍यो। जबकि २०७९ मंसिरमा भएको निर्वाचनमा पौडेल २५ हजार ३१८ मतसहित विजयी भएका थिए। पौडेल ५ हजार ३७५ मत अन्तरले निर्वाचित क्षेत्र कांग्रेसले ६ महिनामै गुमाएको थियो।